प्रधानमन्त्री किन झोला फ्याँकेर भागे ?
नेकपा (एमाले) को पक्षमा आएको लहरलाई रोक्न विभिन्न प्रकारका हतकण्डा अपनाइएका छन् । सरकारमा एमाले छैन, एमालेका विरुद्ध अनेक प्रकारका कुप्रचारको बाढी चलाइएको छ । तर, महान् जनता यति सचेत भइसकेका छन् कि एमालेले पहिलो चरणको निर्वाचनमा प्रमुख पार्टीको हैसियत प्राप्त गरेको छ । पहिलो चरणको निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ मा एमालेले आफूलाई पहिलो हैसियतमा स्थापित गरेको छ । बलियाबलिया हुँ भन्ने सबै सरकारी पार्टी एमालेविरुद्ध मिलेर आए । तर उनीहरू एमालेका कम्मरकम्मरभन्दा माथि आएको देखिएन । सरकारमा रहेका सबै पार्टी एकजुट नभएको भए त उनीहरूको शर्मनाक हुन्छ । मिलेरै आउनुपर्छ । मिलेर आउँदा पनि हुने भनेको कम्मरसम्म मात्र हो । हाम्रा प्रतिनिधिहरूले भ्रष्टाचार गर्नेछैनन् । चुनाव जितिसकेपछि हिजोको प्रतिस्पर्धालाई एमालेले महŒव दिँदैन । जहाँ एमालेले जितेको छ, त्यहाँ विपक्षी साथीहरूले पनि अबीरजात्रा गरे हुन्छ । खुसी भए हुन्छ, काम पनि गर्नुपरेन, विकास पनि हुन्छ । कुनै भेदभाव, पक्षपात गरिनेछैन । हामी आफ्ना निम्ति होइन, देशका निम्ति, ठाउँका निम्ति, सबैका निम्ति काम गर्छौं ।
स्थानीय निकायमा जनप्रतिनिधि ल्याउन हामीले लामो समयसम्म संघर्ष गर्नुप¥यो । कहिले देहलाई हिंसामा धकेलियो, कहिले देशलाई तानाशाहीकरणतर्फ लगियो । कहिले संविधानसभालाई खेर फालियो । संविधानसभाको निर्वाचन भएर पनि त्यसलाई चार वर्षसम्म काम गर्न दिइएन, असफल बनाइयो । त्यस अवस्थामा नेकपा (एमाले) को पहल, प्रयास र अगुवाइका कारण आज संविधान बनेको छ । संविधान कार्यान्वयनको काम अघि बढेको छ । यो स्थानीय चरणको निर्वाचन एकै चरणमा हुनुपर्दथ्यो तर दुई चरणमा गरियो । पहिले चरणको सम्पन्न भएको छ । दोस्रो चरणको जेठ ३१ मा हुँदै छ ।
अवरुद्ध सदन हामीले खोलेका छौं । सदनको कामकारबाही चालू भएको छ । नीतिकार्यक्रममाथि छलफल भएको छ । बजेट प्रस्तुत भएको छ । तर अचम्म ! नीतिकार्यक्रम कसको भन्ने थाहा छैन । गत वर्ष हामीले नीति तथा कार्यक्रम ल्याउँदा राजीनामा पनि दिएका थिएनौं तर म्यादी सरकार भन्थे । अहिले त किटेर सात दिनका लागि तोकिएको छ । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको छ । नयाँ सरकार बनेको छैन । नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने, सरकार नै छैन । दुईचार दिनको कामचलाउ सरकारले अर्को आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट ल्याउने रमिता देखाइएको छ । हामीले भन्यौं– हामीलाई सरकारमा जान कुनै रहर छैन । समय आएपछि आफैं हामी सरकारमा मूलढोकाबाट जाऔंला, यस्ता जस्केलाबाट पस्ने काम एमालेको होइन । अनेक प्रकारका कागज, अनेक प्रकारका सम्झौता गरेर नचाहिने कुरा स्विकारेर सरकारमा जाने होइन । समय आएपछि एमाले आफ्ना बाहुबलमा, जनताको विश्वास लिएर सरकारमा जान्छ ।
हामीले चारपाँचवटा माग गरेका थियौं । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत, न्यायालयको सर्वोच्चताविपरीत सरकारले अत्यन्तै असहिष्णुताका साथ प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्यायो, यो गलत छ । सरकार हाम्रो कुरा सुन्न तयार भएन । अदालतले त्यसलाई रोक्यो । हामीले फिर्ता लिन भन्यौं । बल्ल अस्ति आएर फिर्ता लिन्छौं भन्यो । अहिले फिर्ता लिने कुरा हामीले उसैबेला भनेका थियौं, यो यत्रो तमासा नगरेको भए हुँदैनथ्यो । सकेसम्म तमासा ग¥यो, नसकेपछि अनि फिर्ता लिने रे । प्रदेश नम्बर ५ बाट तराई र पहाडका जिल्ला छुट्ट्याउने गरी संविधान संशोधन प्रस्ताव आयो । जनताले त्यो कुरालाई अस्वीकार गरे । हामीले भन्यौं– यो गलत भयो, यो फिर्ता लिनुस् । उहाँहरूले मान्नुभएन । पाँच महिनासम्म देशलाई तनावमा, द्वन्द्वमा, भिडन्तमा लैजानुभयो । अन्तिममा खुस्रुक्क फिर्ता लिनुभयो । हामीले भन्यौ– संविधान, कानुनविपरीतको स्थानीय तहको सीमा र संख्या फेरबदल गर्ने काम नगर्नुस् । स्थानीय तहको निर्वाचन चलिरहेको यस्तो बेला त झनै गर्न मिल्दैन ।’ तर, सरकारले एमालेले जित्ने ठाउँ कहाँकहाँ छ, त्यसलाई कसरी हार्ने बनाउन सकिन्छ, त्यसअनुसार सीमा काट्यो । हामीले यो गैरकानुनी छ, यसो नगर्नुस् भन्यौं । उहाँहरूले पाखुरा सुर्किनुभयो, बल देखाउनुभयो । हामीले भनेपछि हुन्छ, जे पनि हुन्छ भन्नुभयो । अस्ति अदालतले हावा खोलिदिएपछि फिस्रिक्क गयो । हामीले भन्यौं– यो संविधान संशोधन तपाईंहरू पास गर्न सक्नुहुन्न । ल्याउनुस् न त प्रस्ताव, छलफल गरौं । गत वैशाख १७ गते सरकारलाई भन्यौं– कार्यक्रममा भएको यो प्रस्ताव मतदानमा लैजाऔं । तर, त्यो प्रस्ताव खोकिलामा च्यापेर सरकार यस्तरी भाग्यो कि अहिलेसम्म यो प्रस्तावको अत्तोपत्तो छैन । बल्ल आएर सरकारले यसबारे चुनावपछि छलफल गरौंला भनेको छ । अर्थात्, सरकारले नचाहिने कुरामा देशलाई अल्झाएर, अल्मल्याएर समस्या खडा गरिराखेको छ ।
अहिले सहमतिका साथ देश चलाउनुपर्ने आवश्यकता छ । अहिले संविधानको कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहका निर्वाचन २ सय ८३ स्थानमा मात्र सम्पन्न भएको । ४ सय ६१ ठाउँमा बाँकी रहेको स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्नेछ । यसपछि प्रदेश र संघको निर्वाचन गराउनुपर्नेछ । यस्तो बेलामा एउटा सहमतिको वातावरण बनाएर जाऊ भनेर हामी आग्रह गरिराखेका छौं । बसको कार्यक्रम हो, थाहा नहुने गरी, कसको बजेट हो, थाहा नहुने गरी प्रधानमन्त्रीले किन झोला फ्याँकेर भागे थाहा छैन । हामीले भन्यौं– छाड्नुपरे पनि २० दिनपछि छाडे हुन्छ नि । अर्को कसलाई हतार भएको हो, त्यो पनि हामीलाई थाहा छैन । हतार गर्नेले पनि २०÷२२ दिन पर्खे हुन्थ्यो नि । यो बीचमा चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ । हिजोको मधेसी मोर्चा, अहिलेको राजपालाई अगाडि सारिएको छ । राजपाले यो आफैं गर्दै छ कि यो उहाँहरूको सल्लाह, साँठगाँठमा हुँदै छ ? मैले सोध्दा प्रधानमन्त्रीले भन्नुभयो– यो साँठगाँठमा होइन, उहाँहरू आफैं गर्दै हुनुहुन्छ । यदि त्यसो हो भने, ७ सय १९ स्थानीय तह तोकिएका ठाउँमा ७ सय ४४ किन बनाउनुभयो । ७ सय ४४ बनाउने बेला हामीलाई भन्नुभयो– यति गरेपछि मधेसी मोर्चा पनि चुनावमा आउँछ । मधेसी मोर्चा आउँछ भने भैगो नि त भन्यौं हामीले । उहाँहरूले बलजफ्ती वैशाख ३१ को चुनावलाई जेठ ३१ मा पनि सार्नुभयो । दुई चरण गर्नुभयो । यो दुई चरण किन भनेर सोध्यौं हामीले । यति गरेपछि मधेसी मोर्चा पनि आउँछ, त्यसकारण भन्नुभयो । त्यो गरेपछि मधेसी मोर्चाको अर्को वक्तव्य आउँछ । स्थानीय तहको संख्या र सीमाबारे अस्ति अदालतले स्थगन आदेश दिनुअघि यो केही मान्दैनौं भनेर मधेसी मोर्चाको वक्तव्य आयो । अब एउटा आशंका छ, सरकार यसै पनि डराएको छ, धर्मराएको छ । एमाले अलिक कजोर भनिएका र माओवादी अलिक राम्रा भनिएका रुकुम, रोल्पाजस्ता ठाउँमा उहाँहरूले छानीछानी पहिले गर्नुभयो चुनाव । ती ठाउँमा आफूले जितिन्छ, जितौं भनेर बेसरी हल्ला गर्ने र अनि दोस्रो चरणमा त्यसको प्रभाव पार्ने भनेर दुई चरणमा गरियो । तर, त्यसैमा एमालेले जितेपछि एमाले बलियो भएको ठाउँमा के गर्ने ? त्यसकारण, उहाँहरूलाई आतंक छ । अब राजपालाई अगाडि सारेर निर्वाचन पर सार्ने प्रयत्न, पर सार्नुको अर्थ नगर्ने प्रयत्न हुन सक्छन् । यस्ता षड्यन्त्रहरू भइरहेका छन् । म सत्तासीन पक्षलाई भन्न चाहन्छु, कहाँसम्म भाग्नुहुन्छ ? निर्वाचन त कुनै समय गर्नैपर्ला । एकथरीलाई लागेको छ, तराईमा एमाले छैन नि । तराईमा एमाले के छ, कति छ भन्ने कुरा चुनावको परिणाम हेरेपछि थाहा पाउनुस् । जनता एमालेबाहेक अरूसँग यति वाक्क भइसकेका छन् कि कहिले चुनाव हुन्छ र एमालेलाई जिताऔं भनेर जनता पर्खेका छन् । तराईका जनतालाई थाहा छ, यस वर्ष २० हजार घर बनाएर त्यहाँका घरबारविहीनलाई जिम्मा लगाउने योजना ल्याउने एमाले हो । राजमार्ग चौडा पारेर ६ लेनको बनाउने एमाले हो । मेची–महाकाली, पूर्व–पश्चिम रेल, हुलाकी राजमार्ग आफैं बनाउन बजेट छुट्ट्याउने एमाले हो । हुलाकी राजमार्गमा नयाँ ढंगले १० वटा स्मार्ट सिटी निर्माण गर्ने एमाले हो, त्यो तराईका जनतालाई थाहा छ । स्वास्थ्य बिमाको थालनी गर्ने, तराईका खेतमा सिँचाइको व्यवस्था गर्ने अभियान ल्याउने पार्टी एमाले हो भन्ने त्यहाँका जनतालाई थाहा छैन र ? अनि तीनतासेले तास फिटेझैं कुरा फिटेर एमालेका कामलाई पछाडि पार्न सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ । नेकपा (एमाले) कामको पार्टी हो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply