जीवनको गोप्य दस्तावेज
हरेक मानिसको जीवनका भोगाइ पृथक्पृथक् हुन्छन् । लामो समय सरकारी सेवामा बिताएका मदनदेव आचार्यले पनि भोगाइका धेरै अनुभव–शृंखलाहरू बटुल्न पुगे । सामान्य जन तहदेखि शक्तिशाली राजपरिवारसम्मका दिनचर्यालाई उनले नजिकैबाट छाम्न पाए, त्यसलाई मूल्यांकनको तराजुमा जोख्न पाए । यस्तो अवसर कमै मानिसहरूले मात्र पाउँछन्, जुन पूर्वकर्मचारी आचार्यले पाए । तर, उनले आफ्नो जीवनयात्राका आरोहअवरोहहरूलाई आफूभित्रै सीमित राख्न चाहेनन् । जीवनमा आर्जन गरेका ज्ञान, अनुभव र तीता–मीठा प्रसंगहरूलाई उनले बाहिर ल्याउन चाहे र त्यसकै प्रतिफल हो– ‘खिचडी’ ।
नेपालको राजनीतिमा कोइराला परिवारको उपस्थिति २००७ सालको क्रान्तिपूर्वदेखि नै रहँदै आयो । प्रजातन्त्र स्थापना भएयता कोइराला परिवारको राजनीतिमा वर्चस्व र चर्चा–परिचर्चा सदैव नै रह्यो । राजा महेन्द्रले एक दलीय पञ्चायती व्यवस्था भिœयाएर आफूअनुकूल राजनीतिलाई अगाडि डो¥याउँदा पनि बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेताहरू राजनीतिक वृत्तबाट कहिल्यै ओझेलमा परेनन् । तिनै कोइराला परिवारका नातेदार पर्ने आचार्यले आफूलाई राजनीतिभन्दा सरकारी सेवामा नै जीवनभरि समर्पित तुल्याए । परराष्ट्र मन्त्रालयमा कार्यरत रहेका उनले दरबार, कोइराला परिवार, विदेशी पाहुनाहरूसँगको सामीप्य आदि घटनाक्रमलाई नजिकैबाट नियाल्ने अवसरमा मात्र पाएनन्, व्यापारमा हात हालेर आर्थिक रूपले सुदृढ हुने बाटाहरूको खोजी पनि गरे ।
काठमाडौंका रैथाने परिवारमा जन्मिएका आचार्यले साना छँदा उटपट्याङ कामहरू धेरै नै गरे । अध्ययनमा रुचि राख्नुका साटो आफ्नै उमेर–समूहका मानिसहरूसँग बरालिएर हिँड्ने उनको स्वभावलाई न्यूनीकरण गर्न परिवारका सदस्यहरूले अनेक कदम पनि चाले । तर, हुर्किंदै गएपछि भने उनले सबै गलत क्रियाकलापलाई तिलाञ्जली दिए । उनले बाल्यकालीन दिनमा आफूले गरेका उपट्याङ कार्यहरूलाई हुबहु पस्किने काम गरेका छन् । तर, जागिरे जीवन अँगालिसकेपछि कोइराला परिवारसँगको निकटतालाई उनले यसरी खुलाएका छन्, ‘तारणी कल्पना प्रेस र पत्रिका चलाउँथे । उनकी छोरीको नाम पनि कल्पना थियो । कोइराला परिवारका सबै काठमाडौं आउँदा त्यहीँ बस्थे । त्यहाँ तुलसी गिरी, उनकी श्रीमती किशोरी र विश्वबन्धु थापा पनि बरोबर बस्ने गर्थे । एकपटकको कुरा हो, त्यहाँ भात खाने थाल थोरै तर खानेहरूचाहिँ धेरै भयौं । कसैलाई थाल र कसैलाई पत्रिकामा दिन नमिलेकाले एकैनाश गर्न हामी सबैले पत्रिकामा खाएको अहिल्यैजस्तो लाग्छ ।’
परराष्ट्र सेवामा रहँदा उनी राजा महेन्द्रसँग पनि निकट रहे । बेलायतकी महारानी एलिजावेज द्वितीया र भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको नेपाल भ्रमण हुँदाका क्षणलाई पनि उनले नजिकैबाट नियाल्न पाए । पछिल्लो समय भने उनले स्वास्थ्य मन्त्रालयको मातहतमा रहेर काम गरे । ती पञ्चायतकालीन दिनहरू थिए । पञ्चायतका मन्त्रीहरूको बानीबेहोरा र कार्यशैलीलाई पनि उनले राम्ररी नै बुझ्न पाए । पछि भने उनले औषधि उद्योग खोलेर आयआर्जनका माध्यम अपनाए, चलचित्र निर्माणमा हात हाले । तर, औषधि उद्योग स्वविवेकमै बन्द गरे र चलचित्र निर्माणमा लागेर उकासिन सकेनन् ।
मूलतः आचार्यको ‘खिचडी’ पठनीयताका हिसाबले अब्बल छ । जीवनका हरेकजसो भोगाइहरूलाई मसिना खण्डहरूमा बाँडेर पुस्तकाकार रूप दिएका उनले जीवनकै गोप्य दस्तावेज खोलेको प्रतीत हुन्छ । घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले त्यही कारण लेखेका छन्, ‘यो खिचडीमा धेरै कुरा पाकेका छन् । धेरै कुरा मिसिएका छन् । जताबाट जसरी खाए पनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमा जहाँ पल्टाए पनि मदनदेवलाई पाउँछौं ।’
कृति ः खिचडी
लेखक ः मदनदेव आचार्य
प्रकाशक ः घोष्ट राइटिङ नेपाल
पृष्ठ ः ३३४
मूल्य ः ३७५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply