पवनका कारण बिच्कियो एडीबी
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको धेरै बजेट भएको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) को उपमहानिर्देशकबाट पवनकुमार श्रेष्ठलाई हटाउन खोजिए पनि तत्काललाई उनी नहट्ने भएका छन् । उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र सचिव दिनेशकुमार थपलियाको सहमतिमा श्रेष्ठलाई हटाएर गणेशराज वस्तीलाई सो ठाउँमा ल्याउन टिप्पणी उठाइसकेको भए पनि तत्काललाई टरेको छ ।
केही दिनअघि मन्त्री गच्छदारले जागिरको अवधि आठ महिना मात्रै बाँकी रहेको जीवनकुमार श्रेष्ठलाई डोलिडारको महानिर्देशक बनाएका थिए । महानिर्देशक रामकृष्ण सापकोटालाई हटाएर आर्थिक चलखेलकै कारण श्रेष्ठलाई महानिर्देशक बनाइएको थियो । महानिर्देशक फेरेलगत्तै अहिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा रहे पनि लामो समय डोलिडारमा बसेर स्वाद चाखिसकेका वस्तीलाई पवनको ठाउँमा लैजान केही दिनअघि मन्त्रालयमा टिप्पणीसमेत उठाइसकेको बताइन्छ ।
आफूलाई डोलिडारको उपमहानिर्देशकबाट हटाइँदै छ भन्ने कुरा थाहा पाएपछि श्रेष्ठले माओवादी केन्द्रका नेताहरूसँग हारगुहार गरेको बताइन्छ । डोलिडारमा रहँदा माओवादी केन्द्रका नेताहरूले भनेबमोजिम काम गर्दै आएका श्रेष्ठलाई तत्काल नहटाउन माओवादी केन्द्रका शीर्ष तहका नेताहरूले मन्त्री गच्छदारलाई भनेपछि तत्कालका लागि श्रेष्ठको सरुवा टरेको हो ।
तर श्रेष्ठले तत्काल डोलिडार छाड्नुनपर्ने भए पनि विगतमा उनी डोलिडारमा रहँदा त्यसअन्तर्गतको एउटा आयोजना ड्रिलिपमा हुँदा गरेका लापरबाहीका कारण सो आयोजनाबाट एसियाली विकास बैंकले हात झिकेको छ । ड्रिलिपको कार्यक्रम संयोजक हुँदा श्रेष्ठले करोडौं बेरुजु फस्र्योट गर्न तदारुकता नदेखाएपछि एडिबीका कर्मचारीहरू असन्तुष्ट रहँदै आएका थिए । श्रेष्ठको कार्यशैलीलाई लिएर एडीबीले असन्तुष्टि जनाएपछि उनी केही महिना मन्त्रालयमा सरुवासमेत भएका थिए । तर श्रेष्ठ पछि पुनः डोलिडारमै सरुवा भएपछि एडीबीले ‘गलत मान्छेलाई फेरि ल्याएको’ भन्दै आपत्ति जनाएको थियो । श्रेष्ठ पुनः डोलिडारमा गएदेखि नै एडीबीले ड्रिलिपबाट हात झिक्ने संकेत दिएको थियो । गएको वर्ष नै एडीबीले हात झिक्ने संकेत दिएर बजेट रोके पनि सरकारले सो आयोजनाका लागि ४८ करोड रूपैयाँ छुट्ट्याएको थियो ।
सन् २००४ देखि नै सुरु भएको ड्रिलिप देशका १८ जिल्लामा सञ्चालित कार्यक्रम हो । तर उपमहानिर्देशक श्रेष्ठकै कारण एडीबीले हात झिकेपछि केन्द्रमा कार्यरत १८ र जिल्लामा कार्यरत १ सय ५० जना कर्मचारीको जागिर गएको छ । केन्द्रमा रहेका कर्मचारीहरूलाई कार्यक्रम संयोजक महेशचन्द्र न्यौपानेले सोमबार मात्रै ‘अब भोलिदेखि काममा नआउनू’ भनेर निर्देशन दिएको बताइन्छ । यसरी केन्द्रमा जागिर जाने कर्मचारीहरूमा सुमनदेवी आचार्य, रमिला श्रेष्ठ, रमेश पुडासैनी, भक्त बुढाथोकी, किरण पराजुलीलगायत छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply