मान्छेका कथा
युवा स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ को निबन्धहरूले आजका मानिसहरूका निर्मम मानसिकताको सटीक, तीक्ष्ण र सूक्ष्म रेखांकन गर्ने क्षमता राख्छन् । विदितै छ, आधुनिकताको बढ्दो उपस्थिति र चलखेलले सामाजिक, पारिवारिक, सांस्कृतिक हरेक तह र संरचनालाई बिथोलिरहेको छ र नैतिक मूल्य र मान्यताहरू स्खलित हुने प्रक्रिया पनि तीव्र छ । र, वर्तमान पुस्ताका जल्दाबल्दा सर्जक रोदनका निबन्धहरू मानिसका विचार, व्यवहार र चरित्रहरूमा आएका परिवर्तन र त्यसले निम्त्याएका समस्याहरूलाई केलाउने प्रयत्नमा अग्रसर देखिन्छन् ।
‘भनौं कि नभनौं’ नयाँ निबन्ध कृति ल्याएका रोदनले सोही निबन्धमा सामाजिक र व्यक्तिगत रूपमा उठ्ने गरेका नैतिक सवालहरूप्रति औंला उठाएका छन् । निश्चय नै आजको समाज निकै जटिल र दुर्बोध्य छ र झन्झन् जटिल बन्दै गइरहेको छ । पुँजीवादी आधुनिकताको चंगुलमा फसेको समाज, परिवार र व्यक्तिहरूमा व्यक्तिवादी प्रवृत्ति र मोहले जह्रा गाड्दै गइरहेको छ । आफ्नो निहित स्वार्थ, सीमित उद्देश्य र व्यक्तिगत अपेक्षाहरू पूरा गर्ने होडबाजीमा मानिसभित्रका ‘मनुष्यपन’ क्रमशः विलीन हुँदै गइरहेका छन् । रोदनले निबन्ध–लेखनमार्फत मानिसहरूमा व्याप्त स्वार्थ, लालच, संवेदनहीनता, सुखसयलको जिन्दगीप्रति तीव्र मोहजस्ता पक्षहरूलाई छाँट्ने काम गरेका छन् ।
रोदनका हरेकजसो निबन्धहरू मान्छेकै कथा गुन्गुनाउन रुचाउँछन् । टर्कीको विमानस्थलमा केही समय गुजार्दा मानिसहरूमा व्याप्त दौडधुप, असहयोगी भावना, अरूप्रति दर्साइरहेको बेवास्ताजस्ता पक्षहरूलाई उनले ‘कहाँ देख्नु आफैंलाई’ रचनामार्फत उजिल्याउन चाहेका छन् । संसारका जुनसुकै कुनामा बसे पनि आखिर मानिस भनेका मानिस नै हुन् । तर, मानिसहरूमा हराउँदै गएको अपनत्वपन, पराई भावना र स्वार्थी मनोवृत्तिलाई उनले एउटा विमानस्थलमा बस्दा टिपेका छन्, सहजै । त्यसो त, यात्रा–अनुभूतिलाई पनि उनले निबन्ध लेखनको विषय बनाएका छन् । यसबाहेक ‘नर्थ ब्रिजका नौरंगी दिनहरू’, ‘क्याम्ब्रिजको फुर्सद’, ‘आफ्नो भनेको आफ्नै’ र ‘सेन्टजोका डेबिट’ विदेशी भूमिमा विचरण गर्दा उत्पन्न भएका अनुभूतिहरू हुन् रोदनका । अरूका निम्ति सामान्य लाग्ने क्षण वा घटना–सन्दर्भलाई निबन्धको धागोमा उन्ने खुबी उनका यी निबन्धहरूमा देखिन्छन् ।
जीवनका आफ्ना आदर्श व्यक्तित्वको अवसान हुँदा त्यसले कसलाई पो नरन्थन्याउला र ? रोदनले पनि प्रसिद्ध साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको दुःखद अवसानबाट उत्पन्न पीडालाई मार्मिक रूपले पस्किएका छन् । ‘जित्ने कृष्णचन्द्र’ मा उनी एक स्रष्टाको अवसानले यति पिरोलिएका छन्, त्यही पिरलोका अंश–अंश यो निबन्धमा छताछुल्लै भएका छन्, ‘जित तपार्इंकै भयो । बधाई छ कृष्णचन्द्र दाइ । जित सगरमाथाजत्तिकै सत्य छ । यत्ति हो कि बयासी सालको नागपञ्चमीको दिन खुलेको क्यालेन्डर फेरिफेरि पल्टिरहनुपर्दैन अब । क्यालेन्डरमा सत्र जेठ सतसट्ठीको टाँचा लागेर बन्द भएको छ ।’ त्यस्तै, अर्का सर्जक राममणि रिसालको अवसानमा ‘आँसुको अक्षरमा’ र डा. बिहारीकृष्ण श्रेष्ठको स्मृतिमा ‘बीउ रोप्ने डाक्टरसाप’ र क्याप्टेन जनकबहादुर राणालाई सम्झिएर लेखिएको ‘क्याप्टेनका कलम’ जस्ता निबन्ध समाजमा आफ्नै तवरले, आफ्नै क्षेत्रमा योगदान दिएका व्यक्तिहरूप्रति स्तुत्य–गान गाउन सक्षम छन् ।
अन्ततः रोदनको निबन्ध लेखनको विशिष्टता केमा झल्किन्छ भने, उनी आफूभित्र गढेर बसेका अनुभव, अनुभूति र भावनाका खिलहरूलाई व्यञ्जनामूलक संकेत शैलीमा रोचक र पारदर्शी रूपले कोट्याउन चाहन्छन् । ताकि, खिल निकालेपछिका आनन्द र हर्षविभोरता पाठकहरूले पनि सहजै महसुस गर्न सकून् ।
कृति ः भनौं कि नभनौं
विधा ः निबन्ध
निबन्धकार ः श्रीओम श्रेष्ठ ‘रोदन’
प्रकाशक ः तन्नेरी प्रकाशन
पृष्ठ ः १२२
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply