अनेक भावबोधले समृद्ध
स्वतन्त्रताप्रति उत्कट चाह युवाकवि कृसु क्षेत्रीको कविता–लेखनको मूल स्वर हो । पचासको दशकदेखि कविता लेखनमा सक्रिय उनले स्वतन्त्रता, न्याय, समानता र विश्वबन्धुत्वको गहन सन्देशयुक्त लेखन कर्ममा आफूलाई उभ्याउँदै आएका छन् । सीमान्त तहका स्वरदेखि विश्वस्तरीय गुञ्जनसम्म फैलिएका उनका कवितामा मानवीय गरिमा र अस्तित्वको प्रभाव, लय र कोमलता स्पष्ट रूपमा झल्किन्छन् ।
‘चराको गीत’ क्षेत्रीको नवीन कविताकृति हो । अनेक रङमिश्रित छन्, उनका कविता । जीवनको आन्तरिकता, असीमितता, अजेयता र यथार्थबोध उनको लेखन संसारमा बारम्बार उद्घाटित भइरहेको आभास हुन्छ । लाग्छ, उनी कवितामा विषयवस्तुको नवीनता र समसामयिकताप्रति जति सचेत देखिन्छन्, कलात्मक बान्की प्रदर्शन गर्ने कार्यमा पनि उत्तिकै गहन प्रतीत हुन्छ ।
२४० वर्ष लामो राजतन्त्र विघटन हुनु नेपालको राजनीतिक वृत्तमा ठूलो परिघटना हो । परिवर्तन हुन नचाहने÷नखोज्ने शक्तिहरूलाई जनताले गहन पाठ सिकाउँछन् भन्ने यथार्थ २०६२÷६३ को जनआन्दोलनपछि इतिहासको खाल्टामा पुरिन गएको राजतन्त्रलाई हेरे पुग्छ । तर, राजतन्त्रको अन्त्य भए पनि त्यसको जग–निर्माणमा भएको ज्यादतीको तस्बिर भने अझै पनि टाँगिएकै छन् र त्यो तस्बिरलाई ‘म कीर्तिपुर नाक माग्दै छु’ कविताले प्रस्ट पारेको छ । ‘चराको गीत’ स्वतन्त्रताको पक्षमा दह्रो वकालत गर्ने कविता हो । मानव जातिले आदिम युगदेखि नै स्वतन्त्रतालाई जीवन बाँच्ने एक मात्र मुख्य आधार र ध्येय मान्दै आए । स्वतन्त्रताको प्राप्तिमा सर्वस्व गुमाउनु परे पनि मानव जाति पछाडि हटेको इतिहास छैन । स्वतन्त्रताको भोक मानिसमा भन्दा अरूमा सायदै होलान् ।
स्वतन्त्रता प्राप्तिको लडाइँमा लामो धैर्य र आत्मविश्वासको खाँचो पर्छ । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ काङ सुकीले आफ्नो देशको सैनिक शासनविरुद्ध दशकौं लामो लडाइँ लडिन् । प्रजातन्त्रको निर्मम रूपले बध गर्ने सैन्य शासकप्रति उनी झुकिनन् । ‘आङ काङ सुकीलाई एउटा पत्र’ तिनै प्रजातन्त्र सेनानी सुकीप्रति समर्पित र उनको साहस गाथालाई सम्बोधन गरिएको काव्य दस्तावेज हो ।
‘बादलको तस्बिर’ले भने देशको कहालीलाग्दो स्केच उतार्ने प्रयत्न गरेको छ । त्यो स्केचमा देखिन्छन्– सीमा मिचिएको, युद्धका डोबहरू खनिएको एउटा भयग्रस्त आकृति, जसले नेपाली मन मस्तिष्कलाई सदैव गिजोलिरहन्छ । ‘निरो र अभिनन्दन’ वर्तमान समयको कटु यथार्थ हो । आजको विश्वमा जसले मानवताविरुद्ध कदम चाल्छन्, हिंसा र क्रूरतालाई प्रश्रय दिन रुचाउँछन् र युद्धका बेल्चा उचाल्न रमाउँछन्, त्यस्ता पात्रहरू नै सम्मानित जीवन बाँचिरहेका छन् । खलपात्रहरूलाई सम्मान मिलिरहेको बेला निरोले अभिनन्दनको चाहना राख्नुलाई कवि सार्थक र सान्दर्भिक ठान्दछन् ।
एनका केही कविता व्यक्तिको स्केच कोर्न पनि उद्यत छन् । जसमा बुवा ः एक सारथि, दुबसु क्षेत्री, क्याराभानमा बाँचेको थिन्ले, काजोल खातुनजस्ता कविता रहेका छन् । ‘बुवा ः एक सारथि’मा उनको काव्यचेत र संवेदना यसरी प्रकट हुन्छन् ः
‘एक दिन
बुवा हामीलाई छाडेर
महाशून्यतर्फ बिलाउनुभयो
तर विगतजस्तै छ समय
यथावत् छन् जीवनभोगाइहरू
यस्तो बेला
सधैंका लागि निभेको छ ट्राफिक बत्ती
सडकमा मान्छेमाथि कुदिरहेछन् दुर्घटनाका सवारीहरू
कुरुक्षेत्रमै अनुपस्थित छ सारथि
जीवनको पाठशालाबाट शिक्षक प्रवासिएको छ
सदाका लागि अस्ताएको छ चन्द्रमा
र,
बुवाले छाडेकै दिनदेखि
मनमा एकाएक बढ्दै छ शून्यता
जीवनमा एकतमास बढ्दै छ एकाग्रता ।’
परराष्ट्र सेवामा कवि क्षेत्री रहेका हुँदा विदेश बसाइँका अनुभूति पनि उनका काव्य सिर्जनामा पोखिएका छन् । अमेरिकामा भानु, नायग्रा फल्स, प्रवासको दसैं, स्ट्याचु अफ लिबर्टीमा एक शरणार्थी, हिमपातमा न्युयोर्क, बार्ड अफ एभन, साँझमा पेरिस र स्पिकर कर्नरमा उभिएरजस्ता कविताले डायस्पोरिक चेतको दैलो उघार्छ ।
अनेक भावबोधले समृद्ध उनका कवितामा स्वतन्त्रताको स्वर प्रकट हुनुका साथै मानवीय सरोकार पनि यथेष्ट रूपमा उदाउँछन् । उनका कविता राजनीतिक चेतनासम्पन्न त छँदै छ, त्यसका अलावा हामी बाँचिरहेको समय र परिवेशप्रति आलोचनात्मक दृष्टिकोण पस्किन पनि उत्तिकै सक्षम देखिन्छन् । मूलतः कृसुका कविता विशाल समुद्रमा उब्जिने शक्तिशाली लहरजस्तै हुन्, जुन लहरले किनारमा उपस्थित चट्टानहरूलाई समेत चुनौती दिन्छन् ।
कृति ः चराको गीत
विधा ः कविता
कवि ः कृसु क्षेत्री
प्रकाशक ः साझा प्रकाशन
पृष्ठ ः १३४
मूल्य ः २०५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply