सिंगो समाजको पर्यवेक्षण
नेपाली कविता जगत् दुई अतिवादको सिकार हुँदै आएको छ । एकथरिले कविताको नाममा विशुद्ध विचार मात्रै पस्किरहेका छन्, अर्काथरि भने विचारशून्यताको पोखरीमा पौडिँदै कवितालाई कलात्मक लेपनले सिँगारिरहेका छन् । तर, कवि अमर गिरी भने यी दुवै अतिवादका विरुद्धमा देखिन्छन् ।
३० को दशकदेखि नै नेपाली प्रगतिशील काव्य फाँटमा जम्दै आएका गिरीका कविताहरूमा विचार त हुन्छ नै, त्यसमा व्याप्त सरलता, सहजता, कोमल शब्द र समृद्ध भावसम्पृक्ताले गर्दा प्रेम र सद्भावले पनि भरिपूर्ण लाग्छन् । गिरीका पूर्वप्रकाशित चार काव्यकृतिहरू ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौं’, ‘दुःसाध्य समय’ र ‘शब्दहरूका बीचमा’ बाट चयन गरिएका कविताहरूको प्रतिनिधि सँगालो ‘समय संवाद’ भित्र विचरण गर्दा उनका कविताहरू धेरै नै परिपक्व र संवेदनाको नयाँ धरातलमा टेकेका प्रतीत हुन्छन् ।
‘हुन सक्छ तिमी पहाडलाई मैदान
र मैदानलाई पहाड बनाउन सक्छौ
सधैं उँधो–उँधो बग्ने खोलालाई उँभो बगाउन पनि सक्छौ
के कमी छ र ?
हुन सक्छ पश्चिम डुब्ने सूर्यलाई पूर्व
पूर्व उदाउने सूर्यलाई पश्चिम गराउन सक्छौ
तर एउटा रातो फूल
मेरो हृदयमा फक्रेको छ
हे हजार बाहुबली,
के तिमी त्यसलाई चुँड्न सक्छौ ?’
उनका प्रारम्भिक चरणका प्रायः कवितामा विद्रोह चेत व्याप्त देखिन्छन् । हुन पनि, पञ्चायती कालखण्डलाई राम्ररी नै भोगेका गिरी त्यसयताका हरेक राजनीतिक घटनाचक्रसँग परिचित छन् । र, अधिकांश राजनीतिक क्रियाकलापमा सामेल पनि छन् । देशमा व्याप्त राजनीतिक घटना–परिघटना, शासकहरूका दाउपेच, अन्याय, शोषण र उत्पीडनमा पिल्सिरहेका जनताका पीडालाई नजिकबाटै नियालका हुँदा पनि उनले कविता–लेखनमा ती पक्षहरूलाई उठाउन चाहेका छन् ।
गिरीको कविताको मुख्य स्वर परिवर्तन हो, परिवर्तन चाहने जनताको आवाजलाई उचाइ दिने अभिलाषा हो । र, उनका कविता आफू बाँचिरहेको समाजमा पूर्णतः स्पन्दित छन् र त्यसैको संवेदनाको जगमा विचाररूपी वृक्षहरू उम्रिएका पाइन्छन् । निश्चय नै, ती विचारहरू जीवन र जगत्को परिवर्तनप्रति प्रतिबद्ध देखिन्छन् । उनी लेख्छन्,
‘ऐंजेरु वृक्षका कापहरूबाट मात्र उम्रँदैन
ऐंजेरुले वृक्षहरूलाई मात्र डस्दैन
ऐंजेरु मस्तिष्कका कापहरूबाट पनि उम्रन्छ
ऐंजेरु नउम्रने कुनै त्यस्तो वस्तु हुँदैन
देशको छातीबाट उम्रन्छ ऐंजेरु
राष्ट्रियताको सगरमाथाबाटै उम्रन्छ ऐंजेरु ।’
हरेक राजनीतिक आन्दोलन र त्यसलाई दबाउन शासकहरूले गरेका यत्नका साक्षी बनेका गिरीले आफ्ना कवितालाई परिवर्तनको पक्षमा दृढतापूर्वक उभ्याउँदै आएका छन् । चाहे पञ्चायतविरोधी आन्दोलनका क्रममा होस् वा तत्कालीन राजा ज्ञानेन्द्रले नागरिकको अधिकार खोसेका बेलामा नै किन नहोस्, गिरीले कवितामार्फत नै परिवर्तनका विरोधीहरूलाई ललकार्न उपयुक्त ठानेका छन् । त्यस्तै, कुनैबेला परिवर्तनको पक्षमा उभिएका र परिवर्तनपछि राजकीय जिम्मेवारीमा पुगेपछि पूरै फेरिएका पात्रहरूप्रति उनका कविताले कटाक्ष व्यक्त गरेका छन् ।
पूर्वज कविहरू गोपालप्रसाद रिमाल, भूपि शेरचनले ग्रहण गरेकाजस्तै सहजबोध गिरीका कविताहरूमा पाइन्छन् । चार दशकदेखि नेपाली प्रगतिशील काव्य मैदानमा डटिरहेका गिरीको काव्य–यात्राका आरोह–अवरोह बुझ्न चाहनेहरूका निम्ति ‘समय संवाद’ एउटा भरपर्दो माध्यम बन्न सक्छ । र, उनलाई नेपाली काव्य जगत्का एक संश्लिष्ट राजनीतिक कविको संज्ञा दिनु सान्दर्भिक नै होला, उनको संवेदना र अनुभवको संसारमा वर्ग विभाजित समाजको समग्र पर्यवेक्षण झल्किएको पाइन्छ ।
कृति : समय संवाद
विधा : कविता
कवि : अमर गिरी
प्रकाशक : कौशिकी साहित्य प्रतिष्ठान
पृष्ठ : १८३
मूल्य : रु. ३००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply