विडम्बनाको पर्दाफास
हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास सँगालेर विभिन्न चरित्रहरू रमाइरहेका हुन्छन् । स्रष्टा खेमराज पोखरेलले आफ्नो लघुकथा लेखनमा हामी बाँचिरहेको समाज र परिवेशका अर्थपूर्ण पाटोहरूलाई मिहिन रूपले केलाउँदै लेखन–क्षितिजमा उतारेका छन् । उनको सद्य प्रकाशित कृति ‘राम शाहको चौतारो’मा सामाजिक जीवनका अनेक दृश्य÷परिदृश्यहरू समेटिएका छन् ।
एउटा लघुकथाले सिंगो सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेशको उद्घाटन गर्न सक्छ भन्ने उदाहरण हो– ‘भाइ’ । यो लघुकथामा उनले मधेसका जनताले बेहोर्नुपरिरहेको गरिबी त उदांगो पारेको छ नै, मधेसमा व्याप्त दाइजो प्रथा, छोराप्रतिको आशक्ति र शिक्षाको महŒवहीनतालाई एकै साथ उठाएका छन् । गरिबीले थिचेको एउटा समाजको सिंगो तस्बिर देखिन्छ यो लघुकथामा । ‘साबुन पानी’मा भने नाराले मात्र कुनै पनि विकृति हट्दैन भन्ने कुरा उठाउन खोजिएको छ । अस्पतालको क्यान्टिनमा ‘बालश्रम अपराध हो’ भन्ने पोस्टर टाँसे पनि त्यही क्यान्टिनमा काम गर्ने बालश्रमिकलाई देखेपछि नाराले मात्र समस्या हल नहुने पक्षलाई इंगित गर्न चाहेको छ ।
‘बाउको माया’ले ढोंगी र बनावटी सन्तानको पर्दाफास गरेको छ । आफ्नो बाबुलाई असाध्यै माया गर्ने र बाबुको प्रयत्नकै कारण सम्पन्नताको सिँढी उक्लेका सन्तानले बाबुप्रति दर्साउने बनावटी श्रद्धा कस्तो हुन्छ ? छोराबुहारीले बाबुको श्राद्ध घरमा गर्दा घर फोहोर हुन्छ भनेर पशुपतिमा श्राद्धका लागि सम्पूर्ण व्यवस्था मिलाउँछन् । ढोंगी चरित्रलाई देखाउन उनको यो लघुकथा सक्षम ठहरिएको छ । ‘गरिब’मा भने धनसम्पत्तिको धक्कु लगाएर बाँच्ने र अरूप्रति हेपाहा व्यवहार गर्ने प्रवृत्ति बोकेर बाँचेका पात्रहरूको वास्तविक धरातल उधिन्ने प्रयत्न गरिएको छ । सम्पत्ति भएपछि अरूलाई लिलिपुट ठान्ने र असभ्य एवं अभद्र व्यवहार गर्नेहरूले अरुका श्रमलाई कसरी लुटिरहेका छन् र तिनीहरूको सामाजिक हैसियत कस्तो हुन्छ भन्ने यथार्थबोध यो लघुकथाले दिलाउँछ ।
‘चस्मा’मा पुस्तान्तरको समस्या देखाउन खोजिएको छ । अमेरिकामा बुढ्यौलीका दिनहरू बिताइरहेका व्यक्ति र उसका छोरा, बुहारी र नातिहरूले उनीप्रति गर्ने व्यवहार–कुशलता झल्किन्छ, यो लघुकथामा । ‘धनीको दसैं’ले भने विदेशमा दसैंतिहारजस्ता चाडपर्व मनाउँदाका बाध्यात्मक परिस्थितिलाई सतहमा ल्याउन चाहेको छ । सधैंभरि कामको चटारोमा रहनुपर्दा नवदुर्गा भवानीको प्रसाद घरमा खान नपाएर टिफिन बक्समा हालेर लैजानुपर्ने नेपालीहरूको दयनीय अवस्थालाई उदांगो पार्न खोजिएको छ उक्त लघुकथामा ।
अचेल अमेरिकामा बसोबास गर्दै आइरहेका पोखरेलले नेपाली समाज, जनजीवन र पारिवारिक उतारचढावहरूलाई लेखनको विषय बनाएका छन् नै, डायस्पोरिक जीवन बाँचिरहेकाहरूले झेल्नुपरेका सुखद, पीडादायी पक्षहरूलाई पनि उनले लेखनमा उतारेका छन् । नेपालको नेपाली समाज र अमेरिकामा बस्ने नेपालीहरूको समाज र पारिवारिक उल्झनहरूलाई विषयवस्तु बनाएका पोखरेलका लघुकथाहरू विडम्बनाको पर्दाफास गर्न सक्षम देखिएका छन् ।
कृति ः राम शाहको चौतारो
विधा ः लघुकथा
लघुकथाकार ः खेमराज पोखरेल
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः १८२
मूल्य ः २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply