सरुवा नहुँदा तोडफोडको सहारा
काठमाडौं । २०७५ साउन २७ गते आइतबार दिउँसोको ४ बज्दै थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको कार्यकक्षमा नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारी हुर्रिंदै छिरे र उनले एक्कासि सचिव थपलियाको टेबुलमा मुड्की बजार्न थाले । भण्डारीको त्यस्तो हर्कत देखेपछि सचिव थपलियालाई असह्य भयो र उनले भने, ‘तँ यहाँ आएर गुन्डागर्दी गर्छस् ? शिक्षा विभागमा गुन्डागर्दी गर्ने, आतंक मच्चाउने तैं होइनस् ?’
उपाध्यक्ष भण्डारी रिसले चूर थिए र उनले सचिव थपलियालाई थर्काउँदै भने, ‘तैंले के ठानेको छस् ? म तँलाई देखाइदिन्छु । हामीले भनेको कर्मचारीको सरुवा नगर्ने ?’ उपाध्यक्ष भण्डारीले उद्दण्डता प्रदर्शन गरिरहेका बेला संगठनका पूर्वअध्यक्ष मोहन घिमिरे र रामचन्द्र अधिकारी पनि सँगै थिए । तर, उनीहरू पनि भण्डारीको उद्दण्डता हेरेर बस्नुबाहेक स्थितिलाई सहजीकरण गर्न अग्रसर देखिएनन् ।
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरुवाको मौसमले छोपेकोे छ । साउनभरि र भदौ १५ गतेसम्म निजामती कर्मचारीहरूको सरुवा हुने भएको हुँदा मन्त्रालयमा सरुवा माग्ने, सरुवा गराउनेहरूको ताँती नै लाग्न पुगेको छ । तर, आइतबार मन्त्रालयमा भएको अप्रिय घटनाले भने निजामती कर्मचारीहरूको हर्कतको पर्दाफास गरेको छ ।
जुम्ला घर भएका र अहिले शिक्षा विभागमा कार्यरत उपाध्यक्ष भण्डारी सो दिन एक जना कर्मचारीको सरुवाका लागि मन्त्रालयमा पुगेका थिए । डोल्पाको एक स्थानीय तहमा कार्यरत शाखा अधिकृत नेत्रराज गिरीलाई आफ्नै गृहजिल्ला जुम्लामा सरुवा गर्न उनी मन्त्रालय पुगेका थिए । मन्त्रालयमा उनी सिधै उपसचिव ऋषिराज आचार्यको कार्यकक्षमा पुगे । आचार्यलाई उनले ‘मैले भनेको कर्मचारीलाई किन सरुवा नगरेको ?’ भनी झम्टिन पुगे । तर, सरुवा हेर्ने काम कर्मचारी प्रशासन महाशाखामा कार्यरत प्रेम लुइँटेलको भए पनि उनी आचार्यमाथि खनिन पुगेका थिए । आवेशमा आफ्नो कार्यकक्षमा छिरेका भण्डारीलाई शान्त तुल्याउने मनशायले आचार्यले पनि ‘हुन्छ हामी मिलाउँदै छौं’ भनेर जवाफ दिए । तर, आचार्यको जवाफपछि भण्डारी झनै उत्तेजित बने र उनको कार्यकक्षको टेबुल, भित्तामा मुड्की हाने, ढोकामा लात्तीले हाने र नजिकै रहेको गमला झारेर फुटाइदिए ।
रिस र आवेगमा आएका भण्डारी आफूसँगै आएका घिमिरे र अधिकारीलाई लिएर सचिव थपलियाकहाँ पुगेका थिए र सचिवको टेबुलमा मुड्की बजारेका थिए । सचिव थपलिया र भण्डारीबीच कर्मचारी सरुवाको विषयलाई लिएर केही समय ‘तँतँ र मम’ समेत चलेको थियो । उपाध्यक्ष भण्डारीलाई संगठनभित्र पनि अराजक र उद्दण्ड स्वभावको कर्मचारी नेताका रूपमा लिने गरिन्छ । यो विषयमा मन्त्रालयका उपसचिव आचार्यसँग बुझ्दा उनले भने, ‘यो त्यति ठूलो घटना होइन । सामान्य भनाभन मात्र भएको हो । हिँड्ने बेलामा गमला झरेर फुटेको चाहिँ साँचो हो ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply