एमालेको मेची–महाकाली अभियान व्यापक जनसहभागिता र प्रवेशको लहर
काठमाडौं । नेकपा (एमाले) ले सुरु गरेको मेची– महाकाली अभियान आज पाँचौं दिनमा प्रवेश गरेको छ । गत शनिबार झापाको काँकडभिट्टाबाट अभियान सुरु भएको थियो । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच उक्त अभियानको आरम्भ गरेका थिए । अध्यक्ष ओलीले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई राष्ट्रिय तथा पार्टीको झन्डा हस्तान्तरण गरी अभियानको औपचारिक सुरुआत गरेका थिए । पञ्चायती व्यवस्थाका विरुद्ध लड्दालड्दै २०२९ फागुन २१ गते राति जेल सार्ने नाममा सुखानीको जंगलमा लगी हत्या गरिएका पाँच सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सम्झनामा पार्टीले मनाउँदै आएको सहिद दिवस पारी आरम्भ गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन, राष्ट्रिय एकता प्रबद्र्धन र सामाजिक न्यायका लागि हाम्रो पार्टी सम्झौताहीन रूपमा खडा हुने बताए । उनले भने, ‘ढुक्क भए हुन्छ, यसमा कसैसँग सम्झौता गर्दैनौं ।’ झापा विद्रोह नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको महŒवपूर्ण घटना भएको उल्लेख गर्दै ओलीले भने, ‘त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै नयाँ दिशा दियो र हामी आजको अवस्थामा आइपुगेका छौं । झापा विद्रोहमार्फत सहिदहरूले देखाएको बाटोमा अविचलित रूपमा हिँडिरहन्छ ।’
संसद्मा टेबुल भएको संविधान संशोधन राष्ट्रघाती भएकाले कुनै पनि हालतमा पारित हुन नदिइने प्रस्ट पार्दै ओलीले त्यो काम संसद् र संसदीय प्रक्रियाबाटै असफल पारिने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कमरेड ईश्वर पोखरेलले संविधान निर्माण हुनै नदिन लागिरहेको शक्ति त्यसबेला असफल भएपछि अहिले संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेको बताए । उनले भने, ‘हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’ नेकपा (एमाले) का सचिव तथा प्रदेश नम्बर एकका संयोजक भीमप्रसाद आचार्यको अध्यक्षता र केन्द्रीय कमिटीका वैकल्पिक केन्द्रीय सदस्य रविन कोइरालाको सञ्चालनमा आयोजित कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका सहिदका परिवारलाई सम्मान गरिएको थियो । काँकडभिट्टाबाट कार्यक्रम सकेर बिर्तामोड जाँदा बाटोमा पर्ने धुलाबारी, धाइजन, चारआली र बुट्टबारीमा ठूलो संख्यामा उपस्थित भएका जनसमुदायले स्वागत गरेका थिए । चोक–चोकमा निस्केका उनीहरूले ताली बजाउनुका साथै नारा लगाएर कार्यक्रमप्रति समर्थन जनाएका थिए ।
सोही दिन दोस्रो कार्यक्रमका रूपमा झापाकै बिर्तामोडमा सभा आयोजना भएको थियो । सभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला छिमेकीका बीचमा रहेको मुलुक नेपालले सबैसँग मित्रता चाहेको उल्लेख गर्र्दै अरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेको बताए । उनले भने, ‘आकारमा कुनै देश ठूलो होला, कुनै देश सानो होला । तर, सार्वभौमसत्तामा तल–माथि हुँदैन । हामी कसैलाई ठुल्दाइ मान्दैनौं ।’ वरिष्ठ नेता खनालले संविधानले सबै नागरिकलाई बराबर अधिकार दिएको उल्लेख गर्दै भने, ‘संविधानले कसैलाई विभेद गरेको छैन । हामी त्यही कुरा बुझाउन यो अभियान बोकेर जनताका बीचमा आएका छौं ।’ एक नम्बर प्रदेश कमिटीका सहसंयोजक तथा पोलिटब्युरो सदस्य शेरधन राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले गरेका थिए । बिर्तामोडमा कार्यक्रम सकेर दमक आइपुग्दा बाटोमा पर्ने चारपाने, दुर्गापुर, लक्ष्मीपुर, सुरुंगा, माइधार, दुधे, झिलझिले, केर्खा, धरमपुर र पाडाजोगीमा स्थानीय बासिन्दाले ¥यालीलाई स्वागत गरेका थिए । दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन अहिलेको मूल मुद्दा रहेकोमा जोड दिँदै त्यसका लागि तीनै तहको निर्वाचनबाहेक अर्को विकल्प नरहेको बताए । अध्यक्ष ओलीले भने, ‘हामीले बनाएको संविधान हामीले नै कार्यान्वयन गर्ने हो । त्यसका लागि नेकपा (एमाले) ले आवश्यक दबाब दिन्छ ।’ कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य सुवास नेम्वाङले मेचीदेखि महाकालीसम्मका जनतालाई जोड्न अभियान सुरु गरिएकाले पहिलो दिनमै देखिएको जनसहभागिताबाट पार्टी उत्साहित भएको बताए । उनले भने, ‘यसबाट पनि जनता संविधानको कार्यान्वयन र निर्वाचनका पक्षमा छन् भन्ने देखिन्छ ।’ कार्यक्रम झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठकको अध्यक्षता र एक नम्बर प्रदेश कमिटी सदस्य देवेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो । पहिलो दिन आयोजित तीनवटै कार्यक्रममा कांग्रेस, माओवादीलगायतका पार्टी परित्याग गरी ठूलो संख्यामा पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो । मुलुकको परिवर्तनका लागि ज्यान उत्सर्ग गर्ने सहिदका परिवार र झापा आन्दोलनका योद्धाहरूलाई अध्यक्ष ओलीलगायतका नेताहरूले सम्मान गर्नुभएको थियो । कार्यक्रममा भाग लिन विभिन्न समुदायहरू आ–आफ्नो वेशभूषा र बाजागाजसहित झाँकी प्रस्तुत गरेका थिए ।
चुनावी अभियान होइन, भ्रम तोड्ने अभियान
मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार मोरङ र सुनसरीमा भव्यताका साथ कार्यक्रम सम्पन्न भए । अघिल्लो दिन झापाको दमकमा बास बसेको अभियानको केन्द्रीय टोली बिहान त्यहाँबाट हिँड्दा बाटोमा फूलमाला र अबिरले स्वागत गर्नुका साथै सडक किनारामा लामबद्ध भएका हजारौं जनताले ताली बजाएर ऐक्यबद्धता जनाएका थिए ।
मोरङको विराट चोकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन नेकपा (एमाले) को मात्र माग नभएर सिंगो राष्ट्र र नेपाली जनताको माग भएको बताए । उनले भने, ‘यो चुनाव प्रचार अभियान होइन, भ्रम तोड्न राष्ट्रिय अभियान चलाएका छौं । हामीले मधेसमा संविधानका बारेमा बोल्यौं भने आफ्नो भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजिएको छ । तर, नेकपा (एमाले) लाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन । यो संविधान नेपाली जनताले आफ्ना लागि आफैं बनाएका हुन् अरू कसैले चिन्ता गर्नुपर्दैन । नेकपा (एमाले) सत्ताका लागि आफ्ना मान्यताहरूलाई तिलाञ्जली दिने पार्टी होइन । हाम्रा लागि राष्ट्र सबभन्दा ठूलो छ ।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष भीमबहादुर रावलले ५ वर्ष ८ महिना लगाएर संविधान बनाउँदा पनि रातारात बनाइएको, सबैको सहभागिता नभएको भन्नेजस्ता गलत प्रचार गरिएको भन्दै तथ्यांकमा हेर्न आग्रह गरे । ९० प्रतिशत जनताका प्रतिनिधि, मधेसी, जनजाति, महिला, मुस्लिम, थारू, दलितको ठूलो हिस्साले समर्थन गरेकाले यसलाई केही सीमित मानिसले पूर्वाग्रहपूर्ण रूपमा गलत प्रचार गरेको बताउँदै उपाध्यक्ष रावलले भने, ‘हाम्रो चुनौती छ– विश्वमा यति समावेशी, समानुपातिक र पहिचान झल्काउने संविधान कुन देशमा छ ?’
स्थायी समिति सदस्य सुवास नेम्वाङले नेकपा (एमाले) लाई मधेस र जनजातिविरोधी भनेर जति चर्को प्रचार गर्न खोजिए पनि त्यो तथ्यमा आधारित नभएको बताए । उनले भने, ‘हामीलाई मधेस र जनजाति बहुल क्षेत्रका जनताले सधैं माया गरिरहेका छन् । ती ठाउँबाट हाम्रो पार्टी विजयी हुँदै आएको छ । बरु, मधेसमा आफूलाई मधेसवादी भन्ने र जनजाति बहुल क्षेत्रमा जनजातिवादी भन्नेहरू नै पराजित भएका छन् ।’ भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत मतबाट संविधान बनेको उदाहरण दिँदै नेम्वाङल भने, ‘हामी अरू कुनै मुलुकका आन्तरिक मामिलामा बोल्दैनौं । गत वर्ष भारतमा पटेल र जाटहरूले ५०औं लाखका जुलुस निकाले, दिल्ली जाने पानीका मुहान थुने । तर, हामीले भारतको आन्तरिक मामिलामा बोलेनौं । हामी पनि चाहन्छौं– भारतले पनि हाम्रा आन्तरिक मामिलामा नबोलोस् ।’ पार्टीका केन्द्रीय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षता र मोरङ जिल्ला अध्यक्ष विनोद ढकालको सञ्चालनमा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।
संशोधन आफ्ना लागि कि विदेशीका लागि ?
सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिका लागि संविधान कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै त्यसका सबैबीच एकताको आवश्यकता भएकोमा जोड दिए । उनले भने, ‘नेकपा (एमाले) ले नेतृत्व गरेका हरेक सरकारले मधेसलाई विशेष ध्यान दिएको छ । तराई समस्या अध्ययन कार्यदल, मदरसा अध्ययन कार्यदल निर्माणदेखि मधेसमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्गलाई गति, तराई जोड्ने द्रुत मार्ग निर्माण, मधेसका सदरमुकामलाई विशेष बजेट, बाटो विस्तार, सिँचाइ आयोजनाजस्ता काम हामीले गरेका छौं ।’ संविधान संशोधनको कुरा गर्दा देशको हितलाई ध्यानमा राख्नुपर्ने उल्ल्ेख गर्दै नेपालले भने, ‘विदेशको हितलाई होइन । हामीले संशोधन हाम्रा लागि गर्ने हो, अरूका लागि होइन ।’ कम्युनिस्ट पार्टी र मधेसको सम्बन्ध अन्योन्याश्रित रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘नेकपा (एमाले) र मधेसको सम्बन्ध नङ र मासुजत्तिकै छ । यसको स्थापना, विकास र विस्तार मधेसमै भएकाले कसैले चाहेर पनि हामीलाई अवरोध गर्न सक्दैन । चुनावका लागि खुट्टा नकमाउनुहोस् । जनतामा जाऔं, को–कति पानीमा छ, त्यहीँ थाहा हुन्छ ।’
कार्यक्रममा स्थायी समिति सदस्य सुवास नेम्वाङले संविधानसभाबाट संविधान जारी गर्नका लागि विगतमा भएका आन्तरिक कसरतहरूको चर्चा गर्दै संविधान निर्माण प्रक्रियामा सहभागी भए पनि अन्तिममा मधेसी दलहरूले निहुँ खोजेको बताए । कार्यक्रम पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाको अध्यक्षता र सुनसरी जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीको सञ्चालनमा आयोजना भएको थियो । झापाबाट सुनसरीतर्फ आउँदा बीचमा पर्ने बजारमा जनसमुदायको ठूलो समूह उपस्थित भएका कारण कोणसभाहरू पनि आयोजना भएका थिए । उर्लाबारीमा आयोजित सभालाई पार्टीका सचिव प्रदीप ज्ञवाली, पथरीमा आयोजित सभालाई स्थायी समिति सदस्य शंकर पोखरेल र बेलबारीमा आयोजित सभालाई पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।
एमाले कसरी मधेशविरोधी ?
मधेसमा जनजागरण ल्याउन एमालले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार प्रदेश नम्बर १ को कार्यक्रम सकिएको थियो । इनरुवाको सभापछि एमालेको अभियान २ नम्बर प्रदेश प्रवेश गरेको थियो । सोमबमार नै एमाललेसप्तरीको राजविराजमा एमालेले कार्यक्रम राखेको थियो ।
इनरुवाको कार्यक्रममा मधेसी मोर्चाका सानो झुन्डले एमालेको कार्यक्रमलाई अवरोध पु¥याउन खोजे पनि कार्यक्रम सफल भएको थियो । सो सभामा एमालेका पोलिटव्युरो सदस्य लालबाबु पण्डित र महिला नेतृ भगवती चौधरीले मन्तव्य राखेका थिए । सभालाई सम्बोधन गर्दै नेता पण्डितले तराई मधेसमा आतंक सिर्जना गर्न खोज्नेहरु सक्रिय रहेको बताउँदै भने, ‘एमालेको अभियानलाई कसैले बिथोल्न खोज्छन् भने हामी प्रतिरोध गर्नेछौं ।’ उनले मधेसका प्रत्येक गाविसलाई करोडौं बजेट दिएर विकास, निर्माणमा तदारुकता देखाउने एमाले कसरी मधेस विरोधी हुनसक्छ ? भनेर प्रश्न पनि गरेका थिए ।
२ नम्बर प्रदेशमा मधेसी मोर्चाले एमालेको अभियानलाई अवरोध पु¥याउने गरी सप्तरी बन्द गरे पनि र ठाउँ ठाउँमा जुलुस निकाले पनि सबै अवरोधलाई चिरेर एमालेले अभियान अगाडी बढाएको थियो । अभियान प्रदेश नम्बर दुईमा प्रवेश गरेपछि भने शुरु देखी नै केही असहज भएको थियो । मधेसीमोर्चाका कार्यकर्ताले प्रदेश नम्बर दुईमा कुनै पनि कार्यक्रम हुन नदिन केही दिन अघिदेखि नै विभिन्न खाले उत्तेजना फैलाउने कार्य गर्दै आएका थिए ।
सोमबार एमालेको जनलरहले उनीहरुको अवरोधलाई छिचोल्दै प्रदेश नम्बर दुईमा प्रवेश गरेपछि उनीहरु झन् उत्तेजित भएका थिए । मेची–महाकाली राष्ट्रिय अभियान प्रदेश नम्बर २ मा छिर्दा जनलहर झनै उर्लिएको छ । इनरुवाको कार्यक्रम सिध्याएर कोसी व्यारेज कटी २ नम्बर प्रदेश छिर्ने क्रममा एमालेको अभियानमा हजारौं मानिसहरु थपिएका थिए ।
सुनसरीको भान्टाबारीदेखि सप्तरीको भारदहसम्मको लामो सडक खण्डलाई एमालेको विशाल लहरले ढाकेको थियो । बीचमा केही अवरोध गरे पनि एमालेले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भव्य आमसभा गरेको थियो । आमसभा सम्पन्न गरेर फर्किने क्रममा प्रहरीलाई उत्तेजित बनाउँदै प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले पनि मोर्चाका कार्यकर्ताले प्रहरी र एमालेको कार्यक्रमस्थलमा लक्षित गरेर निरन्तर ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफ कारबाही गरेको जानकारी दिए । मोर्चाका कार्यकर्ताले बाटो एउटा मोटर साइकल पनि जलाएका छन् ।
एमाले तराइको रैथाने पार्टी
सोमबार दिउँसो राजविराजमा विशाल आमसभा भएको थियो । मधेसी मोर्चाले विभिन्न अवरोध गरे पनि ती अवरोधहरुलाई छिचोल्दै एमालेले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा गरेको हो ।
सो सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ३–४ वटा कालो झन्डा देखाएर तराईमा एमाले छैन भनेर कसैले पनि भ्रम नछरे हुने बताए । उनले भने, ‘तराई मधेसका निम्ति एमाले पाहुना पार्टी होइन, रैथाने पार्टी हो ।’ सम्बोधनका क्रममा अध्यक्ष ओलीले तराई मधेसको विकासमा एमालेले अथक प्रयत्न गरिरहेको बताउँदै केही बिचौलियाहरुले तराईमा एमालेको अस्तित्व नरहेको भ्रम बाँड्दै हिँडिरहेको बताए ।
अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए । नेता नेपालले भने, ‘एमालेलाई मधेस विरोधी भनेर हल्ला पिटाउने काम भइरहेको छ । जसले त्यस्तो हल्ला पिटाइरहेका छन्, उनीहरुलाई एमाले मधेस विरोधी भएको देखाउन चुनौती दिन्छु ।’
नेता नेपालले एमालेले सबै नेपालीलाई एक जुट बनाउन लागिपरेको बताउँदै भने, ‘हामी सबै नेपालीलाई एउटै मालामा उन्न चाहन्छौं । पहाडे र मधेसी समुदायबीचको एकतालाई भाँड्ने काम कसैलाई पनि स्वीकार्य हुने छैन ।’ सो सभालाई एमाले २ नम्बर प्रदेशका इन्चार्ज सत्यनारायण मण्डलले पनि सम्बोधन गरेका थिए । १ नम्बर प्रदेशको इनरुवाबाट करिब सय वटा गाडीमा एमालेको अभियान २ नम्बर प्रदेशको राजविराजमा पुगेर सभामा परिणत भएको थियो ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply