प्रकृतिको मीठो बयान
प्रतीक्षाका पलहरू गुजार्नुलाई निकै नै कठिन मानिन्छ । तीव्र भावावेग, छटपटी र आशाका नौला किरणहरूबीच रुमलिइरहेका हुन्छन्, प्रतीक्षामा बस्ने मानिसहरू । तर, प्रतीक्षाको घडी सकिँदा प्राप्त हुने हर्षविभोरमय क्षणहरूको कल्पनै नै नगरौं । त्यो यति समृद्ध, मीठासयुक्त र उल्लासले भरिएको हुन्छ, जसको पनि कल्पना गर्न मुस्किल पर्छ ।
कवयित्री निर्मलादेवी तिम्सिनाले जीवनमा प्रतीक्षा सँगाल्ने बाँच्नेहरूका भावनालाई सर्लक्कै टिपेर आफ्नो काव्य–मञ्जरीमा सजाएकी छन् । उनको प्रथम काव्यकृति ‘भोकी आमा’ उन्मुक्त छन्दमा लेखिएका कविताहरूको सँगालो हो र जसमा नेपाली समाजमा नारीहरूले भोग्नु र झेल्नुपरेका दैनन्दिन समस्या, पीडा र छट्पटीहरूको गाथा उल्लेख छन् ।
‘झुटो’ ले महŒवाकांक्षी सोच र चिन्तनको पोखरीमा पौडिने आम मानिसहरूका प्रवृत्तिलाई उजागर गर्न चाहेको छ । भौतिक सुख र सुविधाका पछि दौड्नु प्रायः प्रत्येकजसो मानिसहरूको स्वभाव र चरित्र नै हो । तर, कतिपय मानिसहरू भौतिक सम्पन्नताले घेरिएपछि आफ्नो धरातल नै बिर्सन पुग्छन् । आफूले हिँडेर आएका गोरेटाहरूलाई भुल्न चाहन्छन् । ‘दम्पती’ भने पारिवारिक जीवनको शब्दचित्र उतार्ने कविता हो । पारिवारिक जीवनलाई गति दिन दम्पत्तिहरूका भूमिका अहं रहँदै आएको छ, वर्षौंदेखि । दम्पतीबीचको सम्बन्ध, आत्मीयता र सौहार्दतालाई उनले रथको दुई पांग्रासँग तुलना गरेकी छन् र एउटा पांग्रा टुट्दा रथले गति लिन नसक्ने सत्यबोध गराएकी छन् ।
कुनै पनि राष्ट्रले विकासको दिशा समात्नुमा, असल शासन स्थापना हुनुमा र शान्ति, स्थिरता र अमनचयन कायम हुनुमा त्यस देशमा असल शासकको आवश्यकता पर्दछ । ‘असल शासक जन्माइदेऊ’ मा कवयित्रीले त्यही अपेक्षा सँगालेकी छन्, असल शासक नभई देशले उन्नतिका खुट्किलाहरू उक्लन सक्दैनन् । ‘मेरो गाउँमा ती दिन’ मा उनले ग्रामीण भेगको सुन्दर चित्रण गर्दै वनजंगलमा कराउने अनेकथरी पन्छीहरू र जंगली जनावरप्रति आफ्नो सद्भाव र सम्झना पोखेकी छन् । गाउँमा छँदा पन्छीहरूका आवाज सुन्दा र विभिन्न जनावरहरूलाई देख्दा मनभित्र उत्पन्न हुने तरंगलाई यो कवितामा पोखेकी छन् ।
नारीलाई विभिन्न उपमाहरूले सुशोभित तुल्याउँदै आएका छन्, सदियौंदेखि । ‘नारी’ कवितामा उनले परम्परादेखि नारीलाई भिराउँदै आएका उपमाहरू टिपेर नारीलाई सृष्टिको सुन्दर रचनाका रूपमा अथ्र्याएकी छन् । यो कविताले नारीमाथि हुने शारीरिक, सामाजिक, पारिवारिक, आर्थिकलगायत तमाम शोषण र उत्पीडनहरूप्रति विद्रोह भाव प्रदर्शन गर्न खोजेको छ । र, आफूमाथि सदियौंदेखि हुँदै आएका शोषण र उत्पीडनविरुद्ध नारीहरू सल्बलाएका पक्षलाई पनि उठाउन खोजिएको छ । ‘भोकी आमा’ ले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ । जब देशमा अशान्ति मच्चिन्छन्, सीधासादा नेपालीहरूले त्यसको पीडा र कहर भोग्नुपर्दछ, त्यतिबेला आमाहरूले सन्ताप झेल्नुपर्दछ । आमा यस्ती पात्र हुन्, आफ्ना सन्तानहरूका सम्पूर्ण दुःख, पीडा र संवेदनालाई पिएर बाँच्नुपर्दछ । यो कविताले राष्ट्रिय भावनालाई कोट्याउने काम गरेको छ ।
‘अमरापुरी नेपाल’ मा कवयित्रीले नेपालको प्राकृतिक सौन्दर्य, विभिन्न वनस्पति र वनौषधिहरू, पन्छीहरूका बयान गर्दै नेपाललाई स्वर्गसँग तुलना गरेकी छन् भने ‘मेरो देशको माटो’ मा भने राजनीतिक द्वन्द्वले निम्त्याएको कठोर र अशान्त परिवेशको चित्रण गरिएको छ । मूलतः कवयित्री निर्मलाले आफ्ना अधिकांश कवितामा देशभित्रका प्राकृतिक सम्पदाहरूको मीठासयुक्त वर्णन, नारीमाथि समाजले राख्दै आएका दृष्टिकोणका साथै समाजका विभिन्न प्रवृत्ति र पात्रहरूलाई आफ्नो काव्य–सिर्जनाको धरातलमा सजाएकी छन् ।
कृति ः भोकी आमा
विधा ः कविता
कवयित्री ः निर्मलादेवी तिम्सिना
प्रकाशक ः रत्नसागर प्रकाशन
पृष्ठ ः ७२
मूल्य ः १००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply