कोइरालाको पक्षमा पल्लाभारी, युनियन र सेन्टरमा विद्रोह
काठमाडौंं । नेपाल पत्रकार महासंघको आसन्न २५औं महाधिवेशनमा चार दशक नेपाली पत्रकारितामा बिताएका वरिष्ठ पत्रकार तीर्थ कोइरालाको अध्यक्षमा उम्मेदवारी घोषणासँगै अन्य उम्मेदवार प्रतिस्पर्धाको मैदानमा फिक्का साबित भएका छन् । महासंघलाई थप सम्मानित, मर्यादित र व्यावसायिक रूपमा विकास गर्दै श्रमजीवी मैत्री बनाउने संकल्प बोकेका कोइराला पहिलो ठूलो संगठन प्रेस चौतारी नेपालसहित अन्य व्यावसायिक प्रगतिशील संगठनहरूको समर्थनमा प्रतिस्पर्धाका लागि अघि बढेका हुन् । महासंघको २५औं महाधिवेशन भदौ ४ र ५ गते काठमाडौंमा हुँदै छ ।
सोमबार कोइरालाको उम्मेदवारी घोषणासँगै देशभरका श्रमजीवी व्यावसायिक पत्रकारहरूले समर्थन र शुभेच्छा प्रकट गर्ने क्रम बढेको छ । केन्द्रीय सभासद्हरूले पत्रकार महासंघको नेतृत्वमा पार्टी नेता होइन, व्यावसायिक र श्रमजीवीमैत्री पत्रकार भन्दै स्वतःस्र्फूत अभियान चलाइरहेका छन् । अग्रज पत्रकार, पूर्वसम्पादकहरू मात्रै होइन, खासगरी व्यावसायिक रूपले क्रियाशील पत्रकारहरूको ठूलो संख्याले कोइरालालाई समर्थन गर्ने क्रम बढ्दै गएको छ । चार दशकको पत्रकारिता यात्रामा कान्तिपुर टेलिभिजनसहित दर्जनभन्दा बढी आमसञ्चारमाध्यममा कुशलतापूर्वक कोइरालाले सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् ।
कांग्रेस र माओवादी केन्द्रनिकट प्रेस युनियन र प्रेस सेन्टरले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रचण्डका पूर्वसल्लाहकार गोविन्द आचार्यलाई पत्रकारहरूको साझा संगठन पत्रकार महासंघको अध्यक्षमा भिडाउने भन्दै अघि सारेका छन् । लामो समय चौतारीसँग कार्यगत एकतासहित सहकार्य गर्दै आएका तथा वाम सहकार्यका पक्षमा अडिग रहेर पनि आचार्यलाई विवशतापूर्वक युनियनसँग गठबन्धन गरेर कोइरालाजस्ता सिद्धहस्त अग्रज पत्रकारसँग भिडाउने प्रयास गरिएको छ । यसलाई महासंघमा शुद्धीकरण चाहनेले त आश्चर्यका रूपमा हेर्नु स्वाभाविक छ, स्वयं उनीसमेत त्यसबाट आश्चर्यचकित र असन्तुष्ट रहेको बताइन्छ ।
आचार्यको उम्मेदवारी कमजोर साबित हुने भन्दै प्रेस सेन्टरकै तर्फबाट महासंघका वतर्मान महासचिव उजिर मगर अध्यक्षको उम्मेदवारका रूपमा खडा भएका छन् । ‘कान्तिपुर’ र ‘नागरिक’ दैनिकमा एक दशक बढी सक्रिय पत्रकारिता गरेका मगरलाई सेन्टरका सभासद्का साथै व्यावसायिक पत्रकारहरूको पंक्तिको राम्रो सद्भाव रहेको बताइन्छ । महासंघको नेतृत्वका लागि छलफलमै सहभागी नगराई सेन्टरको नेतृत्वले लगातार सार्वजनिक अपमान र गालीगलौज गर्दै हुर्मत लिएपछि मगरले यसपटक वारपार लडाइँ लड्ने भन्दै देशव्यापी अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालमार्फत सयौंले उनीमाथि सद्भाव प्रकट गर्ने क्रम बढेको छ । जबकि सेन्टरको नेतृत्व र आचार्यमाथि यसअघिको चौतारीसँगको सहमति एकतर्फी तोडेर अपवित्र गठबन्धन गरेको आरोपमा अनेकौं प्रश्नहरू बर्सिन थालेका छन् । केन्द्रीय समिति, सचिवालय र पदाधिकारीका अधिकांश सदस्यहरूको भावना, छलफल र म्यान्डेटविपरीत अपवित्र गठबन्धन थोपरिएकोमा सेन्टरभित्र भुसको आगोझैं असन्तुष्टि चुलिदैं गएको छ ।
गठबन्धनमा सामेल प्रेस युनियनले सेन्टरलाई अध्यक्षबाहेकका पदाधिकारीको पद सकभर नदिने नीति लिएको छ । यस्तो स्थितिमा कोइरालाको हेभी वेटको उम्मेदवारीले गर्दा अध्यक्ष पद हार्ने भएका कारण खुला उपाध्यक्ष, खुला सचिव र कोषाध्यक्षजस्ता महŒवपूर्ण पदमध्ये कम्तीमा दुई पद छाड्नै नहुने सेन्टरको नेतृत्वमाथि तीव्र दबाब बढेको छ । उता युनियनमा अध्यक्षको प्रबल दाबेदार मानिएका पोषण केसी र रामजी दाहाल पहिलो चरणबाटै ‘रिङ आउट’ भएका छन् । युनियनको वर्तमान नेतृत्व र सेन्टरको नेतृत्वले धोका दिँदा दुई कार्यकालदेखिको चाहना पूरा हुन नसकेपछि केसीले निकटकासँग बिलौना पोख्न थालेको बताइन्छ । उता यसअघि नै महासचिव र सचिवको उम्मेदवार बन्दा साझा लोकप्रिय मत पाएर पनि असाध्यै झिनो मतले पराजित बनेका रामजी दाहालको अवमूल्यन गरिएकोमा युनियनभित्र चरम असन्तुष्टि बढेको छ ।
सोमबार आयोजित उम्मेदवारी घोषणासभा कार्यक्रममा कोइरालाले आफूले नेपाल पत्रकार महासंघलाई सबै पत्रकारहरूको साझा संगठन बनाउने अनवरत प्रयास गरे पनि असफल भएकाले चौतारीलगायतका संगठनहरूको समर्थनमा नेतृत्वका लागि अग्रसर भएको बताए । पञ्चायतकालमा भन्दा पनि पत्रकारिता क्षेत्रमा राजनीति हावी देखिएको भन्दै कोइरालाले महासंघलाई सम्मानित, मर्यादित र व्यावसायिक साझा संस्थाका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए । कोइरालाको उम्मेदवारीलाई चौतारीका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्षहरू राजेन्द्र अर्याल, गगन विष्ट, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, अको¥याबका अध्यक्ष सुवास खतिवडा, प्रेस काउन्सिल नेपालका सदस्य तथा ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठ, ‘नयाँ पत्रिका’ दैनिकका कार्यकारी सम्पादक उमेश चौहानलगायतले समर्थन जनाउँदै विजयका लागि शुभकामना दिएका छन् ।
४७ सदस्यीय केन्द्रीय समिति
महासंघको २५औं महाधिवेशनले ११ पदाधिकारीसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । जसअनुसार एक खुला र एक समावेशीसहित दुई उपाध्यक्ष, एक महासचिव, खुला, आदिवासी जनजाति, मधेसी, एसोसियट, महिला र दलित कोटाबाट ६ सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै भौगोलिक क्षेत्रअन्तर्गत ७ प्रदेशबाट संयोजक र सहसंयोजकसहित दुई केन्द्रीय सदस्य, गैरभौगलिक प्रतिष्ठान, उपत्यका र एसोसिएटबाट दुई÷दुई केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यस्तै खुलातर्फ पाँच, महिला तीन, आदिवासी जनजाती दुई, मधेसी दुई, अलपसंख्यक एक तथा अपांगता भएका व्यक्तिबाट १ केन्द्रीय सदस्य चुनिनेछन् । त्यस्तै संयोजकसहित ३ सदस्यीय लेखा आयोग पनि महाधिवेशनबाट निर्वाचित हुनेछ । महाधिवेशनमा १० मनोनितसहित १५ सय १० जना केन्द्रीय सभासद् सहभागी हुँदै छन् । महाधिवेशन नजिकिएसँगै पत्रकारहरूले अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यहरूमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply