कृषिका विदेश जाने–आउनेको प्रतिस्पर्धा
काठमाडौं । कृषि विकास मन्त्रालयका सचिव र सहसचिवहरूबीच विदेश भ्रमणमा जान तँछाडमछाड नै चल्न थालेको छ । सचिव डा. सुरोज पोखरेल विदेश गएर फर्किएको पर्सिपल्ट नै तीन सहसचिव विदेश उड्न थालेपछि सो मन्त्रालयका उच्च तहका कर्मचारीहरूमा कसले बढी विदेश भ्रमण गर्ने भन्ने प्रतिस्पर्धा नै चल्न थालेको पाइएको छ ।
अन्तर्राष्ट्रिय खाद्य संगठनको रोममा सम्पन्न बैठकमा भाग लिएर सचिव डा. पोखरेल र सहसचिव योगेन्द्र कार्की सोमबार मात्रै नेपाल फर्किए । एक हप्ता लामो सम्मेलनमा भाग लिएर उनीहरू नेपाल फर्किएका हुन् । सामान्यतः उक्त सम्मेलनमा भाग लिन कृषिमन्त्री नै जाने गरिए पनि यसपटक सम्मेलन हुँदा कृषिमन्त्री नभएका कारण सचिव र सहसचिवले उक्त बैठकमा भाग लिने मौका पाएका हुन् ।
सचिव डा. पोखरेल रोमबाट फर्किएकै पर्सिपल्ट अर्थात् आज तीन सहसचिवहरू कोरियातिर उड्दै छन् । सहसचिवहरू लेखनाथ आचार्य, सुरेशबाबु तिवारी र ईश्वरप्रसाद रिजाल कोरिया जान लागेका हुन् । उनीहरू सम्मेलनमा भाग लिन जाने नाममा विदेश भ्रमण गर्न लागेका हुन् ।
त्यस्तै गएको वर्षजस्तै यो वर्ष पनि धेरैपटक विदेश घुम्ने सौभाग्य भने मन्त्रालयमै असक्षम सहसचिव भनेर चिनिने लेखनाथ आचार्य रहेका छन् । आज कोरियातिर उड्न लागेका आचार्य केही दिनअघि मात्रै जेनेभाबाट फर्किएका हुन् । त्यसअघि उनी फिलिपिन्स घुम्न गएका थिए । आचार्यले त यो वर्ष धेरै विदेश घुम्ने सहसचिवका रूपमा आफूलाई उभ्याएका छन् । उनले यो वर्ष मात्रै ६ पटक विदेश घुम्ने मौका पाएको बताइन्छ । गएको वर्ष पनि उनले विदेश घुमेर रेकर्ड नै तोडेका थिए ।
यसैगरी सोही मन्त्रालयअन्तर्गतको सबैभन्दा ठूलो आयोजना प्रधानमन्त्री आधुनिक कृषि परियोजनाले आशातीत काम गर्न नसकेपछि चौतर्फी आलोचना हुन थालेको छ । १ खर्ब ३० अर्बको १० वर्षे उक्त आयोजनाको आयोजना प्रमुखका रूपमा अच्यूतमप्रसाद ढकाल नियुक्त भएर आएपछि सो आयोजनाको कामले गति लिन नसकेको बताइन्छ ।
चालू आर्थिक वर्षका लागि ५ अर्ब ७८ करोड बजेट रहेको सो परियोजनाको काम सन्तोषजनक नभएको पाइएको छ । पछिल्लोपटक १० वटा जोन र एउटा सुपर जोन थपेर आयोजनालाई विस्तार गरिए पनि अपेक्षाकृत रूपमा काम हुन नसकेपछि आयोजना प्रमुख ढकालको असक्षमता प्रकट हुन पुगेको हो । आगामी वर्षका लागि साढे ५ अर्ब बजेट छुट्ट्याए पनि अहिलेकै गतिमा काम हुने हो भने अपेक्षा गरेअनुरूप सो आयोजनाले प्रगति गर्न नसक्ने बताइन्छ । सो आयोजनाको आयोजना प्रमुख ढकालको नेतृत्व क्षमतामाथि नै प्रश्नचिह्न उठ्न थालेपछि नयाँ मन्त्री नियुक्त भएपछि उनी फेरिने सम्भावना रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply