रागिनीलाई नसक्ने भए कसैले
काठमाडौ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले करोडौं मूल्य पर्ने प्रतिष्ठानको जग्गा आफ्नै कार्यकालमा लिजमा दिने इच्छा राखेपछि चुलिएको विवाद अझै टुंगिएको छैन । कुलपति र अरू पदाधिकारीबीच विवाद चुलिँदै जाँदा कुलपति हटाउने र सदस्य सचिव हटाउनेबीचको विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु पुगेको थियो । तर, प्रधानमन्त्री कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छानबिनका लागि पठाएको बताइन्छ ।
आफ्नो काममा बाधक देखिएपछि कुलपति उपाध्यायले सदस्य सचिव नवराज भट्टलाई हटाउन निकै प्रयत्न गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष डेलिगेसन जाने कामसमेत उपाध्यायले गरिन् । तर, कतैबाट पार नलागेपछि अन्ततः आफ्ना समर्थक प्राज्ञहरूलाई उचालेर प्रधानमन्त्रीसमक्ष उजुरी हाल्न लगाइन् । केही महिनाअघि नै कुलपति उपाध्यायले प्राज्ञहरू नगेनसिंह ठकुरी, धनु याख्खा, सुबोधचन्द्र दास, कुमार आले र एरिना ताम्राकारलाई उचालेर प्रधानमन्त्री कार्यालयमा ‘सदस्य सचिवलाई हटाइ पाऊँ’ भन्ने व्यहोराको निवेदन हाल्न लगाइन् ।
सदस्य सचिव हटाइ पाऊँ भन्ने व्यहोराको निवेदन प्रधानमन्त्री कार्यालयमा परेको थाहा भएपछि एमालेसमर्थक प्राज्ञहरू पनि जुर्मुराए । एमालेसमर्थक उपकुलपति शारदा चित्रकार, सदस्य सचिव नवराज भट्टलगायत नौजना प्राज्ञहरूले ‘कुलपति हटाइ पाऊँ’ भन्ने व्यहोराको निवेदन त्यसलगत्तै प्रधानमन्त्री कार्यालयमा हाले । कांग्रेससमर्थक प्राज्ञहरूलाई हातमा लिएर कुलपति उपाध्यायले त्यस्तो कदम चालेपछि त्यसको प्रत्युत्तरस्वरूप आफूहरूले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको एक प्राज्ञले बताए ।
तर, प्रधानमन्त्री कार्यालयले भने कुलपति हटाउनुपर्ने व्यहोराको निवेदनलाई त्यत्तिकै थन्क्याएर सदस्य सचिव हटाउनुपर्ने व्यहोराको निवेदन मात्र संस्कृति मन्त्रालयमा पठाएको बताइन्छ । प्रधानमन्त्रीले पनि प्राज्ञहरूसितको भेटमा कसैलाई पनि सिधै हटाउन नमिल्ने जवाफ दिएको बताइन्छ । सो प्रतिष्ठानको प्रमुख संरक्षकमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । तर, प्रधानमन्त्री कार्यालयले प्रक्रिया अघि बढाउन कांग्रेससमर्थक प्राज्ञहरूले दिएको निवेदनलाई चाहिँ संस्कृति मन्त्रालयमा पठाउने र एमालेसमर्थक प्राज्ञहरूले दिएको निवेदनलाई लुकाउने काम गरेपछि एमालेसमर्थक प्राज्ञहरू भने आफ्नो निवेदनलाई बेवास्ता गरेको बताउन थालेका छन् ।
सो प्रतिष्ठानले चर्चिएको नक्सालस्थित १५ रोपनी जग्गा नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिने वा नदिने भन्नेबारे सुरुदेखि नै विवाद रहँदै आएको छ । कुलपति उपाध्याय दिनुपर्ने पक्षमा छन् भने उपकुलपति चित्रकार, सदस्य सचिव भट्टलगायत दिन नहुने पक्षमा छन् । तत्कालीन मन्त्री कृपासुर शेर्पाले सो जग्गा संगीत नाट्य प्रतिष्ठानलाई दिने निर्णय गरेपछि सो विवाद देखिँदै आएको छ । सोही विवादका कारण ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू विभाजित हुँदै आएका छन् र विवादकै कारण धेरै कामहरू ठप्प रहन पुगेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply