स्वास्थ्य गाइड
मानिसको स्वास्थ्यको मेरुदण्ड हो, सन्तुलित खानपान । असन्तुलित खानपानले मानिसलाई विभिन्न रोगहरूसित साक्षात्कार गराउँछ । असन्तुलित खानाकै कारण हृदयाघात र मस्तिष्कघातका समस्या निम्तिनुका साथै मधुमेह र मिर्गाैलासम्बन्धी रोगहरूले पनि अठ्याउँछ । आज विश्वका अधिकांश मानिस खानाजन्य रोगहरूका सिकार भएका छन् । त्यसमा परम्परागत एवं पौष्टिक खाद्यपदार्थलाई त्यागेर अपौष्टिक पदार्थहरूका लतमा मानिस डुब्दा विभिन्न स्वास्थ्य–समस्या निम्तिने गरेका छन् ।
जनस्वास्थ्यकर्मी अरुणा उप्रेतीले लामो समयदेखि पौष्टिक खानपानमा जोड दिँदै आएकी छन् । पत्रकार लक्ष्मण अधिकारीले पनि स्वास्थ्यबारे लामै समयदेखि कलम चलाउँदै आएका छन् । उप्रेती र अधिकारीको संयुक्त लेखनको प्रतिफलस्वरूप ‘खाना खानुभयो ?’ पुस्तक बजारमा आएको छ । जनचेतना जागृत गराउने अभिप्रायले मानिसको खानपान, सौन्दर्य प्रशाधनका सामग्रीहरूको बढ्दो प्रयोगले निम्त्याउने समस्याजस्ता विषयहरूमा केन्द्रित रचनाहरूको सँगालो रहेको उक्त पुस्तक सबैखाले पाठकहरूका निम्ति फलदायी देखिन्छ ।
बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित चिसो पेयपदार्थको सञ्जालले नेपालका हरेक भूभाग छोएको छ । सहरबजारमा त यस्ता चिसा पेयपदार्थहरू सहज रूपमै पाइन्छन् नै, यातायातको सहज सुविधा भएका ग्रामीण बस्तीहरूमा मात्र नभई गाडी नै नपुगेका ठाउँहरूमा समेत त्यस्ता पेय पदार्थहरू पाइन्छन् । स्वास्थ्यका लागि हानि गर्ने चिसा पेय पदार्थहरूको बढ्दो विस्तारसँगै मानिसहरूले मोही, लस्सी, कागती पानी, ताजा जुस खान छाडेकाप्रति लेखकद्वयको चिन्ता पोखिएका छन् । त्यस्ता चिसा पेय पदार्थहरूमा चिनीको मात्रा बढी हुने, क्याफिनको प्रयोग हुने भएको हुँदा त्यस्ता तŒवहरूले हाड कमजोर बनाउने, शरीरलाई मोटो तुल्याउने र क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउनेतिर इंगित गर्दै त्यस्ता पेय पदार्थहरू खानु स्वास्थ्यका निम्ति पूर्णतः हानिकारक रहेको उल्लेख गरेका छन् ।
चिसो पेयजस्तै इनर्जी ड्रिंक्स पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रहेकोतिर पनि सचेत तुल्याउन खोजिएको छ । त्यस्ता इनर्जी ड्रिंक्सहरू खेलाडी, बच्चाहरूले अत्यधिक रूपमा प्रयोग गर्ने गरेका छन् । तर त्यसले तत्कालका लागि केही स्फूर्ति दिलाए पनि कालान्तरमा स्वास्थ्यका लागि फाइदाजनक नभएकाले त्यस्ता चिजहरू नपिए नै राम्रो र स्वास्थ्यका लागि उपयोगी हुने उल्लेख छ । त्यस्तै जंक फुड पनि स्वास्थ्यका निम्ति रत्तिभर फाइदाजनक नरहेको जिकिर गरिएको छ । जंक फुडहरूमा पोषण तŒव नरहने भएका हुँदा त्यसले शारीरिक र मानसिक स्वास्थ्य वृद्धिमा असर पार्नेतिर सजग तुल्याउन खोजिएको छ । बरु प्याकेट बन्द जंक फुडको साटो गहुँ, कोदो, फापर र मकैको रोटी, चिउरा, भटमास, हरियो मकै, हरियो तरकारीको परिकार, आलु, सखरखण्ड, काँक्रा, मुलाजस्ता चिजहरू प्रयोग गर्न सुझाव दिइएको छ ।
बजारमा यत्रतत्र पाइने सौन्दर्य प्रशाधनका सामग्रीहरूले त छालासम्बन्धी गम्भीर रोग उत्पन्न गराउनेतिर सजग तुल्याइएको छ । चम्किलो र गोरो अनुहार पार्न प्रयोग गरिने विभिन्न क्रिम, पाउडरहरूले निम्त्याउने बेफाइदा र स्वास्थ्य समस्याबारे उल्लेख गर्दै लेखिएको छ, ‘हिजोआज स्किन ह्वाइटनिङ र लाइटनिङ क्रिम खुब प्रयोगमा आउने गरेका छन् । ती क्रिम छालाका लागि एकदमै खतरनाक छन् । केही समयलाई गोरो बनाएको भ्रम दिए पनि तिनमा हाइड्रोक्विनोन, मर्करी, यूभीबी र यूभीए नामक तŒवहरू मिसाइएका हुन्छन् । ती तŒवका कारण डर्माटाइटिस, एक्ने, चिनी रोगजस्ता रोग लाग्न सक्छन् ।’
‘खाना खानुभयो ?’ भित्र लेखकद्वयले जंक फुड, बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित चिसा पेय पदार्थहरू, इनर्जी ड्रिंक्स, क्रिमले मानिसको स्वास्थ्यमा पु¥याउने गहिरो असरबारे उल्लेख गरेका छन् नै, साथै स्वस्थ रहन कस्ता आहार लिनुपर्छ, केकस्ता खानपानले मानिसको शारीरिक र मानसिक वृद्धि हुन्छ भन्ने पक्ष पनि जानकारी गराउन खोजिएको छ । अपौष्टिक खाद्यपदार्थ बिक्री गरेर मुनाफा कमाउन र मानिसको स्वास्थ्यमाथि खेलबाड गर्न बहुराष्ट्रिय कम्पनीहरू कति क्रियाशील छन् भन्ने पक्षको सूक्ष्म जानकारी मात्र यस पुस्तकबाट पाउने होइन, मानिसले शारीरिक र मानसिक क्षमता वृद्धि गर्न कस्ता खानपानलाई पछ्याउनुपर्छ भन्ने पनि जानकारी दिइएको हुँदा यो कृति एक हिसाबले स्वास्थ्य–गाइड बन्न पुगेको छ ।
कृति : खाना खानु भयो ?
विधा : स्वास्थ्य–लेख
लेखकद्वय : डा. अरुणा उप्रेती÷लक्ष्मण अधिकारी
प्रकाशक : नेपालय
पृष्ठ : २०९
मूल्य : ३४५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply