खोलाछेउमा मन्त्री स्थापित बरालिँदा
काठमाठौं । प्रायः चिसो मौसम रहने काठमाडौंमा समेत अहिले ह्वात्तै गर्मी बढेको छ । झन् भित्री मधेस हेटौंडामा त कस्तो गर्मी होला, यतिबेला ? जोकोहीले सहजै अनुमान लगाउन सक्छन् । आखिर, हेटांैडा बजारको गर्मी छल्न नजिकैको मनहरी खोला वा रापती नदीको किनारतिर टहलिने रहर कसलाई हुँदैन र ?
तर, शनिबार साँझ मनहरी खोलातिर टहलिन निस्किँदा ३ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा निर्माणमन्त्री केशव स्थापित अहिले विवादको घेरामा तानिएका छन् । मन्त्री भएपछि अस्थायी मुकाम हेटौंडामा बस्दै आएका काठमाडौंका पूर्वमेयर स्थापित शनिबार साँझ एकाएक मनहरी खोलामा रहेको एउटा होटलमा देखा परे । रमाइलो स्वभाव र चरित्र भएका मन्त्री स्थापित त्यस दिन कुनै अफिसियली पोसाकमा थिएनन्, हाफ पाइन्ट लगाएर होटलमा आनन्दपूर्वक मदिराको चुस्की लगाइरहेको अवस्थामा स्थानीयवासीले उनलाई देखे ।
अचम्म त के भयो भने तत्कालीन नेकपा (एमाले) को टिकट पाएर काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश ‘क’बाट निर्वाचित भई प्रदेशको मन्त्रीसमेत बन्न पुगेका स्थापित मनहरी खोला छेउको होटलमा नेकपाका कार्यकर्ताहरूसँग भने थिएनन् । उनलाई नेपाली कांग्रेस मनहरी गाउँपालिकाका अध्यक्ष नारायण उप्रेतीले आफ्नो गाडीमा हालेर लगेका थिए । स्थापितसँगै मदिराको चुस्की र मनहरी खोलाको ताजा माछाको स्वाद लिनेमा उप्रेती, कांग्रेसका स्थानीय कार्यकर्ताहरू प्रकाश बर्तौला र पदम तितुङ रहेका थिए ।
मन्त्री स्थापितले कांग्रेसका स्थानीय कार्यकर्ताहरूसँग बसेर मदिराको चुस्की लगाइरहेको देखेपछि नेकपाका शुभचिन्तकहरूले प्रदेश नं. ३ का सांसद मुनु सिग्देललाई फोन गरेर आपत्ति जनाए र कार्यकर्ताहरूले दुखेसो पनि पोखे, ‘मन्त्रीज्यू मनहरीमा आउने कुरा पार्टीका कार्यकर्ताहरूलाई थाहा छैन । यो कस्तो तरिका हो ? हामीलाई केही खबर किन गर्नुभएन ?’
कार्यकर्ता र शुभचिन्तकको पंक्तिबाट मन्त्री स्थापितको लठिभद्र शैलीको विरोध आएपछि सांसद सिग्देलले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसामु कुरा राख्नु उचित ठानिन् । किनभने, यस्तो विषयमा प्रदेश सरकार प्रमुखलाई नै भन्नु उचित हुन्थ्यो । तर, मुख्यमन्त्री पौडेलले सांसद सिग्देलको फोन मरिगए उठाएनन् । मुख्यमन्त्री पौडेलमा अरूको फोन भरिसक्य नउठाउने र आफूलाई काम पर्दा मात्र अरूलाई फोन गर्ने स्वभाव रहेकाले सांसद सिग्देलले ३ नम्बर प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई फोन गरिन् र मन्त्री स्थापितको लाजमर्दो व्यवहारबारे जानकारी गराइन् ।
मन्त्रीको यो शैलीप्रति असन्तुष्ट नेकपाका कार्यकर्ताले स्थापितलाई भेटेरै असन्तुष्टि जनाए । तर, मदिराको नशाले रमरम भइसकेका मन्त्री स्थापितले जवाफ दिने क्रममा ‘मलाई कांग्रेसका मानिसहरूले कब्जामा लिए’ मात्र भने । मन्त्रीजस्तो मानिस पदीय र सामाजिक मर्यादामा नबस्दा अहिले मनहरी भेगका नेकपाका कार्यकर्ताहरू लज्जित बन्न पुगेका छन् । आफ्नै पार्टीका मन्त्रीले कांग्रेसका कार्यकर्ताहरूसँग बसेर मदिरा पिएको विषयले उनीहरूलाई भतभती पोलिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply