दुई देशका झझल्काहरू
नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू पनि सँगाल्न सकिन्छन् । र त मानिसहरूले युगौंदेखि नै देश–देशावर घुम्ने र आफूलाई तरोताजा राख्ने कार्य गर्दै आइरहेका छन् ।
प्रगतिशील स्रष्टा राम विनय घुमन्ते स्वभावका लाग्दैनन् । तर, विदेशमा रहेका आफ्ना सन्तानहरूको आग्रहलाई उनी टार्न सक्दैनन् । जागिरका क्रममा पटकपटक विदेश यात्राको अनुभव सँगालेका विनयको अमेरिका र बेलायत यात्रा भने नितान्त पारिवारिक यात्राको तहमा खुम्चिएका छन् । ‘झझल्को’ ती दुई देशमा घुम्दा, आफन्त, नातागोता र साथीहरूसँग भेटघाट हुँदाका सम्झनाहरूलाई अक्षरबद्ध गरिएको उनको यात्रा–सँगालो हो ।
बेलायतमा उनका छोरीज्वाइँ र अमेरिकामा छोरीबुहारी बस्छन् । र, उनीहरूले विनय र उनका पत्नीलाई ती दुवै देश घुम्न आमन्त्रण गर्छन् । आफ्ना सन्तानहरूका आग्रहलाई शीरोधार्य गर्दै २०७१ सालको असारमा विनय–दम्पती प्रथमतः छोरीज्वाइँको आतिथ्य स्विकार्न बेलायत उड्छन् र बेलायतपछि उनीहरूको गन्तव्य हुन्छ, अमेरिका । ती दुवै देशमा उनीहरू महिनौंसम्म रमाउँछन्, ती देशहरूले विकासमा फड्को मारेको देखेर मुग्ध हुन्छन् र धीत मरुन्जेलसम्म घुमेर स्वदेशमा फर्किन्छन् ।
विनय वामपन्थी विचार बोक्ने स्रष्टा हुन् । बेलायत पुग्दा कम्युनिस्ट विचारधाराका प्रवर्तक कार्ल माक्र्सको समाधिस्थलमा नपुगी उनको चित्त बुझ्दैन । बेलायतको भूमिमा टेकेको केही दिनपछि नै उनी माक्र्सको समाधिस्थलमा पुग्छन् । यस्तो सपना उनले धेरै समयदेखि साँचेका थिए । उनी लेख्छन्, ‘सुन्दर वनका बीच गोलो घेरा बनाई माक्र्सको अर्धकदको मूर्ति राखिएको रहेछ । उनको सालिक अगाडि पुग्दा मेरो छाती उनीप्रतिको श्रद्धा र प्रेमले भरिएर आयो । मन एकतमासको भएर आयो । उनको सालिकस्तम्भमा लेखिएका कुराहरूको टिपोट गर्न मन लागेकाले ती विवरण टिपें । आज म यहाँ आइपुगेर आफूलाई धन्य महसुस गरें ।’
बेलायतमा रहँदा उनी माक्र्सको समाधिस्थलमा मात्र पुग्दैनन्, कार्ल माक्र्स पैदल भ्रमणमा पनि सामेल हुन्छन् । जुन भ्रमण हरेक शनिबार लन्डनको पिकाडेली सर्कसस्थित क्राइटेरियन थियटर भवनअगाडिबाट हुने गर्दो रहेछ । विनय–दम्पतीले बेलायतमा करिब तीन महिना बिताउँछन् र त्यसपछि उनीहरू अमेरिकाको एरिजोनातिर २०७१ भदौको अन्तिम दिनहरूमा प्रस्थान गर्छन् । र, त्यो वर्षको दसैं विनय–दम्पतीले छोरा, बुहारी र नातिसँगै अमेरिकामा नै मनाउँछन् । उनीहरू एरिजोनामा अवस्थित हिन्दू मन्दिरमा पनि पुग्छन् । उनी लेख्छन्, ‘मन्दिर ९ बजे खोल्ने भनेर सूचना टाँसिएको थियो । तर, हामी गएको देखेर होला पुजारीले छिटै ढोका खोले । हामी मन्दिरमा पस्यौं । श्रीमती सीता र बुहारी विमलाले पूजाआजा गरे । हामीले हेरिरह्यौं ।’
मूलतः विनयको यो यात्रा–संस्मरण सँगालोमा नितान्त पारिवारिक प्रसंगहरू आए पनि किताब पढ्दै जाँदा पाठकलाई उनी पुगेका भूभागहरूमा अवश्य नै पु¥याउनेछ । पाठकले पनि विनयले टेकेकै थलोहरूमा टेकिरहेका आभास पाउनेछन् ।
कृति ः झझल्को
विधा ः यात्रा संस्मरण
यात्राकार ः राम विनय
प्रकाशक ः मञ्जरी पब्लिकेसन
पृष्ठ ः ३१६
मूल्य ः ४००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply