प्रेमको वरिपरि
पछिल्लो समय, नेपाली साहित्यमा फस्टाउँदो विधाका रूपमा गजल विधा रहेको छ । र, गजल लेखनमा समर्पित रहेका स्रष्टाहरूले गजल–लेखनमा नयाँनयाँ प्रयोग र अनेक विषयवस्तुलाई उठाउन पनि चाहेका देखिन्छन् । गजलको परम्परागत मानकलाई पन्छाउँदै स्रष्टाहरूले नयाँ परिवेश र घटनाक्रमलाई लेखनको विषयवस्तु बनाउँदै आएका छन् । पछिल्लो समय गजल लेखनमा लागिरहेका थापा थकितले पनि अनेक विषयमा टेकेर गजल लेखनलाई समृद्ध तुल्याउँदै लगेका छन् । उनको ‘जलिरहेका आस्थाहरू’ त्यसकै संग्लो उदाहरण बन्न पुगेको छ ।
नयाँ पुस्ताका गजल–सर्जकहरूले आफूले भोगेका, देखेका र छामेका घटनालाई नै गजल लेखनमा उतारिरहेका छन् । थकितले पनि त्यही क्रमलाई पछ्याएका छन् । हरेकजसो नेपाली स्रष्टा देशको सीमा मिचिँदा हतप्रभ बन्न पुग्छन् । सीमा मिचिँदा त्यसमा शाब्दिक प्रतिरोध गर्न स्रष्टाहरू पछि हट्दैनन् । देशको सीमा मिचिँदा जागरुक बन्ने स्रष्टाहरूका पंक्तिमा उनले आफूलाई पनि उभ्याएका छन् । साथै, सीमा मिच्ने छिमेकीप्रति लपक्कै टाँसिने शासकप्रति पनि उनको आक्रोश पोखिएका पाइन्छन् । उनी लेख्छन्, ‘बुद्ध भारतमा जन्मे भन्दै झूटो प्रचार फिँजायो आज÷अस्तित्वमा धावा बोल्दा नेपालीलाई बिझायो आज÷वीर हामी नेपाली भनी विश्वमा पुर्खाले चिनाका थिए÷कालापानी, सुस्ता रुँदा आँसुले परेली भिजायो आज’ ।
प्रेम, एक विशाल फलक हो । सिंगो विश्व, देश, समाज र परिवार प्रेमकै जगमा उभिएका छन् । जब प्रेमको जग हल्लिन थाल्छ, सबैतिर घृणा, आक्रोश, कोलाहल, वितृष्णा, भयका कम्पनहरू पैदा हुन पुग्छन् । गजल–स्रष्टा थकितले देशप्रेम, राष्ट्रियता, मानवीय पक्षहरूबारे लेखे पनि उनको लेखनको मूल स्वर भने प्रेम नै हो । उनको प्रेमको साँध विशाल प्रतीत हुन्छ । त्यसमा प्रेममा धोका पाएकोदेखि चोखो माया लगाउनेसम्मका कथा–व्यथा छरपस्ट भएका छन् । उनी लेख्छन्, ‘तिमी मेरो यो जीवनमा नआएको होइन÷मैले पनि तिमीलाई नै नचाहेको होइन÷जीवनको सुख–दुःख एकै ठाउँ सँगालेर÷तिम्रो नामको गीत लेखी नगाएको होइन’ ।
त्यसो त प्रेम–प्रणयका गजल लेख्दा थकितले अघिल्लो पुस्ताका मोतीराम भट्ट, भीमनिधि तिवारी र पछिल्लो पुस्ताका ज्ञानुवाकर पौडेल, प्रकट पंगेनी ‘शिव’ले पछ्याएका शृंगारिक पक्षलाई पनि अँगाल्न पुगेका छन् । उनी लेख्छन्, ‘भमरा फूल देखेर आयो त्या लर्के डालीमा÷नजर मेरा अल्झियो तिम्रो रूपको लालीमा÷अप्सराजस्तै झलझली रूप मोहिनी त्यो चाल÷पर्छन् लठ्ठै भिनाजुहरू देखेर सालीमा’ । अन्ततः अग्रज गजल–शिल्पी बूँद रानाले थकितको गजल–लेखनप्रति गरेका यी टिप्पणी सान्दर्भिक लाग्छन्, ‘प्रकृतिले मान्छेलाई बहुमूल्य उपहारका रूपमा प्रदान गरेको कुरा विचार हो । हामीलाई थाहा भएकै कुरा हो, विचारका दुईवटा पाटा हुने गर्छन्, असल विचार, खराब विचार । असल विचार सृष्टिको सम्पत्ति हो, जसले सधैं समृद्धितिर डो¥याउँछ भने खराब विचार विपत्ति हो र त्यसले विनाश निम्त्याउँछ । गजलकार थकितले आस्थालाई जलिसकेको सम्बोधन गरेर आस्थाले जलेरै भए पनि न्यानो र उज्यालो प्रदान गर्ने सकारात्मक विचार प्रकट गरेझंै लाग्छ ।’
कृति ः जलिसकेका आस्थाहरू
विधा ः गजल
गजलकार ः थापा थकित
प्रकाशक ः सिन्धुलीगढी प्रकाशन
पृष्ठ ः ७२
मूल्य ः ५५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply