उज्याला महिलाका उज्याला कथा
दृढ, निडर र परिवर्तनकारी सोच भएका मानिसहरूले नै अन्ततः समाजलाई सही दिशातिर बढाउन उत्प्रेरकको भूमिका खेलेका हुन्छन् । नेपाली समाजलाई अग्रगतितिर उन्मुख तुल्याउन र देश र जनताका अनुहारमा उज्याला विम्बहरू छर्न पुरुषहरू मात्र होइनन्, महिलाहरूले पनि अग्रलहरमै रहेर काम गरेका छन् । त्यस्ती महिलाहरूलाई ‘समाजको उज्याला अनुहार’ को संज्ञा दिन कुनै कन्जुस्याइँ गर्नु उचित नहोला ।
समाजका तिनै केही उज्याला अनुहार भएकी महिलाहरूको संक्षिप्त जीवनवृत्त समेटिएका छन्– ‘प्रेरणादायी महिलाहरू’ भित्र । नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य मोतीदेवी श्रेष्ठको नाममा स्थापित मोतीदेवी स्मृति केन्द्रले नेपाली समाजका केही प्रेरणादायी महिलाहरूलाई सम्झिने प्रयत्न गरेको छ । प्रेरणादायी महिलाहरूको चौथो अंकका रूपमा आएको यो पुस्तकभित्र संघर्षका अनेक मोडहरू छिचोल्दै आफ्नो क्षेत्रमा स्थापित १६ महिलाहरूका संघर्षशील जीवनकथा उतारिएको छ ।
राणा शासनको अन्त्य भएपछि विराटनगर जुट मिलका मजदुरहरूले संगठित हुन चाहे । तर, संगठित हुन खोज्ने मजदुरहरूलाई व्यवस्थापनले निष्कासन ग¥यो र जुटमिल पनि बन्द गरियो । तर, बन्द मिल खुलाउन र निष्कासित मजदुरहरूलाई पुनर्बहाली गर्न माग गर्दै केही महिला आमरण अनशनमा बसे । तिनैमध्ये एक थिइन्– नन्दा नेपाल । २७ दिनसम्म अनशनमा बसेपछि व्यवस्थापन पक्षलाई मजदुरहरूको माग पूरा गर्न करै लाग्यो । तिनै संघर्षशील नारीको जीवनगाथाबाट नै ‘प्रेरणादायी महिलाहरू’ को अध्याय सुरु भएको छ ।
प्रायः महिलाहरूलाई डरपोक, अबला, निडर स्वभाव नभएकी पात्रका रूपमा लिने वा हेर्ने गरिन्छ । तर, अन्नपूर्ण कुँवर भने पृथक् महिला हुन् । उनी महिलाप्रति राख्ने यस्ता दृष्टिकोणलाई चिर्न सफल भइन् । सैनिक अस्पतालमा नर्सका रूपमा लामो समय काम गरेकी कुँवर प्यारासुटबाट हाम फाल्ने पहिलो महिलाकी रूपमा चिनिन्छन् । सैनिक अस्पतालमा कार्यरत रहेकै बेला उनले आफ्नो इच्छा पूरा गर्न प्यारासुटबाट हाम फालेकी थिइन् । सुदूरपश्चिमको कैलालीका शारदा भट्ट यस्ती निडर महिला हुन्, जसले पञ्चायतविरोधी आन्दोलनका क्रममा थुप्रै कष्ट भोगिन् । तर, उनले आफ्नो चिनारी भने मुक्त कमैया आन्दोलनमा सघाउने महिलाका रूपमा बनाएकी छिन् । बहुदल आएपछि धनगढीमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको उपस्थितिमा आफूले लिनुपर्ने ३० हजारको तमसुक च्यातेर उनीहरूलाई ऋणमुक्त तुल्याएको घोषणा गरेकी थिइन् । त्यसपछि कमैया मुक्ति आन्दोलन सुदूर र मध्यपश्चिमका जिल्लाहरूमा फैलियो र ०५७ सालमा सरकारले नै कमैया मुक्त घोषणा ग¥यो ।
कुँवरजस्ती निडर र भट्टजस्ती सामाजिक परिवर्तनमा अहं भूमिका खेल्ने महिलाहरूजस्तै चन्द्रकला बरालको जीवनयात्रा पनि कम चानचुने छैन । बरालले कम्युनिस्ट राजनीतिमा लाग्दा भोग्नुपरेका अनेक हन्डरहरूलाई केलाउने काम गरिएको छ । यसरी नै प्रसिद्ध चित्रकार शारदा चित्रकार, रेडियो नेपालको कृषि कार्यक्रममा बूढी आमैको भूमिका निर्वाह गरेर ग्रामीण क्षेत्रका किसानहरूमा कृषि क्षेत्रका अनेक पक्षहरूबारे चेतनामूलक जानकारी बाँड्ने लक्ष्मी भुसाल, सशक्त महिला नेतृ मीना पाण्डे, महिला उद्यमी दिव्यतारा तुलाधर, कृषि क्षेत्रको विकासमा अनुकरणीय काम गर्ने प्रमिलादेवी यादव, राष्ट्रिय समाचार समितिको पहिलो महिला महाप्रबन्धक निर्मला आचार्य, बादी समुदायकी महिला नेतृ उमा बादी, सफल उद्यमी कल्पना लिम्बू, सामाजिक अभियन्ताद्वय राधा पौडेल र चरीमाया तामाङ, ओलम्पिकमा सहभागी पहिलो खेलाडी संगीना वैद्य र सातै देशका शिखरहरू आरोहण गरेकी सुस्मिता मास्केको जीवनगाथाले ‘प्रेरणादायी महिलाहरू’ भरिएको छ ।
कृति : प्रेरणादायी महिलाहरू
विधा : जीवनकथा
सम्पादन : ममता गिरी, अमिका राजथला र रामकला पौडेल
प्रकाशक : मोतीदेवी स्मृति केन्द्र
पृष्ठ : ११६
मूल्य : रु. १५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply