सघन आत्म–मन्थन
हरेक मानिससँग अनुभवका अथाह पुञ्ज हुन्छन् । जीवन भोगाइका क्रममा हरेक मानिसले गुलिया अनुभव मात्र टिपेका हुँदैनन्, तीता र टर्रा अनुभूतिहरु पनि प्रशस्तै बटुलेका हुन्छन् । सम्पूर्ण जीवन नै राजनीतिक कर्ममा बिताएका भरतमोहन अधिकारीसँग पनि टर्रा–मीठा अनुभवहरुका अग्लो चाङ नै छ । अनुभवका तिनै चाङ थुपार्ने क्रममा उनले ‘संसददेखि संविधानसभासम्म’ पुस्तक ल्याएका छन्, जसमा उनको राजनीतिक जीवनका पछिल्ला उतारचढावहरु एकत्रित छन् । यसअघिको ‘मेरो जीवन यात्रा’ मा भने उनले जीवनका प्रारम्भिक अध्यायका पानाहरु पल्टाएका छन् ।
२०५६ सालयता नेपाली राजनीतिको प्रवाह मैदानी इलाकामा बग्ने नदीजस्तै हुन सकेन । त्यस यताको राजनीति पहाडी खोंच र तरेलीहरुमा बग्ने नदी–खोलाजस्तै बन्यो । राजनीतिकर्मी अधिकारीले माओवादी र राज्यसत्ताबीचको घनीभूत लडाइँ, राजदरबार हत्याकाण्ड, तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश कदम, राजनीतिक दलमाथि प्रतिबन्धदेखि २०६२÷०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएर संविधानसभाको निर्वाचन सम्पन्न हुँदै संविधान निर्माण भएसम्मको अवधिलाई यो पुस्तकमा समेटेका छन् । नेपाली राजनीतिको जटिल र संक्रमणकालीन दिनहरुमा आफूले राजनीतिमा निर्वाह गरेका अहम् भूमिकालाई अभिकेन्द्रमा राखेर उनले त्यस क्रममा घटित राजनीतिक उतारचढाव, पार्टीभित्रका अन्तरविरोधका साथै राजकीय जिम्मेवारी सम्हाल्दा सँगालेका अनुभवहरुलाई टिप्न चाहेका छन् ।
नेपालको राजनीतिक इतिहासमा उथलपुथलको चरण मानिने डेढ दशकको अवधिमा आफूले सँगालेका अनुभवलाई उनले तीन खण्डमा बाँडेका छन् । त्यसमा २०५६ यताका अवधिलाई ‘संसदीय काल’, राजा ज्ञानेन्द्रले निरंकुश यात्रा प्रारम्भ गरेपछिको अवधिलाई ‘प्रतिगमन’ र २०६५ पछिको समयलाई ‘गणतन्त्र यात्रा’ मा विभाजित गरिएको छ । ‘संसदीय काल’ खण्डमा २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता गिरिजाप्रसाद कोइरालालाई हराउन सद्भावना पार्टीसँग चुनावी तालमेलको प्रसंग उठे पनि त्यसले मूर्त रुप पाउन सकेन । उक्त प्रसंगलाई कोट्याउँदै उनको लेखेका छन्, ‘विडम्बना, सद्भावनासँग हाम्रो तालमेल भएन । गिरिजाबाबुले मभन्दा करिब ६ हजार मत बढी ल्याउरु निर्वाचन जित्नुभयो । उता क्षेत्र नम्बर ६ मा पनि निर्वाचन हारियो । निर्वाचनमा तालमेल गरेको भए निश्चित रुपले गिरिजाबाबुले निर्वाचन हार्नु हुने रहेछ ।’
आफ्नै पार्टीभित्रका नेताहरुका साथै अरु राजनीतिक दलका नेताहरुसँग चर्किएको अन्तरविरोधलाई उनले सतहमा ल्याउन रुचाएका छन् । पछिल्लो समय उनको अन्तरविरोध एमालेको वरिष्ठ नेता झलनाथ खनालसँग चर्किन पुगेको रहेछ । खनाल नेतृत्वको सरकारमा अर्थमन्त्री भएका उनले निकै नै प्रताडना झेल्नुप¥यो । अझ, आफू विदेशमा रहेको मौका पारेर अर्थराज्य मन्त्रीमा विवादास्पद व्यक्ति ल्हार्केल लामालाई नियुक्त गरेपछि त उनी झनै मर्माहत भए । उनले लेखेका छन्, ‘म अमेरिका पुग्ने बित्तिकै ल्यार्केल अर्थराज्य मन्त्री भएको थाहा पाएँ । उनी मन्त्री भएकै भोलिपल्टदेखि दोहोरो नागरिकताको विवादमा तानिए । १० दिन नबित्दै राजीनामा गरे । कसलाई मन्त्री बनाउने, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने अधिकार प्रजातान्त्रिक परिपाटीमा प्रधानमन्त्रीलाई हुन्छ । यसमा विवाद गर्नु हुन्न । तर, प्रधानमन्त्रीले यो अधिकार प्रयोग गर्दा पार्टीलाई पनि साथ लिएर हिँड्नु पर्छ ।’
राजनीतिकर्मी अधिकारीको जीवनानुभवले भरिपूर्ण उक्त पुस्तकमा उनको अप्रतिम आत्म–मन्थन अभिव्यक्त भएका छन् । घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पनि उक्त पुस्तक प्रकाशनको औचित्य उल्लेख गर्दै लेखेका छन्, ‘मान्छेको अनुभव र अनुभवबाट आएको ज्ञान खेर जान दिनु हुँदैन । लिपिबद्ध गर्नुपर्छ । यही काम घोस्ट राइटिङ नेपालले गरेको छ । भरतमोहन अधिकारीजस्तो एकै जीवनमा धेरै जीवन बाँचेको विशिष्ट मानिसको अनुभव त झन् लेख्नैपर्छ ।’
कृति ः संसददेखि संविधानसभासम्म
विधा ः संस्मरण
लेखक ः भरतमोहन अधिकारी
प्रकाशक ः घोस्ट राइटिङ नेपाल
पृष्ठ ः ३७५
मूल्य ः ४५०।–
००
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply