दोलखामा हत्याका अभियुक्त छाडिएपछि त्रास
काठमाडौं । ‘श्रीमान्जस्तै न्यायाधीश वा पहुँचवाला व्यक्तिका छोरा वा पति मारिएका भए यस्तै आदेश आउँथ्यो त हजुर ? अपराधीहरू यसरी नै खुलेआम उल्टै धम्की दिएर हिँड्ने थिए त हजुर ? यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला ? हजुरहरूले कल्पना पनि गर्न सक्नुहुन्न,’ अत्यन्तै पीडादायी यो भनाइ गौरीशंकर गाउँपालिका–१ जुँगु निवासी साङमाया तामाङको हो । उनी स्थानीय तह निर्वाचनका क्रममा गत वैशाख २६ गते राति नेकपा माओवादी केन्द्रका कार्यकर्ताले चारैतिरबाट घेरा हाली हत्या गरिएका कुलबहादुर तामाङकी पत्नी हुन् ।
सरकारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खड्का र विशाल खड्कासहित ४० अभियुक्तलाई पक्राउ नगर्दा र जिल्ला अदालत दोलखाका न्यायाधीशले आक्रमणमा संलग्न रहेको साबिती बयान दिँदासमेत साधारण तारेखमा छाडिएपछि न्यायको खोजीमा काठमाडौं आइपुगेकी साङमायाले आफूहरू निमुखा भएकै कारण अपराधीले छुट पाएको गुनासो गरिन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मृतक कुलबहादुरकी पत्नी साङमायाले भनिन्, ‘के हामीले न्याय नपाउने नै हो त ? हामीलाई तपार्इंहरूले न्याय दिलाउनुप¥यो भन्न आएका हौं ।’ कुलबहादुर पत्नी साङमाया आफ्ना नाबालक छोराछोरीसहित न्यायको खोजीमा सिंगो परिवारका साथ काठमाडौं आइपुगेकी छन् । उनका साथमा कुलबहादुरका पिता गोरे तामाङ, छोरी संगीता तामाङ, छोरा अशोक तामाङ, भाइहरू कर्णबहादुर तामाङ र जीवन तामाङ काठमाडौं आएका छन् । उनीहरूले परिवारको तर्फबाट न्यायका लागि अपिलसमेत गरेका छन् ।
पीडित परिवारले न्यायको सबै ढोका ढकढक्याउने जनाई कतैबाट न्याय नपाए सामूहिक आत्मदाह गर्ने जनाउसमेत दिएको छ । ‘सरकार ! अदालत सबैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरूलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मदाह गर्न बाध्य हुने जानकारी तपार्इंहरूमार्फत जानकारी गराउन चाहन्छौं । न्याय दिने कि हाम्रो परिवारलाई आत्मदाह गर्न बाध्य बनाउने ? एउटा निमुखा र निर्दाेष हामी तामाङ परिवारलाई साथ दिने कि प्रभाव, पहुँच र दबाबका आधारमा न्याय मार्ने भन्ने विषयमा तपाईंहरू सबैले गम्भीरतापूर्वक सोचिदिन पनि निवेदन गर्दछौं,’ पत्रकार सम्मेलनमा मृतकका पिता गोरे तामाङ र पत्नी साङमायाले भने । उनीहरूले हत्यामा माओवादी नेतृ देवी खड्का र विशाल खड्का मुख्य जिम्मेवार रहेको र उनीहरूकै आदेशमा कुलबहादुरलाई भाला रोपेर हत्या गरिएको बताए ।
पीडितले दिएको जानकारीअनुसार वैशाख २६ गते राति जुँगुको नीलकण्ठेश्वर उच्च माविको चौरमा उहाँँलाई जुँुगुकै देवी खड्का, विशाल खड्कासहित आएका माओवादी कार्यकर्ताले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर हत्या गरे । भाला हानेपछि उनको मुखमा इँटा कोचियो । उनीहरूले कुलबहादुरको हत्याबाट मर्माहत बनी न्यायका लागि कुरेर बसेको बेला जिल्ला अदालत दोलखाको आदेशबाट निकै मर्माहत बनेका दुखेसो गरे । ‘त्यो आदेशले मारिएका हाम्रा सदस्य कुलबहादुरको मात्रै होइन, सिंगै न्यायकै हत्या भएको अनुभूति पनि गरिरहेका छौं,’ मृतकका पिता गोरे तामाङले भने ।
वैशाख २६ गते राती माओवादी नेतृ देवी खड्काको नेतृत्वमा स्थानीय बसन्त कार्कीको घरमा बैठक वसी योजनाबद्ध रूपमा खाजा खाइरहेको स्थानमा आक्रमण गरी हत्या गरेको पक्राउ परेका अभियुक्तबाट स्वीकार गरिए पनि अदालतले गलत आदेश गरेको उनीहरूको बुझाइ छ । जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ, गोपाल तामाङ, निलम जिरेल, प्रेमबहादुर तामाङलगायत नौ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा हत्यामा उनीहरूले घटनामा संलग्नता स्वीकार गरेको पीडितको अपिलमा उल्लेख छ । ‘तर जिल्ला अदालत दोलखाका माननीय न्यायाधीश लालकाजी श्रेष्ठज्यूको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरूलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौं । त्यो आदेशपछि हामी मरेतुल्य बनेका छौं । साह्रै विचलित पनि भएका छौं,’ पीडित परिवारको भनाइ छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply