कवितात्मक अनुभूति
कुनै घटना वा सन्दर्भ–विशेषले गहन ढंगमा स्पर्श गर्दा नै लेखन प्रस्फुटन हुने हो । आखिर, लेखनको स्रोत नै सामाजिक, राजनीतिक जीवनमा उत्पन्न घटना र क्रियाकलाप नै हुन् । स्रष्टा नर्मदेश्वरी सत्यालको लेखनलाई पनि घटनाक्रमहरूले स्पर्श गरिरह्यो, पटकपटक । खासगरी, निबन्ध र समालोचना विधामा कलम चलाउँदै आएकी सत्यालले कविता लेखनका विषयवस्तु पनि मुख्य–मुख्य राजनीतिक सन्दर्भहरूबाटै टिपेका छन् । उनको कविताकृति ‘नयाँ नेपालको चित्र’ भित्र समाविष्ट कविताहरूका धरातल दैनन्दिन जीवनमा नेपाली जनताले भोग्नुपरेका राजनीतिक, सामाजिक घटनावस्तु हुन् ।
पछिल्ला दुई दशक नेपाली राजनीतिमा धेरै नै उथलपुथलमय रह्यो । माओवादीले हिंसात्मक जनयुद्ध थालेयता देशमा धेरै राजनीतिक परिवर्तनहरू भए । देशमा गणतन्त्र आयो, संविधान आयो । तर, अथक प्रयत्न र सकसपूर्ण तरिकाले गणतन्त्रको बिहानी झुल्किएको हो । कवयित्रीले ‘भावना नकुल्चिएस्’ देशमा गणतन्त्र स्थापना भएको दिन लेखेकी थिइन् । देशले गणतन्त्रको दिशामा पाइला चाल्ला वा नचाल्ला भन्ने द्विविधा मौलाइरहेकै बेला उनले लेखिन्, ‘नमार फुल्न लागेका बोटहरू÷जेठको धूपमा तात्तिएका÷गोड्ने बेलाका मकैहरू÷म तातो हावासँग वर्षात् कुरेर÷बानेश्वर चोक र मण्डला ओहोरदोहोर गर्दै÷गणतन्त्रको नारा घन्काइरहेछु ।’
सदियौंदेखि नेपाली नारीहरू विभिन्न आवरणका उत्पीडन, अन्याय र दासताका सिक्रीले बाँधिँदै आए । कहिले धर्मका नाममा, कहिले सामाजिक सद्भाव कायम राख्ने क्रममा र कहिले प्रतिष्ठाको लडाइँमा उत्पीडनको सिकार हुँदै आए । तीजलाई अधिकांश नेपाली नारीहरूले पवित्र र महान् चाडका रूपमा मान्छन् । तर, कवयित्रीले भने तीजका नाममा महिलामाथि हुने उत्पीडनको चिरफार गरेकी छन्, ‘म र तीज पञ्चमी’ मा । ‘अजिंगर’ मार्फत भने निरंकुश सत्ताप्रति उनको कटाक्ष रहेको छ । निरंकुश सत्तातन्त्रलाई अजिंगरसँग तुलना गर्दै उनी लेख्छिन्, ‘नाग सन्तान हुँ रे भनी÷नित्यपूजा गरून् भन्छ÷अजिंगर भनेको अजिंगर नै हो÷उसको आफ्नै सुर हुन्छ ।’
‘नयाँ नेपालको चित्र’ मा भने जातीय, धार्मिक, सांस्कृतिक तहमा देखिएको फुट र तनावले सिर्जित परिस्थितिको सहज व्याख्या गरिएको छ । एउटै भावना, सूत्र र सद्भाव बोकेर बाँचिरहेका नेपालीहरूमा जातीय छेकबार तेस्र्याएर आफ्नो स्वार्थ लुट्ने समुदाय र वर्गप्रति यो कविताले कटाक्ष गरेको छ । ‘उन्मादी छाल नउठे हुन्थ्यो’ मा सत्ताको उन्मादले निम्त्याएको कठिन र जटिल परिस्थितिको बयान गरिएको छ । खासगरी, युद्धकालीन परिवेश भोगेर आएकाहरूले सत्ता सम्हाल्दा जन्मिएका बेथितिहरूलाई कोट्याउन यो कविता सक्षम देखिएको छ, ‘उन्मादका मुना भाँच्नेहरूलाई÷तपाईंले माली नबनाए हुन्थ्यो ।’
विगतमा राजनीतिक परिवर्तन चाहनेहरूले त्यसको प्राप्तिका लागि लडे । र, सफलता पनि हात पारे । परिवर्तनकारी आन्दोलनमा जुन–जुन सपनाहरू सजाएर जो–जो लडेका थिए, परिवर्तनपछिका दिनहरूका नाइकेहरूले देखाएका रवैया र गलत हर्कतले जनपंक्तिमा निराशा उत्पन्न हुन पुग्यो । ‘छाउँदै छ निराशाले’ गणतन्त्र प्राप्तिपछि जनतामा छाएको निराशाजन्य आवाजको प्रतिनिधित्व गर्ने कविता हो । ‘नेपाल बन्द’ ले भने फेसनकै रूपमा मौलाउँदै गइरहेको बन्द–संस्कृतिमाथि सटीक व्यंग्य प्रहार गरेको छ । प्रजातन्त्र आएपछि प्रायः सबैले आफ्नो राजनीतिक तुष्टि पूरा गर्न बन्द गर्न थाले र पछिल्लो समय त यो एउटा फेसनकै रूपमा मौलायो । यो कविताले त्यही गलत प्रवृत्तिलाई प्रहार गर्न चाहेको छ ।
मूलतः सत्यालका कविताले राजनीतिक तहमा जमेर बसेका कुडाकर्कटहरूलाई सफा गर्ने हेतुले कतै व्यंग्यमिश्रित त कतै सिधै प्रहार हुने गरी राजनीतिक विषयका कविताहरूलाई यो कृतिभित्र स्थान दिएका छन् । त्यसका साथै, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रका विसंगत पक्षहरूमाथि पनि उनको नजर पोखिएको छ । कवितामा विम्बको भाषा हो तर सत्यालले विम्बमा भन्दा पनि सिधा सपाट रूपले आफ्नो कवितात्मक अनुभूति प्रकट गरेका छन् ।
कृति ः नयाँ नेपालको चित्र
विधा ः कविता
कवयित्री ः नर्मदेश्वरी सत्याल
प्रकाशक ः आकृति प्रकृति प्रकाशन
पृष्ठ ः ९५
मूल्य ः रु. १७५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply