दोस्रो चरणमा पनि एमालेकै पक्षमा माहोल
काठमाडौं । १४ असारका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनोनयन सकिएसँगै चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ । पहिलो चरणको निर्वाचन परिणामको समीक्षापछि राजनीतिक दलहरू पनि बहुप्रतीक्षित दोस्रो चरणको निर्वाचन परिणाम पक्षमा पार्ने गरी युद्धस्तरमा खटिएका छन् ।
दोस्रो चरणमा प्रदेश २ बाहेक १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदै छ । तीमध्ये एक महानगर, समच उपमहानगर, १ सय ११ नगर र २ सय १५ गाउँपालिकामा चुनाव सम्पन्न हुनेछ ।
पहिलो चरणको निर्वाचनमा १ सय २५ सिटसहित पहिलो बनेको ठूलो दल एमालेले दोस्रो चरणको निर्वाचनमा पनि देशव्यापी माहोल बनाइरहेको छ । विधि, प्रक्रिया र मापदण्डका आधारमा लोकप्रिय व्यक्तिहरूलाई उम्मेदवार बनाएको एमालेले आक्रामक शैलीमा प्रचार कार्यलाई तीव्रता दिएको छ । प्रदेश १ अन्यको तुलनामा एमालेको परम्परागत गढका रूपमा चिनिन्छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा बाहेक २०४८ सालयताको हरेक निर्वाचनमा वर्चस्व स्थापित गर्दै आएको एमालेले पार्टीले गरेको लोकप्रिय कामका आधारमा स्थानीय तहको निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानमा विजय प्राप्त गर्ने लक्ष्य राखेको छ । यो प्रदेशमा एमालेको बलियो उपस्थिति हुन नदिन कांग्रेसले माओवादी केन्द्र, संघीय समाजवादी फोरम, संघीय लिम्बुवान पार्टी, राप्रपासहित ६ वटा दलसँग तालमेल गरेको छ ।
त्यस्तै प्रदेश ५ तुलनात्मक रूपमा सुदृढ हुँदै गएको क्षेत्र मानिन्छ । साबिकको भेरी, लुम्बिनी र राप्ती अञ्चलका केही जिल्ला समेटिएको यस प्रदेशमा एमालेले मुस्लिम र थारू समुदायबाट नेतृत्व विकास गरिरहेका उल्लेख्य नेताहरूलाई उम्मेदवार बनाएको छ । यो प्रदेशमा पनि कांग्रेसले माओवादी केन्द्रदेखि विप्लव माओवादीसम्मका पार्टीसँग तालमेल गरेको छ । उता प्रदेश ७ मा कांग्रेसभित्रको घातप्रतिघात र बागी उम्मेदवारीका कारण एमालेले पहिलो स्थान प्राप्त गर्ने अनुमान गरिएको छ । बझाङबाट निर्विरोध वडा अध्यक्ष र सदस्यहरू जितेर एमालेले खाता खोलिसकेको छ । यद्यपि कमजोर बन्दै गएको कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेकाले रोचक प्रतिस्पर्धाका बाबजुद एमालेले पहिलो स्थान हासिल गर्ने लक्ष्य राखेको छ ।
दोस्रो चरणको निर्वाचनमा पार्टीलाई जिताउन अध्यक्ष केपी ओलीदेखि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यसम्म विभिन्न जिल्लामा मुकाम खडा गरेर खटिएका छन् । आफ्नो जिल्लामा निर्वाचन सकेका नेताहरू अन्य प्रदेशमा सक्रिय बनेका छन् भने प्रदेश २ का नेताहरू पनि आवश्यकताअनुसार पार्टीका कार्यक्रममा जाने तयारीमा छन् । अध्यक्ष ओली सोमबार गृहजिल्ला झापामै क्रियाशील छन् । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल गृहजिल्ला इलाम तथा अर्का वरिष्ठ नेता माधवकुमार नेपाल सम्पर्क मञ्च तथा विभिन्न जिल्लास्तरीय कार्यक्रममा सहभागी छन् । उपाध्यक्ष वामदेव गौतम गृहजिल्ला प्युठान, प्रदेश ६ का संयोजकसमेत रहेका उपाध्यक्ष युवराज ज्ञवाली अहिले दाङमा सक्रिय छन् ।
त्यस्तै, प्रदेश ७ का प्रमुख तथा उपाध्यक्ष भीम रावल दुई सातादेखि सुदूरपश्चिमका जिल्लाहरूमा व्यस्त छन् । महासचिव ईश्वर पोखरेलले ७ गते ओखलढुंगा, १० गते भोजपुर र ११ गते धनगढीमा आयोजित सभालाई सम्बोधन गर्नेछन् । प्रदेश ५ संयोजक तथा उपमहासचिव विष्णु पौडेलले एक महिनादेखि रूपन्देहीलाई केन्द्र बनाएर प्रदेशको कमान्ड गरिरहेका छन् । उपमहासचिव घनश्याम भुसाल पनि रूपन्देही आसपासमा सक्रिय छन् । सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका छन् । सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश १ को ओखलढुंगामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका छन् । सचिव तथा प्रदेश १ का संयोजक भीम आचार्यले समग्र प्रदेशमा समन्वय गर्नुका साथै सुनसरीमा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन् ।
सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङका विभिन्न तहमा सक्रिय छन् । उता स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि एक सातादेखि गृहजिल्ला इलाममै व्यस्त छन् भने शंकर पोखरेलले १० दिनदेखि गृहजिल्ला दाङका कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply