बलरामको ध्यान अब रेल्वेमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर काठमाडौं रक्सौल रेल्वे सेवा सञ्चालनको सन्दर्भमा सम्झौता हुने निश्चित भएसँगै बन्दप्रायः रेलवे विभागमा जान प्रतिस्पर्धा नै चलेको छ । अरूबेला कसैले आँखा नलगाउने र कर्मचारीलाई थन्क्याउन प¥यो भने रेलवे विभागमा लैजाने गरेकामा अहिले त्यसको महानिर्देशक बन्न केही भ्रष्ट कर्मचारीहरू दौडधुप गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारत र चीनसँग रेलवेको माध्यमबाट जोड्ने सपना साँचेर काम सुरु गरेसँगै भविष्यमा त्यहाँबाट राम्रो आर्जन गर्न सकिने आशा लिएर सो विभागमा जान केही कर्मचारी दौडधुपमा लागेका हुन् । यसरी दौढधुप गर्नेमा सडक विभागका इन्जिनियर बलराम मिश्र रहेको बताइएको छ ।
इन्जिनियर मिश्रले पछि हुने यही फाइदा हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई प्रभावमा पारी सो विभाग आउन दौडधुप गरिरहेको बताइएको छ ।
मिश्र डिभिजन कार्यालय ललितपुरको प्रमुख भएर बस्दा आफ्ना निकट मान्छेहरूलाई विभिन्न ठेक्का दिएर प्रिपेड कमिसन लिई दुई करोड रुपैयाँ आर्जन गरेका व्यक्ति भएको बताइन्छ । त्यो बेला ठेकेदार र इन्जिनियरहरूसँग मिलेमतो गरी आयोजना लागत बढाएर कमिसन खान खप्पिस मानिन्छन् । हाल सडक विभागअन्तर्गत रहेका उनी डिभिजन सडक कार्यालय काठमाडौंको प्रमुख अर्थात् गोपाल खड्काको स्थानमा हुँदा कलंकी कोटेश्वरको सडकबाट मात्र १२ करोड रुपैयाँ ठेकेदारमार्फत कमिसन लिएको बताइन्छ । ठूला आयोजनाहरूमा सचिव तथा मन्त्रीसमेतलाई रिझाएर ठूलो अंकमा भ्रष्टाचार गर्ने बलरामको बानी अहिले पनि यथावत् रहेका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । विगतमा डिभिजन सडक कार्यालय कास्कीमा समेत बसेका उनी पछिल्लो समय हुलाकी सडक आयोजनामा थिए । त्यहाँ विभिन्न ठूलाठूला ठेक्का लगाएर ६० करोड रुपैंया कमिसन हात पारेका बलामले पुनः राम्रो मालदार स्थानमा जानका लागि जति पनि खर्च गर्न तयार रहेको भन्दै दौडधुप गरिरहेको स्रोतले बतायो । उनले विभिन्न कार्यालयमा उपकरण खरिद तथा मर्मत सम्भारको फर्जी बिल देखाएर लेखा अधिकृतसँग मिलेर करोडौं रकम हिनामिना पारेको समेत आरोप छ ।
विभिन्न स्थानमा गरेका अनियमितताले अकूत कमाएका मिश्रले जोरपाटीमा एउटा घर र १२ रोपनी जग्गा किनेको तथा कोटेश्वरजस्तो अत्यन्त महँगो स्थानमा पनि घर खरिद गरेको बताइएको छ । त्यति मात्र होइन, उनले बुद्धनगरमा आफ्नी दिदीको नाममा सात आना जग्गा खरिद गर्नुका साथै वीरगन्जमा पनि घर र १६ रोपनी जग्गा खरिद गरेका छन् । त्यति मात्र होइन, मैतीदेवीमा अन्य व्यक्तिको नाममा समेत घर खरिद गरेको बताइएको छ । यस सम्बन्धमा प्रतिक्रियाका लागि मोबाइलमा सम्पर्क गर्दा उनले उक्त समाचार सत्य नभएको र आफू निर्दोष रहेको जिकिर गरे ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply