साँच्चै उनी त्यही अशोक राई हुन् र ?
कञ्चनपुरमा गोविन्द गौतमको सहादतले उनलाई जन्म दिने बुबाआमा मात्र होइन, समस्त राष्ट्रवादी नेपालीहरू शोकाकुल छन् । अब गोविन्द सिंगै नेपाल आमाका छोरा भएका छन् । उनको सहादतबाट नेपाली राष्ट्रियताको आन्दोलनले अझ मजबुत, कठोर अनि निर्दयी हुने संकल्प र शिक्षा ग्रहण गर्न सक्नुपर्दछ ।
गोविन्द, तिमी सदा–सदा अमर रहनेछौ र रहनुपर्दछ । र, तिम्रो अमरत्वको गौरवगाथा हामी जीवित नेपालीले सदासदा गरिरहनेछौं । तर, अशोक राईहरू !
गोविन्द गौतमले देशको सीमा सुरक्षार्थ सहादत प्राप्त गरेर सिंगै देश शोकाकुल र आक्रोशित भइरहेको बखतमा भारतीय राजदूतावास एसएसबीले गोली नचलाएको विज्ञप्ति निकालिरहेको थियो । र, त्यो विज्ञप्ति नेपालको सार्वभौम संसद्मा वाचन गरिरहेका थिए । मानौं उनी अघोषित होइन, घोषित रूपमै दूतावासका प्रवक्ता हुन् । संसद्मा अशोक भन्दै थिए, ‘भारतीय दूतावासले विज्ञप्ति निकालेर होइन भनेपछि यो घटना रहस्यमय भएको छ, सत्यतथ्य पत्ता लगाउनुप¥यो ।’
अशोक राईको यो भनाइमा स्पष्ट देखिन्थ्यो कि उनी हजारौं स्थानीय प्रत्यक्षदर्शी नेपाली जनताका अगाडि मारिएका गोविन्द गौतमको हत्या भारतले गरेको प्रति आशंका व्यक्त गरेर नेपालीहरूको मानमर्दन गरिरहेका छन् र लैनचौरका भारतीय दूतावासका कर्मचारीको वक्तव्यलाई सगौरव नेपालको संसद्मा प्रवेश गराइरहेका छन् । र, उनी त्यसलाई आधिकारिक मानिरहेका छन् । मानौं, त्यो लैनचौरको वक्तव्य ढुंगामा लेखिएको अक्षर थियो अशोक राईहरूका लागि ।
याद राखौं, अशोक राईले त्यो बोलिरहँदा उनी संसद्को निर्धारित कार्यसूचीमा बोल्ने दलीय भागबन्डाबमोजिम मधेसी मोर्चाको प्रतिनिधित्व गरेर बोलिरहेका थिए । त्यतिबेला मजस्ता धेरै नेपाली नागरिक सोच्न बाध्य भयौं– के उनी तिनै अशोक राई हुन्, जो कलिलो उमेरमा राष्ट्रियता र जनतन्त्रका लागि मर्न र मार्न तयार भएर सशस्त्र युद्धको बाटोमा भूमिगत भएका थिए ?
धरानको हात्तीसार क्याम्पसबाट तत्कालीन नेकपा मालेको राजनीतिमा होमिएका अशोक राई विदेशी छात्रवृत्ति परित्याग गरेर राष्ट्रियता र जनतन्त्रका लागि बन्दुक बोक्ने कार्यनीति भएको तत्कालीन मालेमा आबद्ध भएका थिए । र, उनका साथमा थिइन्– रत्नकुमार बान्तवाको हत्या हुँदा बालबाल सहादत हुनबाट जोगिएकी संघर्षशील महिला नेतृ सुशीला श्रेष्ठ धर्मपत्नीका रूपमा । राई र श्रेष्ठको यो जोडीको गौरवगाथा सुनेर मूलतः नेपालको पूर्वी भागमा धेरै युृवायुवती कठोर राजनीतिक यात्रामा लामबद्ध भएका थिए ।
मैले सर्वप्रथम ०४३ सालमा धरानमा भूमिगत अवस्थामा भेट्दा क. नीलकण्ठको भूमिगत नामले परिचित यी अशोक राई मजस्ता हजारौं युवाहरूका लागि आस्था र श्रद्धाका पात्र थिए । जब उनी सांसद र मन्त्री भए, उनीप्रतिको क्रेज त्यतिबेलासम्म बाँकी नै थियो । म ती सहासी महिला नेतृ सुशीला श्रेष्ठलाई पनि सम्झिरहेको छु, रत्नकुमार बान्तवाको बलिदानी र आजका अशोक राईको भूमिकाप्रति तपार्इं साँच्चै सन्तुष्ट हुनुहुन्छ ?
त्यसो त कथित राष्ट्रियताकै लागि अशोक राई महाकाली सन्धिको निहुँ बनाएर तत्कालीन नेकपा (एमाले) बाट माले बनाउन लागि परे । त्यसबखत महाकालीमा नांगो खुकुरी बोकेर सैयौं युवाहरूलाई भारतका विरुद्धमा र राष्ट्रियताको पक्षमा लड्न तयार रहन फर्मान जारी गर्नेमध्येका एक यिनै अशोक राई थिए । तर, आज तिनै अशोक राईहरू गोविन्द गौतमको हत्याप्रति आशंका व्यक्त गर्छन् र भारतीय दूतावासको वक्तव्य पढेर नेपालको सार्वभौम संसद्समक्ष गोविन्द गौतमको सहादतलाई अवमूल्यन गर्छन् । अनि मधेसी मोर्चाको प्रतिनिधि बनेर भारतीय पक्षको खलमखुला वकालत गर्छन् । अनि, प्रश्नहरू उठ्छन् साँच्चै उनी त्यही अशोक राई हुन र ?
यसबखत म ती सहासी महिला नेतृ सुशीला श्रेष्ठलाई पनि सम्झिरहेको छु । भन्न मिल्दैन होला, सार्वजनिक रूपमा क. सुशीला श्रेष्ठ तपाईं आफैलाई आज कस्तो अनुभूति भइरहेको छ ? रत्नकुमार बान्तवाको बलिदानी र आजका अशोक राईको भूमिकाप्रति तपाई साँच्चै सन्तुष्ट हुनुहुन्छ ? हिजो तपाई हामीले सँगै गाएको अर्को एउटा गीतको याद आयो मलाई–
‘यात्रा हाम्रो जिन्दगी हो, वर्षौं वर्षसम्म
लडिरहन्छौं नपुगुन्जेल आफ्नो लक्ष्यसम्म’
हिजो तपाईं–हामीले सँगै गाएको यो गीतले भनेजस्तै अशोक राईहरूको यात्राको गन्तव्य यही थियो ?
जरुरी छैन, तपाई कुनै दलमा रहनैपर्छ । तर, राष्ट्रियताको विरुद्धमा र पराधीनताको पक्षमा जब तपाईंहरू देखा पर्नुहुन्छ, तब हामीलाई निःसन्देह यो प्रश्न गर्ने हक छ कि तपाईंको यात्राको गन्तव्य मधेसी मोर्चाको प्रतिनिधित्व र भारतीय स्वार्थको पक्षपोषणसम्मका लागि मात्रै थियो ?
उपेन्द्र यादव र महन्त ठाकुरहरू
सप्तरीमा जे भयो, दुःखद र नहुनुपर्ने घटना भयो । मृतकको टाउकोमै गोली लागेर मृत्यु भएको घटनाले शक्तिको अत्यधिक प्रयोग भएको देखिन्छ । त्यसमा संलग्न सुरक्षाकर्मीलाई कानुनबमोजिम सजायको भागीदार बनाउनैपर्दछ । तर, लाख तर्क गरे पनि त्यहाँ सुरु गरिएको निषेधको राजनीतिलाई सामान्य चेत भएको कुनै पनि नेपाली नागरिकले पुस्ट्याइँ गर्न सक्दैन ।
निहत्था गोविन्द गौतम भारतीय सुरक्षा फौजबाट हत्या गरिएको घटनाप्रति मोर्चाका तपार्इं नेताहरूको आधिकारिक धारणा के हो ? आज यो प्रश्न तराई, पहाड र हिमाल सर्वत्र उठेको छ । यसमा तपार्इंहरूको मौनताको रहस्य के हो ? देशको अस्मिता लुटिँदा, सीमा अतिक्रमण हुँदा, नेपाली नागरिकमाथि विदेशी शक्तिबाट निर्ममतापूर्वक हत्या हुँदा तपाईंहरूको मुख किन खुल्दैन ? यो प्रश्न जबर्जस्त उठ्छ ।
संविधानप्रतिको तपाईंहरूको राजनीतिक मान्यतामा कसैको विरोध र कसैको समर्थन होला, यो बिल्कुल राजनीतिक प्रश्न हो । तर, जब सवाल उठ्छ– राष्ट्रिय अस्मिता र सार्वभौम सत्ताको, त्यसबखत पनि तपाईहरू मौन रहनुभयो यसको रहस्य के हो ? तराई मधेसको सीमा सुरक्षा गरेर बसेका तमाम मधेसी देशभक्त हरेक नेपालीको मनमा आज यो प्रश्न उब्जेको छ । आफूलाई मधेसवादी भन्ने राजनीतिक दलका नेताहरूको राष्ट्रियतासम्वन्धी धारणा के हो ? तराई मधेसका तमाम प्राध्यापक, इन्जिनियर, डाक्टर वकिल अनि अन्य पेसा व्यवसायका बौद्धिक व्यक्तित्वहरू ! तपाईंहरूले मुख खोल्ने बेला भएको छ । संविधानप्रतिको असन्तुष्टि अब राष्ट्रियता, सार्वभौमिकता र लोकतन्त्रसँग साट्न सकिँदैन र साट्नुहँुदैन । साट्न गरिएका तमाम परिपञ्च र हत्कण्डाहरूलाई निष्क्रिय र निस्तेज बनाउनुपर्दछ ।
फेरि पनि एउटा गीतको बोल– ‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे !’
मधेसवादी दलहरूको बहुदलीय व्यवस्था र शान्तिपूर्ण प्रतिस्पर्धाप्रतिको निष्ठामा पनि आज प्रश्न उठ्न थालेको छ । मधेसवादी दलका प्रायः सबै शीर्ष नेताहरू र अधिकांश कार्यकर्ताहरूसमेत बहुदलीय राजनीतिक व्यवस्थाका लागि लामो र त्यागपूर्ण संघर्ष गरेका व्यक्तित्वहरू हुनुहुन्छ । तर, राजविराज घटनापश्चात् तपाईंहरूको गौरवपूर्ण त्यो अतीतमा प्रश्नहरू उठ्न थालेका छन् । दुई महिनाअघिदेखि एउटा दलले घोषणा गरेको शान्तिपूर्ण पदयात्रालाई गौरवपूर्ण घोषणाका साथ बिथोल्न भएभरको जुक्ति र शक्ति लगाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झाहरूलाई हामी सबै नेपालीको एउटै प्रश्न छ– तपाईंहरू कस्तो राजनीतिक संस्कारको विकास गर्न खोज्दै हुनुहुन्छ ?
यो संविधानको शपथ खाएर नेपाली जनताको रगत पसिनाबाट आर्जित राष्ट्रिय ढुकुटीको सेवा–सुविधा लिएर, कसैको पक्षमा र कसैको विपक्षमा संसद्मा मतदान गरेर शान्तिपूर्ण आन्दोलन बिथोल्ने र निर्दोष जनतालाई भड्काएर मृत्युवरण हुन बाध्य गर्ने यो शैलीले तपाईंहरू कस्तो नेपालको निर्माण गर्न चाहनुहुन्छ ? तपाईंहरूको नारा र कार्यक्रम जनअनुमोदित भयो भने तपाईंले कल्पना गरेको नेपाल कस्तो हुन्छ ? तपाईंहरूले सुरु गरेको निषेधको यो राजनीति तपार्इंहरूका विरुद्धमा तराई–मधेसका आठ जिल्लाबाहेक अन्यत्र फैलियो भने कल्पना गर्नुहोस् स्थिति के होला ? तर, त्यस्तो कदापि हुँदैन र हुन दिनुहुँदैन ।
करोडौं नेपालीको एउटै आकांक्षा हो, दुई नम्बर प्रदेशका ८ जिल्ला र बाँकी ६७ जिल्लामा बस्ने हामी सबै नेपाली हौं । हरेक नेपालीलाई आफ्नो आस्था र विचारका आधारमा मुलुकका हरेक ठाउँमा शान्तिपूर्ण आन्दोलन गर्ने हक यही संविधानले सुरक्षित गरेको छ । तपाईंहरूको विचारमा एमाले मधेसविरोधी, राष्ट्रियताविरोधी, नश्लवादी जे पनि हुन सक्छ र त्यो मत लिएर तपाईंहरू जनतासमक्ष ताप्लेजुङदेखि जुम्लासम्म जान सक्नुहुन्छ । तर, मधेसवादी दलका विरुद्ध एमाले वा अरू कुनै दल तराई–मधेसमा जान किन नपाउने ? यो प्रश्नको सीधा जवाफ आज हरेक नेपाली जनताले चाहेका छन् । निषेध र प्रतिशोधको राजनीतिले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र अनि संघीयता सबै धरापमा पर्छन् । तर, हामीलाई विश्वास छ, तपाईंहरूको चाहना यी सबै उपलब्धिहरू धरापमा पार्ने पक्कै पनि होइन होला ।
गोविन्द गौतमलाई कोटिकोटि सलाम !
‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो सान हाम्रो
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए
साम्राज्य दुई हारे, हारेन सान हाम्रो’
यो कालजयी राष्ट्रिय गीतको बोलले धेरै नेपालीहरूको मनमस्तिष्कमा रगत उमालिदिन्छ । कञ्चनपुरमा गोविन्द गौतमको हत्याले फेरि एकपटक देशभक्त नेपालीहरूको रगत तातेको छ ।
जब आफ्नै स्वविवेकमा आफ्नो मातृभूमिको सीमा सुरक्षामा खटिएका गोविन्द गौतमको भारतीय सुरक्षा फौजले नेपाल भूमिमा प्रवेश गरेर नृशंस हत्या ग¥यो, त्यस बखत हाम्रो चन्द्र–सूर्य अंकित झन्डाले पनि शिर झुकाउन बाध्य भयो । थाहा छैन, यो गीतमा बोलिएझैं हाम्रो सान अब सदासदा जितिरहन्छ कि हार्न पनि सक्छ ? गोविन्द गौतमको सहादतपश्चात् यो प्रश्न टड्कारो बनेको छ । गोविन्द गौतम त्यस्ता योद्धा थिए, जो कुनै दलको आह्वानमा त्यहाँ गएका थिएनन् । न त कुनै निर्वाचनमुखी अभियानमा संलग्न थिए, न राजनीतिक चर्चा र पदोन्नतिका लागि नै उनी सीमा सुरक्षामा खटिएका थिए । नालापानी युद्धदेखि मानेभन्ज्याङ अतिक्रमणविरुद्धको आन्दोलनमा लक्ष्मी पाण्डेलगायत आजसम्म सयौं नेपाली युवाहरूले सहादत प्राप्त गरेका छन् ।
गोविन्द गौतमको सहादत उनकै आत्मनिर्णयका आधारमा भएको थियो । उनी स्वविवेकमा देशको सीमा सुरक्षार्थ खटिएका थिए । उनीसँग कसैको झन्डा वा नारा थिएन । थियो त मुटुभित्र चन्द्र–सूर्य अंकित झन्डा र मस्तिस्कमा राष्ट्रभक्तिको कठोर प्रतिबद्धता । उनको सहादत केवल नेपाल आमाको अस्मिता रक्षार्थ थियो । कुनै अभिष्ट वा कुनै आंकाक्षा भन्दा पनि मात्र राष्ट्रभक्तिको अनुपम आर्दश थियो । यसर्थ उनी शहिदहरूको सूचीमा पनि अग्रपङ्तीमा पर्दछन् । त्यस्ता वीर योद्धालाई कोटिकोटि सलाम अनि श्रद्धाञ्जली । र, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना ।
गोविन्द गौतमको हत्या अक्षम्य अपराध हो । यो राष्ट्रियता अनि सार्वभौमिकताविरुद्धको कदम हो । सप्तरी र कञ्चनपुरका यी दुई घटनाप्रति स्पष्ट धारणा राख्न नसक्ने वा यी घटनाको विरुद्धमा उभिन नसक्ने जुनसुकै शक्ति, व्यक्ति र समूहहरू राष्ट्रियता र लोकतन्त्रविरोधी शक्ति हुन् ।
(अनलाइनखबरबाट)
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply