निर्वाचन, सत्तादुरुपयोग र परिणाम
पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि सत्ताको व्यापक दुरुपयोग भयो । सत्ताको दुरुपयोगका कारण पनि निर्वाचनको परिणाम प्रभावित भएको छ । बजेटको ठूलो रकम रकमान्तर गरिएको छ । चुनावको दिन बिहान पनि ठाउँठाउँमा डोर कुदाइयो, पानीका पाइप बिछ्याइयो । बोराका बोरा सिमेन्ट र जस्तापाताको बन्डल खसाइएको छ । विकासको चाहनाले नभएर मतदातालाई प्रभावित पार्ने उद्देश्यले यस्ता काम भए । दोस्रो ठाउँठाउँमा प्रहरी प्रशासनको व्यापक दुरुपयोग भएको देखियो । बाजुरामा ज्यान नै गयो । कतिपय ठाउँमा बुथ क्याप्चर भए, कतिपयमा मुद्दा नै नलिने तहसम्मको स्थिति बन्यो । चुनावको अघिल्लो दिन सुरक्षा क्षेत्रमा सुधारको योजना अगाडि सारेर प्रहरी प्रशासनलाई आफ्नो अनुकूल बनाउने प्रयत्न गरियो । तिमीहरूका केही कन्सर्न हामीले सम्बोधन गरिदिएका छौं । त्यसैले हाम्रो पक्षमा तिमीहरू बफदार बन । निष्पक्ष भूमिका खेल होइन कि आफ्नो पक्षमा बफदार बन भन्ने मनोवैज्ञानिक सन्देश दिने काम भयो । ठाउँठाउँमा हतियारहरूको प्रयोग, कुटपिट, आतंकजस्ता काम त सामान्यजस्तै भए । निर्वाचनको मुखमा प्रहरीको सरुवा गरिएको छ । निर्वाचन आयोगका सचिवलाई त सरुवा गर्ने सरकारले आफूमातहतका सुरक्षा निकायमा त कति गरेको होला । तर ती सबैका बाबजुद धेरै ठाउँमा प्रशासन र सुरक्षा निकायले निष्ठा, निष्पक्षता देखाएको छ । जनताले पनि यी सबै कुरालाई चिर्ने काम गरे । यी सबै कुराका बाबजुद पनि दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति बनेको छ ।
०००
निश्चय नै निर्वाचनको परिणाम राष्ट्रिय राजनीतिमा यसको भूमिका र नेतृत्वले देखाएको अडान, स्थानीय स्तरमा संगठनको पकड, स्थानीय मुद्दा, उम्मेदवारको लोकप्रियता आदिका निर्भर गर्छ । पछिल्लो समयमा यस्तो प्रतिकूल अवस्थामा पनि हामीले जबर्जस्त रूपमा जुन राष्ट्रव्यापी लहर सिर्जना गरेका छौं । वास्तवमा अहिले कांग्रेस र माओवादी केन्द्र छुट्टाछुट्टै लडेका हुन्थे गठबन्धन हुँदैनथ्यो भने त उनीहरूको त बीउ खोज्नुपर्ने अवस्था सिर्जना हुने रहेछ । हामीले २०५४ को भन्दा धेरै राम्रो परिणाम ल्याउने रहेछौं । भोजपुर, धनकुटाजस्ता ठाउँमा त एमाले एक्लै लडिरहेको छ । अरू ६÷७ वटा पार्टी विपक्षमा छन् । यस्तो अवस्थामा पनि हामीले जुन परिणाम ल्याइरहेका छौं, यसको मुख्य श्रेय यसबीचमा पार्टीले खेलेको भूमिका, नेतृत्वको अडान, राष्ट्रियता, सामाजिक सद्भाव, एकता र समृद्धिका हाम्रा परिकल्पनाहरूले जनताको मन छोएको छ । सामाजिक सुरक्षा, सामाजिक न्यायको पक्षमा हामीले खेलेको भूमिकाले जनताको मन छोएको छ । त्यसले गर्दा कतिपय संगठन कमजोर भएका ठाउँमा पनि हामीले जितेका छौं । पार्टीले खेलेको त्यो भूमिका र प्राप्त गरेको लोकप्रियतालाई व्यवहारमा उतार्ने भनेको संगठनले नै हो । हाम्रो संगठनको सञ्जालको प्रयोग र परिचालन पनि निर्वाचनमा राम्रो देखियो । तर केहीकेही ठाउँमा जनताभन्दा हाम्रो संगठन धेरै पछाडि र जनताभन्दा हाम्रा कार्यकर्ताको बुझाइ धेरै पछाडि रहेको स्थिति पनि देखियो । त्यस्तै त्यहाँका उम्मेदवार र उम्मेदवारले अगाडि सारेका स्थानीय एजेन्डालाई पनि ध्यानमा राखेर मताधिकारको प्रयोग गरेको पनि देखियो । स्थानीय मुद्दा र विकास निर्माणका कुरामा जनता अलिक बढी आकर्षित भएको पनि देखियो ।
०००
पार्टीले लिएका हरेक दृष्टिकोणबारे सहरी क्षेत्रमा तत्काल प्रभाव देखिन्छ । ती कुराहरूको सन्देश पुग्न ग्रामीण क्षेत्रमा केही समय लाग्छ । अर्को कुरा गाउँमा हाम्रो संगाठनात्मक सञ्जाल अलिक कमजोर भएको चाहिँ यथार्थ हो । पहिलो त बसाइँसराइ यति तीव्र छ कि कुनै खास बेलाबाहेक गाउँ सुनसान छ । ठूलो संख्या वैदेशिक रोजगारीमा र कामको खोजीमा सहरमा छ । त्यसले गर्दा, हामीले लिएका अडान बोक्ने, सम्मोहन गर्ने पंक्तिको पनि अभाव देखिन्छ । अर्को कुरा हाम्रा संगठनहरू बढी अभियानमुखी भएका छन् । पार्टीले एउटा अभियान लियो, सबै परिचालित हुन्छन् । पार्टीले मेची–महाकाली अभियान सञ्चालन ग¥यो, सबै परिचालित भए । चुनाव आयो, सबै परिचालित भए । तर नियमित गर्ने काम जसका लागि कुनै अपानी वा सर्कुलहरू गइरहनुपर्दैन, त्यस कुरामा चाहिँ अभाव देखियो । हुन त अब बदलिँदो परिस्थितिमा संगठनात्मक कामको पुनर्परिभाषाको पनि जरुरी होला । त्यहाँका संगठनहरूको कार्यशैलीमा पनि परिवर्ततन गर्नुपर्ने होला । तर यी कुराहरूले गर्दा गाउँमा तुलनात्मक रूपमा हेर्दा हामी अलिक पछाडि परेको हो कि जस्तो लाग्छ । निर्वाचनको परिणाम हेर्दा पनि गाउँमा भन्दा सहरी क्षेत्रमा हाम्रो पक्षमा परिणाम तुलनात्मक रूपमा राम्रो देखिनुको कारण पनि यही हो भन्ने लाग्छ ।
०००
दोस्रो चरणको निर्वाचन भएका तीन प्रदेशमध्ये तुलनात्मक रूपमा प्रदेश ७ मा हामी अलिक पछाडि प¥यौं । नेकपा (एमाले) को जन्मभूमि प्रदेश १ हो । जुन बिन्दुबाट नेपालको कम्युनिस्ट आन्दोलन पुनर्गठित भयो र जुन पुर्नगठित धारको जगमा उभिएर आजको एमाले बनेको छ, त्यो प्रदेश १ हो । प्रदेश ५ नेकपा (एमाले) को संगठन असाध्यै बलियो भएको ठाउँँ हो । र, हरेक मुभमेन्टमा निर्णायक भूमिका खेलको ठाउँ हो । त्यसको तुलनामा प्रदेश ७ मा हामीले धेरै ढिलो काम सुरु गरेका हौं । कतिपय ठाउँमा त २०४६ को परिवर्तनपछि मात्र पार्टी पुगेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो ठाउँलाई प्रतिष्ठाको विषय बनाउनुभयो । उहाँ त्यो ठाउँ छाडेर अन्यत्र चुनावी प्रचारमा जानु पनि भएन । यस्ता कुराले पनि परिणामलाई प्रभाव पार्छ । यी सबै कुराको सापेक्षातामा तुलनात्मक रूपमा हामीले जे परिणाम ल्याएका छौं, त्यो सन्तोषजनक नै छ । यो निर्वाचनमा केही अपवादबाहेक देशव्याव्यापी रूपमा एमाले एक्लै चुनाव लड्यो । सत्तामा रहेका र कतिपय ठाउँमा सत्तामा रहेका र बाहिर रहेका दल पनि एमालेविरुद्धको गठबन्धनमा छन् । यस्तो गठबन्धन सबैभन्दा बढी पनि प्रदेश ७ मै देखियो । हाम्रा कार्यकर्ताको हत्या, बुथ क्याप्चर, हुलदंगा, किचलोजस्ता राज्य आतंक ती ठाउँमा बढी नै भए । राज्यको यस्तो आतंकको तुलनामा प्रदेश ७ मा प्राप्त परिणामलाई म सकारात्मक नै मान्छु ।
०००
दोस्रो चरणको निर्वाचन भएका तराईका जिल्लाहरूमा हामीले राम्रो गरेका छौं । झापा भन्नैपरेन । मोरङमा हामी नै ठूलो पार्टी बन्छौं भन्ने विश्वास छ । सुनसरीमा तीव्र प्रतिस्पर्धाबीच पनि पहिलो पार्टी बन्नेमा आशावादी छौं । नवलपरासीमा केही कमजोर भए पनि साथीहरू उत्साहित नै देखिनुहुन्छ । तर यसबीचमा एमालेलाई यति धेरै दानवीकरण गर्ने प्रयास भयो, एमालेविरुद्ध यति धेरै प्रोपोगान्डा भयो कि एमालेले तराईका जनतालाई दोस्रो दर्जाका मान्छे ठान्छ भन्नेसम्मका भ्रम फैलाइए । यस्ता प्रोपोगान्डाका अगाडि कतिपय ठाउँमा हाम्रा इमानदार प्रयत्नहरू पनि प्रभावकारी नभएका हुन सक्छन् । त्यसले गर्दा सीमा जोडिएका केही ठाउँमा असर पर्न सक्ला । तर समग्रतामा हामीले तराईमा पनि राम्रो गर्छौं । प्रदेश २ को चुनाव सारेर दिर्घकालीन रूपमा सरकारले ब्लन्डर नै ग¥यो । पछिल्ला केही समययता एउटा शब्दलाई नेपालको राजनीतिक वृत्तमा जबर्जस्त बहसको विषय बनाइएको छ, मधेस काश्मीरको बाटोमा जाँदै छ भन्ने ढंगले । अनि जनमत छाम्न ढंगले । त्यो एकदमै गलत र सुनुयोजित थियो । सरकारले दुर्भाग्यवश प्रदेश २ को चुनावलाई पर सारेर के मान्यतालाई स्थापित गर्ने धृष्टता ग¥यो भने बाँकी ६ वटा प्रदेश बेग्लै हुन्, प्रदेश २ बेग्लै हो । अन्त चुनाव हुन सक्छ, त्यहाँ संविधान संशोधन नगरीकन वा विशेष एरेजमेन्ट नगरीकन चुनाव हुन सक्दैन । अन्त राज्यका नियमहरू लागू हुन्छन्, त्यहाँका लागि विशेष गर्नुपर्छ । विखण्डन चाहनेहरू जे चाहिरहेका थिए, सरकारले त्यही स्थापित गरिदियो । असार १ गते सरकारले जुन बेला चुनाव सार्ने निर्णय ग¥यो, त्यतिबेला सीके राउतको ट्वीट आएको छ । अरू बेला उनी अंग्रेजी वा हिन्दी आउँथ्यो, त्यस दिन नेपालीमा लेखेका छन् । उनको ट्वीटको सार छ, ‘म एकदमै खुसी छु, घर बसीबसी स्वतन्त्र राज्यको माग पूरा हुने भयो । राजनीति त्यो दिशातर्फ गएको देखियो ।’ यति हुँदाहुँदै तराईका जनताले चुनाव चाहेको देखियो । कतिपय स्थानमा पहाडमा भन्दा धेरै मत खसेको देखियो । स्थानी चुनाव र संविधान संशोधनको कुनै सम्बन्ध नै छैन, तराई–मधेसका जनता चुनाव चाहन्छन्, विकास र स्थिरता चाहन्छन् । हामीले अगाडि सारेका माग र अडानहरू सही रहेछन् भन्ने पुष्टि भएको देखियो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply