बढुवा रोकिँदा प्रहरीमा असन्तोष
काठमाडौं । करिब एक साताअघि एसएसपी यादवराज खनालले नेपाल प्रहरीबाट ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाए । उनले अवकाश हुँदै गर्दा फेसबुकमा मार्मिक पंक्तिहरू लेखे, जसले धेरैको मन छोयो । उनले लेखेका थिए, ‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधुपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए– सुटकेस बोकेर नेताहरूकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ । अब नेपालमा सुटकेस होइन, बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ । खाम मात्रै बोकेर कुद्ने वा केही बोक्न नसक्ने प्रहरी अधिकृतको हविगत के होला ?’
उनको यो मार्मिक भनाइ सरकारको गैरजिम्मेवारीका कारण मुखैमा आएको बढुवा नपाई अवकाशतर्फ धकेलिएका एसएसपी खनालले फेसबुकमा व्यक्त गरेका हुन् ।
खनालले लामो स्टाटस लेख्दै मुखैमा आएको बढुवाबाट विमुख भएपछि प्रहरी नेतृत्वको तीखो आलोचना मात्रै गरेका छैनन्, प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेपको पर्दाफाससमेत गरेका छन् । चार डीआईजीको पद खाली हुँदाहुँदै पनि बढुवा नभई अवकाश प्राप्त गरेका खनाल दोस्रो एसएसपी हुन् ।
चार डीआईजी पद खाली हुँदाहुँदै आफूलाई बढुवा नगरी घर जान बाध्य पारिएकोमा दुःख लागेको उल्लेख गर्दै खनालले लेखेका छन्, ‘चार सिट खाली हुँदाहुँदै पनि बढुवा ननिस्केको अवस्थामा आफ्नो समस्या दर्साउन गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई पटकपटक भेटेर अनि फोनमा कुरा गरें तर सबै नेतृत्वले लाचारयुक्त जवाफ दिएर पन्छिए ।’ उनले लेखेका छन्, ‘आदरणीय आफन्त नातेदार तथा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण मित्रजन, सर्वप्रथम त मैले नेपाल प्रहरीमा २९ वर्ष सेवा पूरा गरी हिजो मिति २०७४ साल जेठ १३ गतेबाट अवकाश प्राप्त गरेको जानकारी सबैमा गराउन चाहन्छु, मेरो यस २९ वर्षे प्रहरी सेवामा म कुनै पनि गुटउपगुटमा नलागी राजनीतिक स्वार्थ र दबाबभन्दा माथि उठेर व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनबाट मुक्त रही जनताको शान्तिसुरक्षा तथा अपराध–अनुसन्धानमा नै तल्लीन रहे । तर २०७३ साल फाल्गुन १ गतेबाट नै नेपाल प्रहरीमा चार डीआईजी पद खाली हँुदाहँुदै पनि (आफू रोलक्रमको नम्बर २ मा रहेको) नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेप, नेपाल प्रहरीलाई नेतृत्व गर्ने मन्त्रालय कानमा तेल हालेर बस्नु तथा नेपाल प्रहरीको नेतृत्वको लाचारीपनले गर्दा एकवर्षे सेवा अवधि हँुदाहँुदै पनि सेवानिवृत्त हुनु परेकोमा भने दुःख लागेको छ ।’
गृहमन्त्रीले बढुवा गर्न तयार छु भन्ने तर आईजीपी र सचिवले फाइल नै बढाउँदैनन्, मैले भनेको उनीहरू मान्दैनन् के गरूँ ?’ भनेर पन्छिने चलनले आफू समस्यामा परेको यादवको खुलासा छ ।
उनले २०७४ जेठ ९ गते न्यायालयको ढोकासमेत ढक्ढक्याए । अदालतले केही राहत दिए पनि कार्यान्वयनमा आएन । सम्मानित सर्वोच्च अदालतबाट ११ गते ‘बढुवासम्बन्धी प्रक्रिया उचित समयमा सम्पन्न नगरिँदा सम्भाव्य उम्मेदवारलाई अपूरणीय क्षति पुग्न जाने हँुदा कानुनबमोजिम प्रक्रिया पूरा गरी बढुवा प्रक्रिया अविलम्ब सम्पन गर्नू’ भन्ने आदेश आयो । तर सरकारले उक्त आदेश लत्याउँदै बोर्ड बसाउने कुनै जमर्को नै गरेन ।
पद रिक्त भएर योग्य उम्मेदवार रोलक्रममा व्यग्रतापूर्वक बढुवाको स्वाभाविक दाबी गरिरहेका बेला रित्तो हात घर फर्कनुपरेपछि यादव मात्र होइन, सबै अधिकारीलाई यस्तै पीडा हुन्छ ।
प्रहरी मुख्यालयले समयमै बढुवा गरी पदपूर्ति नगरिँदा त्यसको प्रभाव माथिबाट तल प्रहरी जवानसम्मको वृत्ति विकासमा परिरहेको छ । वृत्ति विकासलाई सर्वोपरि ठानी आफ्नो सम्पूर्ण जीवन प्रहरी सेवामा निष्ठापूर्वक समर्पित गर्ने प्रहरी कर्मचारीको मनोभावनामा त्यसको असर कस्तो परिरहेको होला भन्ने विषयमा नेतृत्व वर्ग सचेत र संवेदनशील भएको देखिँदैन ।
विगतमा पनि एआईजी पद नौ महिनासम्म रिक्त राखी मातहत दर्जाको बढुवा अवसर धरापमा पार्ने काम सुनियोजित रूपमै गरिए परिणामस्वरूप एक तह पदोन्नतिसहित निवृत्त हुने अवस्थामा पुगेका कैयन् प्रहरी कर्मचारी बेलाबेलामा दुखेसो गरिरहेका भेटिन्छन् ।
यता रिक्त पदमा तोकिएको अवधिभित्र बढुवा नगर्ने पदाधिकारीलाई दण्ड, सजाय वा जरिवाना गर्ने व्यवस्था गरिनुका साथै कारणवश बढुवा सिफारिस समिति बस्न नसकेको अवस्थामा रोलक्रममा रहेका पदाधिकारी सोही रोलक्रमबमोजिम नै स्वतः बढुवा हुने व्यवस्था प्रहरी ऐनमै उल्लेख गरी बढुवाको हकलाई सम्मान र संरक्षण गर्ने गरी कानुनी प्रावधान राखिनु आवश्यक रहेका विज्ञहरू बताउँछन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply