चीन बुझ्न सजिलो
पहिलो आर्थिक महाशक्ति बन्ने तीव्र दौडमा सामेल चीनले पछिल्ला अवधिमा विकास, उन्नति र समृद्धिको क्षेत्रमा मारेको फड्कोले सबैलाई चकित तुल्याउँछ । समाजवादी राज्य प्रणाली अपनाएयता चीनले आर्थिक समृद्धिका उच्च र समुन्नत रेखाहरू कोरेको छ । कुनै पनि देशले दु्रतगतिमा प्रगतिका सोपानहरू उक्लिनमा सही विचार, नेतृत्व र संकल्पशक्ति चाहिन्छ भन्ने उदाहरण चीन बन्न पुगेको छ ।
चीनको आर्थिक समृद्धि कसरी उकालो–उन्मुख भयो ? अचेल सबैका दृष्टि चीनको आर्थिक उन्नतिमा अडेको छ । सन् २०१० देखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा विदेशी विशेषज्ञका रूपमा कार्यरत अजय अलौकिकले चीनले मारेको फड्कोलाई ‘अलौकिक चीन’ पुस्तकमार्फत सतहमा उतार्न चाहेका छन् । चीन बसाइका क्रममा आफूले भोगेको र बुझेको चीनलाई आमनेपाली पाठकसामु ल्याउन उनले चाहेका छन् ।
अनेक भौगोलिक विविधताले भरिएको विशाल चीनमा विदेशीहरूलाई आकर्षित गर्ने अनेक प्राकृतिक, सांस्कृतिक धरोहरहरू रहेका छन् । सन् २००६ मा पर्यटकका रूपमा चीन पुगेका अजयले त्यही समयदेखि आफूले बुझेका चीनलाई पुस्तकमा स्थान दिन रुचाएका छन् । पहिलोपटक ग्रेटवाल टेक्दाको अनुभूतिलाई उनले यसरी उतारेका छन्, ‘चिनियाँ जनताको श्रम, मिहिनेत र बुद्धिको प्रतिफल ग्रेटवाल मानव सभ्यताको गौरव हो । यो शक्तिको प्रतीक पनि हो । साथै, शान्तिको प्रतीक पनि । जुन देशभित्र शान्तिको अपेक्षामा निर्माण गरेको हो ।’
ग्रेटवालको प्रशंसाबाट प्रारम्भ भएको उनको चीन–बयान प्रायजसो सबै क्षेत्रलाई समेट्ने प्रयत्नतिर उन्मुख देखिन्छ । चीनको राजधानी बेइजिङको पुरानो नाम हो, पैचिङ । उनले पैचिङको चिनारी गराउने क्रममा लेखेका छन्, ‘पैचिङको वसन्त याम निकै नै छोटो हुन्छ । करिब ६ महिनाको चिसोपछि वसन्त लाग्यो कि जस्तो हुन्छ र वसन्तको आभाससँगै आगमनको प्रतीक्षा गरिन्छ र त्यो अनुभव गर्न नपाउँदै केही दिन र हप्ता दिन बितेलगत्तै केटीहरूको पहिरनबाटै गर्मीको आभास भइसक्छ ।’ उनले पैचिङमा अवस्थित तिआनमेन चोक, माओ मेमोरियल हल, सहिद स्मारक स्तम्भ, राष्ट्रिय संग्रहालय, ग्रेट हल अफ पिपललगायत स्थानलाई चिनाउन खोजेका छन् ।
चीनको समाजभित्र छिर्ने प्रयत्नका पाइला पनि उनले चालेका छन् । चीनको सन्तान नीति, विवाह सम्बन्ध र विच्छेद, प्रदूषणजस्ता सामाजिक समस्याका विषयहरूलाई पनि उठान गर्न चाहेका छन् । यसैगरी, चीनको संस्कृति पनि कोट्याउन खोजिएको छ । वसन्तको आगमनसँगै नयाँ वर्षलाई चिनियाँहरूले कसरी स्वागत गर्छन् भन्ने पक्षलाई उनले संस्कृतिको पाटोसँग जोड्न चाहेका छन् ।
चीनमा रहँदा आफूले यात्रा गरेका तिब्बत र त्यसको राजधानी ल्हासा, सिगाचे, च्याङ्च सहर, सनोङचियाको बयान उल्लेख गरेका अजयले राष्ट्रपति सी जिनपिङको नयाँ विचारधाराले चीनलाई कस्तो बनाउला भन्नेतिर पनि चिन्तन, मनन गर्न भ्याएका छन् । साथै, उनले नेपाल र चीनबीचको सम्बन्धका आयामहरू केलाउन पनि खोजेका छन् । नवीन रेशममार्गका कारण चीन र नेपालको सम्बन्ध अझ घनीभूत हुने अनुमान गर्दै उनी लेख्छन्, ‘अन्तर्राष्ट्रिय शान्ति र आर्थिक साझेदारीमार्फत विश्व एकता तथा वैश्वीकरणको लक्ष्य बोकेको चीनको महŒवाकांक्षी नवीन रेशममार्ग अर्थात् वान बेल्ट वान रोड परियोजनाले यसमा आबद्ध मुलुकको आर्थिक विकासका साथै सांस्कृतिक सम्बन्धसमेत मजबुत हुने चीनको विश्वास छ । विश्वका सबै मुलुकसँग मित्रता, एकता, सहकार्य गर्दै आर्थिक समृद्धिसँगै विश्वको जीवनस्तर सुधार्न नै यसको मुख्य लक्ष्य रहेको छ ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply