तीन त्रुटिले रोकिने भयोे दुई तिहाइ
काठमाडौं । प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर पुग्दै गर्दा वाम गठबन्धनले प्रत्यक्षतर्फ दुई तिहाइ सिट जितेका छन् । तर, समानुपातिकतर्फको मतको समेत परिणाम सार्वजनिक भइसक्दा भने थोरै सिट संख्याले गठबन्धनको दुईतिहाई बहुमत रोकिने आँकलन गरिएको छ ।
अहिलेसम्म प्रत्यक्षतर्फको परिणाममा एमालेले ७७ र माओवादी केन्द्रले ३५ सहित गठबन्धनले १ सय १२ सिट जितेको छ । अझै गठबन्धनले थप दुई सिट जित्ने सम्भावना कायमै छ । समानुपातिकतर्फ दुवै पार्टीले कम्तीमा ५५ देखि ६५ सिट जित्न सक्ने देखिएकाले अन्तिममा गठबन्धनले कम्तीमा १ सय ७० देखि १ सय ७५ सिटसम्म जित्ने अनुमान गरिएको छ । दुई तिहाइका लागि १ सय ८४ आवश्यक पर्ने भएकाले यो दुई तिहाइका लागि जम्मा ९ देखि १२÷१३ सिट मात्रै कम हो ।
यसरी हेर्दा यो निर्वाचनमा वाम गठबन्धनले भारी बहुमतसहित करिब दुई तिहाइ सिट जित्ने अनुमान गरिएको छ । यदि एमाले र माओवादी केन्द्र दुवैले एमालेको चुनाव चिह्न सूर्यमा लडेको अवस्थामा भने दुवै पार्टीले कम्तीमा प्रत्यक्षमा ५ देखि १० र समानुपातिकमा पनि त्यति नै सिट संख्या बढाउने परिणामले देखाएको छ । दुईवटा चुनाव चिह्न हुँदा मतदाता झुक्किएकाले समानुपातिकतर्फ दुवै पार्टीको धेरै मत बदर भएका छन् । एउटै चुनाव चिह्न हुँदा कतिपय स्थानका क्रम भोटिङ पनि रोकिने स्थितिले फाइदा गठबन्धनलाई हुने निश्चित थियो ।
पार्टी एकता गर्ने र एउटै चुनाव चिह्नमा लड्ने प्रारम्भिक सहमति भए पनि संसदीय दलको अस्तित्व नरहने भएपछि निर्वाचन आयोगले त्यसका लागि अनुमति नदिने कारण दर्साएर माओवादी केन्द्र अन्तिम घडीमा पछि हटेको थियो । यद्यपि, परिणाम भने अहिलेसम्म अपेक्षित र उत्साहजनक नै रहेको दुवै पार्टीका नेताहरूले बताइरहेका छन् ।
उता, गठबन्धनबीच ६०ः४० को अनुपातमा सिट संख्या भागबन्डा गरिए पनि वस्तुतः एमालेले उम्मेदवारी दिएकोमध्ये करिब ७० प्रतिशतमा विजय प्राप्त गरेको छ भने माओवादी केन्द्रले दिएकोमा करिब ४५ प्रतिशतमा हार बेहोरेको छ । यो स्थितिलाई मध्यनजर गर्दा माओवादी केन्द्रलाई दिइएको १० देखि १५ सिट एमालेले लिएको अवस्था हुन्थ्यो भने गठबन्धनको सिट संख्या अझ बढ्थ्यो भन्ने परिणामले प्रमाणित गरेको छ । काठमाडौंमा धेरै मत अन्तरमा तेस्रो ‘पोजिसन’ हुँदाहुँदै तीनवटा क्षेत्र १, ६ र १० नम्बर क्षेत्र लिएको माओवादी केन्द्रले तिनै स्थानमा हार बेहोरेको छ । ती तिनमध्ये ६ र १० कम्तीमा एमालेको उम्मेदवारी पर्दा जितिने स्थिति रहेको स्वयं माओवादीले स्वीकार गरेको छ । त्यस्तै, प्रत्यक्षतर्फ माओवादी केन्द्रले प्रदेश नम्बर २, ५ र ६ मा पनि अपेक्षित परिणाम ल्याउन सकेन । त्यसैले गठबन्धन बनाउनु नै ऐतिहासिक उपलब्धि भए पनि सिट बाँडफाँट भने पूर्ण वैज्ञानिक नभएको थप पुष्टि भएको छ ।
अर्को, एमाले र माओवादी केन्द्रले पार्टी एकताकै घोषणा गरिसकेका छन् । केही सैद्धान्तिक र सांगठनिक विषय मिलाउन बाँकी भएकाले चुनावपछि एकता गर्ने सहमति भए पनि त्यतिबेलै एकता टुंग्याएर एउटै चुनाव चिह्नसहित गएको भए झन् दुई तिहाइ सुनिश्चित रहेको परिणामले देखाएको छ । यद्यपि, प्रत्यक्षतर्फ चुनाव जितेका स्वतन्त्र, राष्ट्रिय जनमोर्चा, नेमकिपाको सिटसँगै झापा–३ बाट निर्वाचित राजेन्द्र लिंदेनको बाहिर आएको हल्ला सत्य साबित भएको अवस्थामा भने अझै दुई तिहाइको सम्भावना भने जीवितै छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply