शिशिरको माधुर्य संगीत
aशब्दलाई चिनेर, छामेर र सुँघेर मात्र गाउँछन्, युवा गायक शिशिर योगी । पछिल्लो समय नेपाली सुगम संगीतमा बेग्लै पहिचान बनाउँदै आएका गायक योगीको विशेषता भनेकै गहन र भावपूर्ण शब्दहरूमा स्वर दिनु हो । पचासको दशकदेखि नै गायन यात्रामा सामेल गायक योगीले धेरै गीतहरूमा सुमधुर स्वर दिइसकेका छन् । तर, उनले गाएका गीतहरू अहिलेसम्म कुनै पुस्तकको आकारमा ढालिएको थिएन । ‘माधुर्य संगीत ः भाग १’ तिनै युवा गायक योगीको १ सय १ वटा गीतहरूको सँगालो हो ।
दशकअघि एउटा समारोहमा शिशिरले गीत गाएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रभावित भए । र, राष्ट्रकविले आफ्नो निवासमा आमन्त्रणसमेत दिए । राष्ट्रकविको निवासमा पुगेका बेला शिशिरलाई राष्ट्रकविले भने, ‘मेरो किन्नरकिन्नरी नामक गीतिसंग्रहमा धेरै गीतहरू छन्, त्यसमध्ये अरूले नगाएका गीत छानेर गाए हुन्छ ।’ ‘किन्नर–किन्नरी’ पानाहरू पल्टाउँदै जाँदा एउटा गीत भेटे, ‘सारंगी त रेटे पनि बज्छ मीठै ध्वनि…’ । शब्द छान्न माहिर शिशिरले सोही गीतमा स्वर भरे । शब्दलाई न्याय गर्न सक्ने संगीतसाधक शक्ति बल्लभले संगीत दिएपछि सो गीतले चर्चाको शिखर नै छोयो ।
आफूले स्वर भरेका गहन, चर्चित र सदाबहारको लेबल लागेका गीतहरू ‘माधुर्य संगीत’ भित्र अटाइएका छन् । अग्रज पुस्ताका गीतकार रत्नशमशेर थापासँग पनि योगीको राम्रै उठबस छ, सम्बन्ध छ । एउटा गायक र गीतकारबीचको सम्बन्ध । त्यही भएर थापाद्वारा रचित ‘माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी’ र ‘कतिन्जेल राखुँ परेलीमा बाँधी’ जस्ता चलेका गीतहरू पनि सो सँगालोमा आबद्ध छन् । यस्तै, क्षेत्रप्रताप अधिकारीको ‘चौतारीको वरै ढलेछ’ र दुर्गालाल श्रेष्ठको ‘कसरी गरूँ म अभिनय’ पनि सो सँगालोभित्र रहेका छन् ।
कुनै समय नेपाली समाज द्वन्द्वको तिखो चपेटामा फसेको थियो । गाउँबस्तीहरूलाई आतंकको छायाले लपेटेको थियो । जताततै अशान्तिका कहालीलाग्दा कथाव्यथाहरू मात्रै सुनिन्थे । त्यही पृष्ठभूमिमा घमराज लुइँटेलले एउटा गीत लेखे, ‘तल रुन्छ गाउँबेसी माथि भीरपाखा÷कहिले पनि ओभाएनन् नेपालीका आँखा ।’ द्वन्द्वकालीन समाज र समयको प्रतिविम्ब उतार्ने यो गीत पनि सँगालोमा समेटिएका छन् भने समाजको निम्न, गरिब र उपेक्षित वर्गका बारेमा विमल कोइरालाले लेखेका ‘भोकभोकै काम गर्ने कान्छा दाइलाई’ जस्ता गीत पनि रहेका छन् ।
त्यसो त महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘सियोको टुप्पोले मुटु बिझ्यो दमै दाइ..’ र ‘जल चुलबुल हुँ’ जस्ता कालजयी गीत पनि सो सँगालोको गौरव बन्न पुगेको छ । अघिल्लो पुस्ताका देवकोटा, घिमिरे, थापा, अधिकारी, श्रेष्ठ, ईश्वरवल्लभदेखि पछिल्लो पुस्ताका दिनेश अधिकारी, पवन चाम्लिङ, रमेश पौडेल, रमेश क्षितिज, हरिहर तिमल्सिना, घमराज लुइँटेल, रमण घिमिरे, डा. भीमार्जुन आचार्य, राजु उप्रेतीसम्मका गीतहरू पनि सो सँगालोभित्र अटाएका छन् ।
मूलतः देशप्रेम, सीमान्त तहका जनताका दुःख, कष्ट, द्वन्द्वकालीन समयको चित्रण, सहिदप्रति श्रद्धा, देशको प्राकृतिक सौन्दर्यको बयानजस्ता विषयमा केन्द्रित गीतहरू समेटिएको ‘माधुर्य संगीत’ प्रकाशन गरेर शिशिरले आफ्नो गायन यात्राका उपलब्धिलाई चिनाउने प्रयत्न त गरेका छन् नै, यसबाहेक गायन क्षेत्रमा लाग्ने अरू सर्जकहरूलाई पनि यस्ता सँगालो निकाल्न उत्प्रेरित गर्ने विश्वास सँगाल्न सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply