एमालेको लोकप्रियताबाट अत्तालिएर ‘गोली काण्ड’
काठमाडौं । राष्ट्रिय एकता, संविधान कार्यान्वयन र निर्वाचनको पक्षमा सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानले तराईमा एमालेको पक्षमा जनलहर सिर्जना भएपछि सप्तरीको राजविराजमा नियोजित रूपमा ‘गोली काण्ड’ गराइएको छ ।
अभियानको पूर्वसन्ध्यामा सिरहा पुगेर गृहमन्त्री विमलेन्द्र निधिले एमालेको अभियानविरुद्ध प्रतिकारमा उत्रिन कार्यकर्तालाई ऐलान गर्नु र संविधान जारी भएदेखि नै संदिग्ध पात्रका रूपमा चिनिएका डा. बाबुराम भट्टराईले जनकपुरमा पुगेर मधेसमा एमालेलाई ‘साइज’ मा ल्याउनुपर्ने अभिव्यक्ति दिनुले ‘सप्तरी गोली काण्ड’ पूर्वनियोजित घटनाक्रमकै पटाक्षेप हो भन्ने तथ्य पुष्टि भएको हो ।
करिब दुई महिनाअघि नै पूर्वघोषित कार्यक्रम गर्न नदिने मधेसी मोर्चाको धम्कीका बाबजुद एमालेले संयमपूर्वक कार्यक्रम सम्पन्न गरिसकेपछि निकै सानो संख्यामा रहेका प्रदर्शनकारीमाथि राजविराजमा अचानक गोली चलाइएको सामाजिक सञ्जालहरूमा सार्वजनिक श्रव्यदृश्यले देखाएको छ । त्यसैले पनि गृहमन्त्री निधिकै योजनामा घटना गराइएको थप पुष्टि भएको हो । सप्तरीको गजेन्द्रनारायण औद्योगिक प्रदर्शनीस्थलमा शालीन र भव्य आमसभा सकेर दसौं हजारको जनसमूह बाहिरिनै लाग्दा निकै पर गहुँबारीमा ५० देखि १ सयको संख्यामा रहेको प्रदर्शनकारीमाथि गोली हानिएको भिडियोले देखाएको छ । सोमबारको सो घटनामा मधेसी मोर्चानिकट तीनजना मारिएका थिए । त्यति मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदर्शनकारीमाथि गोली नचलाउन पटक–पटक निर्देशन दिँदादिँदै गृहमन्त्री निधिकै आदेशमा घटना भएको समाचारसमेत सार्वजनिक भएको छ । प्रधानमन्त्री स्वयंले गृहमन्त्रीलाई संयम अपनाउन भन्दाभन्दै गोली चलाउनुले निर्वाचन हुन नदिने र एमालेको बढ्दो लोकप्रियतालाई ‘साइज’ मा ल्याउनकै लागि नियोजित रूपमै घटना गराइएको एमालेले विश्लेषण गरेको छ । प्रधानमन्त्रीको आदेशलाई नै उल्लंघन गरेर एमालेसँग कुनै झडपै नभएको अवस्थामा गोली चलाउनुपर्ने रहस्य अहिलेसम्म गृहमन्त्रीले सार्वजनिक गर्न सकेका छैनन् । यतिसम्म कि कार्यक्रमको अघिल्लो रात राजविराजका होटलहरूमा संदिग्ध व्यक्तिहरूको बाक्लो उपस्थिति हुनु, भिडियो फुटेजहरूमा कांग्रेसकै कार्यकर्ताहरू संलग्न भएको देखिनुले उनी तराईमा रक्तपात मच्चाएर विदेशी शक्तिको षड्यन्त्रमा निर्वाचन हुन नदिने खेलमा सामेल भएकाले गम्भीर नैतिक प्रश्न खडा भएको छ । निधिको त्यही संदिग्ध भूमिकाका कारण प्रधानमन्त्री प्रचण्ड उनलाई पदबाट हटाउने निष्कर्षमा पुगेको बताइन्छ ।
नयाँ संविधान जारी भएलगत्तै कैलालीको टीकापुरमा जसरी सशस्त्र प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित दर्जनौंको हत्या हुनुपूर्व बाबुराम भट्टराईलगायतका केही व्यक्तिले पहिल्यै रक्तपात मच्चिन सक्ने भविष्यवाणी गर्नु र एमालेको अभियान चल्दै गर्दा पनि जनकपुरमा पुगेर त्यस्तै संकेतसहितको भविष्यवाणी गर्नुले उनको संदिग्ध भूमिकामाथि नै निगरानी गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
सुखानी सहिद स्मृति दिवसका अवसर पारेर २१ फागुनबाट पूर्वी नेपालको काँकडभिट्टाबाट सुरु भएको राष्ट्रिय अभियानमा लाखौं जनताको सहभागिता हुँदै गएको थियो । बिर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा हुँदै २ नम्बर प्रदेशको राजविराज प्रवेश हुनेबित्तिकै एमाले सभा बिथोल्नका लागि मोर्चाले अनेक प्रयास गरेको थियो । करिब दुई महिना पहिल्यै घोषित अभियान बिथोल्न विना कुनै कारण मोर्चाले धम्की, तोडफोडलगायतको सहारा लिए पनि एमालेले अपनाएको संयमले त्यहाँ कार्यक्रम सम्पन्न भइन्जेल कतै जम्काभेटसमेत भएको थिएन ।
जसरी पनि घटना गराउने पूर्वयोजना
एमाले स्थायी समितिले जसरी पनि हिंसा मच्चाउने पूर्वयोजनाअनुसार नै घटना भएको विश्लेषण गरेको छ । सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेस आन्दोलन उठेका आधारमा सुषुप्त रहेको आन्दोलनलाई आक्रामक र हिंसात्मक रुप दिने पूर्वयोजनाअन्तर्गत घटना गराइएको बैठकले विश्लेषण गरेको हो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र गोली चल्ने परिस्थिति नबनेसम्म मशधेस आन्दोलन नउठ्ने भन्दै एमालेको कार्यक्रम हुन नदिन व्यापक हिंसामा उत्रिन घटनाको अघिल्लो दिन मोर्चाका कार्यकर्ताहरूलाई निर्देशन दिएको बुझिएको छ ।
यसरी अपनाएको थियो एमालेले संयम
एमालेले स्थानीय राज रंगशालामा कार्यक्रम गर्ने पूर्वयोजना बनाएको थियो । तर, मोर्चाले त्यहाँ नदिने भनेपछि कार्यक्रमस्थल मुख्य सडकबाट तीन किमी टाढा गजेन्द्रनारायण सिंह स्मृति औद्योगिक स्थलभित्र सारियो । भारदहबाट हनुमानगर हुँदै राजविराजको मुख्य सडक हुँदै कार्यक्रमस्थल आउने बाटोमा मोर्चाले अवरोध खडा गर्ने भनेपछि एमालेले कार्यक्रमस्थल प्रवेशको रुट नै परिवर्तन ग¥यो । त्यसरी रुट परिवर्तन गर्नुपर्दा एमाले टोली २० किमी टाढा पर्ने सडक घुमेर रुपनी बजार हुँदै राजविराज प्रवेश गरेको थियो । ‘त्यति संयम अपनाउँदा पनि उहाँहरूले कार्यक्रममा अवरोध गर्ने प्रयास गर्नुभयो, दलले नै दललाई नस्विकार्ने हो भने बहुदलीय व्यवस्था किन चाहियो ? एमाले प्रचार विभागका सचिव विष्णु रिजालले भने, ‘हाम्रै कारणले उहाँहरूले शान्तिपूर्ण रूपमा ठूलो कार्यक्रम गर्न सक्नुहुन्थ्यो, तर कार्यक्रमबाहिर राखिएका बाइक जलाउने, गरिब किसानका साइकलका हावा खुस्काउने, ढुंगा हानेर गाडी फोड्नेजस्ता अमानवीय काम गरियो ।’ कार्यक्रम अवधिभर कतै पनि एमालेले मुठभेड नगरेको दाबी गर्दै उनले मोर्चाका तर्फबाट पेट्रोल बम प्रहार गर्ने जस्तो उदण्ड काम हुँदा घटना भएको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply