नैतिकता घोक्दाघोक्दै अनैतिक काम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानका लागि पदबाट राजीनामा दिएको सगर्व घोषणा गर्दै गत ९ गतेबाट ‘कामचलाउ’ बने । तर राजीनामा वक्तव्यमा उल्लेख गरिएको उनको झूटको पुलिन्दा र सगर्व सफल प्रधानमन्त्रीको घोषणाले भने उनका चाटुकारबाहेक अधिकांशलाई भने आश्चर्यचकित तुल्यायो ।
मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन गर्ने कपाली तमसुक गर्दै प्रधानमन्त्री बनेका प्रचण्डले कार्यकालमा मुख्य काम सम्पन्न गर्न असफल त बने नै, तथापि फास्ट ट्रयाक निर्माणमा स्वदेशी लगानी, लोडसेडिङ अन्त्य, चीनसँग ओबीओआर सम्झौतामा हस्ताक्षरजस्ता लोकप्रिय काम गरेको दाबी मात्रै गरेनन्, जाँदाजाँदै स्थानीय निर्वाचन गरेर सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याएको दाबीसमेत गरे । यथार्थमा ती सबै काम न उनले गरेका हुन् न उनको कार्यकालमा सुरु भएकै हो । फास्ट ट्र्याक स्वदेशी लगानीमा निर्माण गर्ने सुरुवातसहित शिलान्यास गर्ने काम आजभन्दा आठ वर्षपहिले अर्थात् २०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधकवकुमार नेपाल नेतृत्वको कार्यकालमा भएको थियो । स्वदेशी लगानीमा काम अघि बढाउने निर्णयसहित केपी ओली नेतृत्वको अघिल्लो सरकारले नै १० करोड बजेटसमेत विनियोजन गरेको थियो । जबकि प्रचण्डले राष्ट्रवासीका नाममा सम्बोधन गर्दा फास्ट ट्र्याक कसरी निर्माण हुन्छ भन्दै गलत नियतले प्रश्न गर्नेहरूलाई स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेर व्यवहारमै प्रमाणित गरेको झूटो दाबीसमेत गरे । त्यतिले नपुगेर दोस्रोपटक शिलान्यास गर्दै दोस्रै शिलालेख भए पनि लेखाउने काम गरे ।
त्यस्तै गत कात्तिकभित्र लोडसेडिङ अन्त्य गरिसक्ने तत्कालीन प्रधानमन्त्री ओलीले भारतबाट विद्युत् खरिद सम्झौता र प्रसारण लाइनसमेत विस्तार गरिसकेको तथ्यलाई ढाकछोप गर्दै सबै आफ्नै कार्यकालमा भएको दाबी गरे । जबकि अपुग ४ सय मेगावट विद्युत् खरिद सम्झौता सकेर प्रसारण लाइनमार्फत नेपाल भिœयाउने काम अन्तिम चरणमा पुगिसकेको थियो । कात्तिकसम्मको योजना भए पनि दाहाल साउनमै प्रधानमन्त्री बनेकाले विद्युत् प्राधिकरणको निर्देशकमा कुशल व्यवस्थापक कुलमान घिसिङलाई नियुक्त गरेर कार्यान्वयन सम्भव भएको हो । ओलीकै कार्यकालमा नेपालले चीनको वान बेल्ट वान रोडको अवधारणालाई समर्थन गर्दै दुवै मुलुकले सहकार्यसहित अघि बढ्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षरसमेत भइसकेको थियो । उक्त कामका लागि चीनले एमाले र ओलीलाई पत्र लेखेर धन्यवाद पत्रसमेत पठाएको तथ्यलाई नै भुलेर आफैंले त्यो काम पनि गरेको घोषणा गरे । त्यस्तै, निर्वाचन गराउने कार्ययोजना त झन् अघिल्लो सरकारकै घोषणाको निरन्तरता मात्रै होइन, एमालेसहित नागरिक समाजको निरन्तर दबाबको परिणाम थियो । पटकपटक सार्ने, टार्ने योजना बुन्दाबुन्दै कार्यकाल सकिन लागेर समयको चापले असम्भव भएपछि पहिलो चरणमा २५ प्रतिशत निर्वाचन सम्पन्न गराए । तर, बाँकी चार प्रदेशमा निर्वाचन नै अनिश्चित हुने गरी दुईपटक निर्वाचन सारेर मध्य वर्षामा कामचलाउपछि फेरि निर्वाचन गराउने कुरा गरिहेकै छन् ।
त्यसो त उनले राजीनामा वक्तव्यमा दाहालले झैं घर बनाउने काम अरूले गरे पनि आफूले रंग्याएकाले आफैंले घर निर्माण गरेझैं झूटा दाबीहरू गरे । जबकि, शान्ति प्रक्रियासँग महŒवपूर्ण रूपमा जोडिएको द्वन्द्वकालमा मारिएका पीडित परिवारलाई राहत, क्षतिपूर्तिसँगै न्याय दिन संक्रमणकालीन कानुन ल्याउने काममा उनले सिन्कोसमेत भाँच्ने काम गरेनन् । आफ्नो कार्यकालमा पार्टीका नेताकार्यकर्तालाई कुनै न्यायको अनुभूति दिलाउन नसक्ने प्रचण्डले सत्ताबाट बाहिरिएपछि फेरि त्यही कुरालाई राजनीतिक नारा बनाउने धुत्र्याइँ प्रस्तुत गरेका छन् ।
सारमा पहिलो संविधानसभा निर्वाचनमा उत्तेजनापूर्वक निर्णय गर्दा उनी जसरी असफल बने, त्यस्तै असफलता उनले कार्यकालमा बेहोर्नुप¥यो । पहिलो कार्यकालमा प्रधानसेनापति रुक्मांगद कटुवाललाई हठात् बर्खास्त गर्ने निर्णय, पशुपतिका भट्ट हटाउने निर्णय गर्दा उनले जसरी बल्ड्याङ खानुप¥यो, त्यस्तै नियति कार्यकालमा बेहोर्नुप¥यो । प्रहरी प्रमुख (आईजीपी) नियुक्तिमा प्रचलित कानुन उल्लंघन गर्दा अदालतले रोक लगाएपछि तेस्रो व्यक्ति रोज्नुपर्ने बाध्यता प्रसंग मात्रै होइन, स्थानीय तहको संख्या बढाउने निर्णय, प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेजस्ता निर्णय अदालतबाटै बदरभागी भएर अन्तिममा प्रतिपक्षीसँग झुकेर सम्झौता गर्दै फिर्ता लिन बाध्य हुनुप¥यो । त्यति मात्रै होइन, संविधान संशोधनदेखि संसद्मा प्रस्तुत भएका हरेक प्रस्ताव परिपक्व नहुँदा प्रचण्डले माफीसमेत मागेर फिर्ता लिनुपरेका दृष्टान्तहरूसमेत उनकै कार्यकालमा देखिए । सत्ताको चरम दुरूपयोग गर्दै पुत्रलाई राष्ट्रपतिबाट पदकमार्फत सुशोभन र पुत्री रेणुलाई जिताउन भरतपुरमा कांग्रेससँग अप्राकृतिक गठबन्धन मात्रै होइन, लोकतन्त्रकै खिल्ली उडाउने गरी मतपत्र च्यात्नेसम्मको काम भएका घटनाले प्रचण्ड फेरि नेपाली सरकारको नेतृत्व कालभरि नेपालको राजनीतिमा असफल खलनायक पात्रकै रूपमै दर्ज हुन पुगेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply