विद्रोह, प्रेम र नैराश्यताको संसारमा
जीवनलाई अनेक पीडा र अवसादका पर्खालहरूले थिचे पनि कवि नरेश शाक्य कविता लेखन–कर्ममा निरन्तर जुटिरहेका छन् । बीसको दशकदेखि नै कविता–कर्ममा समर्पित शाक्यले जीवनका ७०औं वसन्त छिचोलिसक्दा पनि कविताको मैदानबाट आफूलाई पृथक् तुल्याएका छैनन् । विशिष्ट भावबोध, अभिव्यक्ति र विचारले समृद्ध उनका कविताहरूमा मानवीय संवेदना, छटपटी र विद्रोहका तस्बिरहरू उतारिन्छन् । कुनै बेला ‘पग्लेर पनि तिम्रो मुटुबाट’ जस्ता शक्तिशाली कविता जन्माउने शाक्यको पछिल्लो काव्य–यात्रालाई बुझ्ने कृति बनेको छ– ‘घामका पाइला’ ।
शाक्यको लेखन प्रारम्भ विद्रोहको डफली बजाउँदै सुरु भएको थियो । सिंगो पञ्चायती व्यवस्थालाई भोगेका उनले तत्कालीन समयमा निरंकुशतन्त्रविरुद्ध उर्लिरहेको लहरसँगै आफूलाई पनि बगाए र विद्रोही चेतलाई काव्य लेखनको आधार बनाए । उनको विद्रोही स्वर अचेलका कवितामा पनि अनुगुञ्ज हुनु आश्चर्यको विषय होइन । त्यही भएर, उनी ग्रिक मिथोलोजीका एक पात्र परसिएस्लाई आह्वानको भाकामा भन्छन्, ‘परसिएस्÷तिम्रो काँधमाथि छ ठूलो अभिभारा÷सिंगो राष्ट्रको मानव जातिको÷हलाहल पिएर बेसुध भएका÷आत्मचेतना हराएका मस्तिष्कहरूको÷शल्यक्रिया गर ।’ उनको अर्को कविता ‘सम्बोधन योद्धालाई’ पनि विद्रोहकै झलक पाइन्छ ।
कुनै बेला नेपाली भूमि त्रास र आतंकको छायाले छोपिएको थियो । जताततै सन्त्रासका काला बादलहरू मात्र मडारिन्थे । युद्धले हरेक गाउँबस्ती जर्जर तुल्याएको थियो । कविले तत्कालीन युद्धकालीन परिवेशलाई ‘एक मुठी हुस्सुको आतंक’ सँग तुलना गरेका छन् । युद्धकालीन परिवेशमा आकाशमा स्वतन्त्रतापूर्वक चराहरू उड्न नसकेकोप्रति उनको मन खिन्न र उदास देखिन्छन्, जुन कवितामै अभिव्यक्त हुन पुगेको छ । उनका ‘सन्त्रस्त चराहरू’ र ‘द्वन्द्वरत बादलहरू’ ले युद्धको विभीषिकाको चित्रण गरेका छन् ।
उनका केही कविताहरूमा प्रेमका बाछिटाहरू पनि भेटिन्छन् । कुनै युवतीप्रति कुनै पुरुष मोहित हुनु स्वाभाविक पक्ष हो । ‘म एउटी काली केटीसित प्रेम गर्छु’ प्रेमोद्गारले अभिप्रेरित कवितामा पर्दछ । उनी लेख्छन्, ‘ऊ रूपसी होइन÷त्यति मोहक पनि छैन÷समग्रमा तर ऊ एउटी युवती हुन्÷यौवनोचित उसका चाहनाहरू÷र ऊ मजस्तै÷एउटा जीवन साथीको तलासमा छे÷जससित लामो जीवन बिताउन सकियोस् ।’ उनको अर्को कविता ‘तिम्रो सम्झनामा मेरो कार्यतालिका’ पनि प्रेयसीको यादमा रचिएको काव्य सिर्जनाकै लहरमा आबद्ध छ भने ‘तिम्रो मुस्कान कविता’ मा भने उनले पौराणिक पात्रहरू क्युपिड र साइक एवं व्यासनियो र पोर्सियाको अमर प्रेमलाई ब्युँझाउने प्रयत्न गरेका छन् ।
कुनै कुनै कविता भने निराशाको जगमा उभिएका छन् । ‘अभिशप्त एउटा जिन्दगी’ मा उनीभित्रको निराशा यसरी पोखिन्छन्, ‘अभिशप्त छु म युगौंयुगदेखि÷शताब्दीयौंदेखि÷म मौन पहाड÷निश्चल ठिंग उभिएको छु÷भीरपहरामा शीतबिन्दु मेरो आँसु÷निधार मास्तिर सेताम्य तुसारो कपाल÷म जाडोले ठिहीले कक्रिएको छु ।’ त्यस्तै, ‘मृत्यु चोकमा उभिएर एकछिन’ पनि उनको निराशाबोध गराउने कवितामा गन्न सकिन्छ, जुन कवितामा उनीभित्र व्याप्त मृत्युबोध पोखिएका छन् ।
विद्रोहको भाव शाक्यका कवितामा जताततै पाइन्छन् । तर, विद्रोहको भावसँगै सुन्दर प्रेम प्रसंग, नैराश्यताका विम्बहरूका साथै पुराणमा वर्णित र मिथकहरूमा उल्लिखित पात्रलाई समेत कविताको क्षितिजमा टाँगेर उनले आफ्नो लेखनलाई अझ परिपक्व र समृद्ध तुल्याउन चाहेका छन् । आधुनिक विज्ञानका पितामह आइन्स्टाइन र पाइथागोरसलाई विम्बको धरातलमा उतारेर पनि उनले कविता लेखेका छन् । तसर्थ, उनको कविताको मैदान विस्तृत त छँदै छ, अनेक विम्ब, उपमाका साथै संरचनागत हिसाबले पनि उनका कविताले विशिष्ट उचाइ ग्रहण गरेका छन् ।
कृति ः घामका पाइला
विधा ः कविता
कवि ः नरेश शाक्य
प्रकाशक ः आकृति प्रकृति प्रकाशन
पृष्ठ ः १०२
मूल्य ः रु. २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply