बिनागृहकार्य भारत भ्रमणको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको ७ भदौदेखि हुने भारतको राजकीय भ्रमणको तयारी पूरा भएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकैसाथ सोमबार विज्ञप्ति जारी गरी पाँचदिने राजकीय भ्रमणको मिति घोषणा गरेका छन् । देउवा भ्रमणको तयारीका लागि मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धित परियोजनासँग सम्बन्धित अधिकारीहरूको बैठक राख्दै छन् ।
प्रधानमन्त्री देउवा ७ भदौमा दिल्ली आउने र भोलिपल्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकैया नायडूसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । मोदीले देउवाको सम्मानमा हैदराबाद हाउसमा दिवाभोज आयोजना गर्नेछन्, जहाँ देउवा र मोदीबीच एक्लाएक्लै करिब आधा घण्टा वार्ता हुने पनि तय भएको छ । यसअघि पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले पनि मोदीसँग एक्लाएक्लै वार्ता गरेका थिए । तर एक्लाएक्लै भेटवार्तामा पनि मोदीको पृष्ठभूमिमा भारतीय अधिकारी बसेका थिए भने नेपालका प्रधानमन्त्रीद्वयले भने कोही पनि सहयोगी राखेका थिएनन् ।
दिल्लीमा भारत सरकारका वरिष्ठतम मन्त्रीहरूले देउवालाई राष्ट्रपति भवनमा गएर शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । देउवा राष्ट्रपति कोविन्दका विशिष्ट पाहुनाका रूपमा राष्ट्रपति भवनमा बस्ने तय भएको छ । २०७२ असोज ३ गते नयाँ संविधान जारीपछि तत्कालीन प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवनमा राखिएको थियो । ‘प्रधानमन्त्री भ्रमणको अन्य तयारी पूरा भएको छ । दुईपक्षीय वार्ता र सहमति हुन सक्ने एजेन्डाहरू मंगलबार साँझसम्म तय हुने गरी हामी भारतीय अधिकारीसँग छलफल गरिरहेका छौं,’ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ पत्रिकासँग भने । यसपटक भारतीय राजनीतिक नेतृत्वले पनि नेपालसँग विगतमा भएका सम्झौता कार्यान्वयनमा चासो दिएको उपाध्यायले बताए । यसपटकको भ्रमणमा देउवाले यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड गरी नेपालले तयारी गरिरहेको छ ।
पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुनेछ । प्रधानमन्त्रीका रूपमा देउवाले यसअघि तीनपटक भारत भ्रमण गरेका थिए । उपाध्यायका अनुसार भारतीय सीमावर्ती बाँधबाट नेपाललाई परेको समस्याबारे नेपालले भारतसँग धारणा राख्नेछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले देउवाको भारत भ्रमण तय गरेको थियो । भ्रमणमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसहित करिब चार दर्जन अधिकारी सामेल हुने छन् ।
डोक्लाम विषयमा छलफल हुन सक्ने : विज्ञ
नेपाल भारत सम्बन्धका जानकार डा. निहार नायकका अनुसार भारतले चीन र भारतबीच पछिल्लो समयमा भुटानको दोक्लाम विषयमा उत्पन्न विवादबारे औपचारिक प्रतिनिधिमण्डलमाझ छलफल हुनेछैन । तर, मोदी र देउवाको एक्लाएक्लै भेटमा कुरा हुन सक्छ । ‘सन् १९५० को सन्धिमा नेपाल र भारत एकअर्काले यस्ता विषयमा जानकारी दिने विषय उल्लेख गरिएको छ । यसअनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई घटनाक्रमबारे एक्लाएक्लै वार्तामा जानकारी दिन सक्ने सम्भावना छ,’ नायकले नयाँ पत्रिकासँग भने । तर नेपालले लिएको तटस्थ नीतिलाई भारतले उच्च महŒव दिएको उनले बताए । नायकको भनाइ छ, ‘नेपालले लिएको अडान सही छ भन्ने भारतको बुझाइ छ । नेपालको अवस्था हामीले बुझेका छौं । भारतले छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसँग समर्थन खोजिरहेको छ, तर नेपाल तटस्थ बसिदिँदा भारतलाई फाइदा छ ।’ चीनले पनि नेपालको तटस्थताको अपेक्षा गरेको सार्वजनिक भइसकेको छ ।
संविधान र निर्वाचनबारे छलफल हुने
नायकका अनुसार नेपालको संविधान स्थानीय निर्वाचनसँगै कार्यान्वयनसँगै अब भारतको असन्तुष्टिको कुनै अर्थ छैन । ‘भारतले संविधानलाई स्वागत गर्नुको अब विकल्प छैन, स्वागत नगर्दा पनि नेपाल–भारत सम्बन्धमा त्यति फरक पर्नेवाला म देख्दिनँ,’ नायकले भने । भारतले स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनलाई सहयोग गरिसकेको उल्लेख गर्दै नायकले यसपटक देउवालाई भारतले थप आश्वस्त पार्न सक्ने पनि बताए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply