एकरसताबाट टाढा
शासक वर्गले गरेका गलत र अदूरदर्शी निर्णयहरूमाथि प्रश्नचिह्न उठाइँदा वा विमति जनाइँदा विमति जनाउनेहरूलाई फरक दृष्टिकोण हेर्ने गरिन्छ अझै । विगतमा त फरक मत राख्नेहरूलाई जसरी भए पनि पेलेरै सिध्याउने कुसंस्कृति सर्वत्र झ्याँगिएका थिए । अझ, द्वन्द्वकालीन समयमा त फरक मत राख्नेहरू राज्यको नजरमा माओवादी ठहरिन्थे । विमति, आलोचना र असन्तोषलाई पचाउन नसक्ने, बरु त्यस्ता विचार राख्नेहरूलाई दबाउने परिपाटी थियो ।
देविका तिमिल्सिनाको एउटा कथा ‘सात बीस फाँटको शान्ति’ मा त्यही तस्बिर देखिन्छ, छर्लङ्गै । समाजभित्र मत÷विमतहरू उब्जिन्छन् । तर, विमत राख्नेहरूलाई राज्य व्यवस्थाका पोसकहरूले सदैव बक्रदृष्टि मात्रै राखेको दृष्टान्त उनको उक्त कथामा झल्किन्छ । तिमिल्सिनाको नयाँ कथाकृति ‘देविका तिमिल्सिनाका कथा’ भित्रका अधिकांश कथा राजनीतिक वृत्त वरिपरि नै घुमेका छन् । समाजमा राजनीति, आर्थिक, सांस्कृतिक पाटाहरूले उब्जाएका तरंगहरू र त्यसमा मानिसहरूबीचका मत÷विमतलाई नै उनले आफ्नो कथा–लेखनको मूल ध्येय बनाएका छन् ।
‘अँध्यारो अझै थपिइरहेछ’ कथाले २०५२ सालमा माओवादीले जनयुद्ध थाल्नुअघिको रोल्पाको सदरमुकाम लिवाङ बजारको परिदृश्यलाई उतार्न चाहेको छ । कथाको मुख्य विषयवस्तु विकासे कार्यकर्ताका रूपमा रोल्पा गएकी एउटा कर्मचारीलाई जिल्लाका माथिल्लो तहका कर्मचारीहरूले बलात्कार गरेकोमा केन्द्रित रहे पनि २०४८ सालमा कांग्रेसको सरकार गठन भएपछि तत्कालीन जनमोर्चाका नेता–कार्यकर्ताहरूलाई दबाउन राज्यद्वारा मच्चाइएको श्वेत आतंकको पर्दाफास गरिएको छ । ‘योजना’मा भने सहरमा मालिकको घरमा काम गर्ने दुई घरेलु श्रमिकको पीडा अभिव्यक्त हुन पुगेको छ । दिनरात घरायसी श्रममा जोताए पनि मालिक भनाउँदाहरूले आफ्ना आवश्यकता पूर्ति नगरिदिएकोमा दुई भिन्न घरमा काम गर्ने घरेलु श्रमिकबीचको संवादमार्फत उनीहरूमा आफ्ना मालिकप्रति रोष, असन्तुष्टि र अर्कै पेसा अपनाउने सोचसमेत पलाएको देखाइएको छ । यो कथा घरेलु श्रमिकको दयनीय स्थिति, उनीहरूका पीडा र भित्रभित्रै पलाइरहेको विद्रोही भावलाई उतार्न सक्षम देखिएको छ ।
‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ ले तीसवर्षे पञ्चायती व्यवस्थाको अन्त्य भएर २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएको परिवेशलाई नियाल्न चाहेको छ । २०४६ सालमा देशमा प्रजातन्त्र आएपछि पञ्चायतलाई सघाउँदै आएका मण्डलेहरूले बदलिँदो राजनीतिक परिस्थितिसँगै आफूलाई बदले । अर्थात्, अधिकांश मण्डलेहरूले कांग्रेसको सदस्यता लिए र केही मण्डलेहरू कम्युनिस्ट पार्टीको छहारीमुनि शीतल ताप्न पुगे । बहुदल आएपछि रातारात कांग्रेस बनेर आफूलाई सच्चा प्रजातन्त्रवादी देखाउन सक्रिय एउटा कुख्यात चरित्र यो कथामा उतारिएका छन् । खासगरी, परिवर्तनपछि परिवर्तनका विपक्षमा उभिँदै आएकाहरू रातारात कसरी बदलिन्छन्, अवसर छोप्नेहरूमा त्यस्ता चरित्र नै अगाडि हुन्छन् भन्ने यथार्थलाई यो कथाले उधिन्न चाहेको छ ।
चालीसको दशकदेखि नै कथा लेखनमा लागे पनि एकाध वर्ष लेखन कार्यबाट हराएका तिमिल्सिनाका कथाबारे अर्का कथा–सर्जक इस्मालीको मूल्यांकन धेरै नै अर्थपूर्ण देखिन्छन् । उनी लेख्छन्, ‘अधिकांश कथामा समाजका औसत, निम्नवर्गीय र अग्रगामी परिवर्तनका आकांक्षी चरित्रहरूलाई कथाको केन्द्रबिन्दु बनाएका भए तापनि केही कथाका खलपात्रहरू र तिनको क्रमिक पतनको यथार्थ चित्र पनि यिनका कथामा मुखरित भएको औ कथाहरूमा एकरसता नभएर विषय विविधता रहेको पाइन्छ ।’
पुस्तक ः पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ
विधा ः कथासंग्रह
कथाकार ः देविका तिमिल्सिना
प्रकाशक ः कौसिकी साहित्यिक त्रैमासिक
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply