सत्तारूढ पार्टी नेकपाको कार्यालय सुनसान
काठमाडौं । विश्वलाई चकित पार्दै नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धामा प्राप्त जनमतबाट प्रजातन्त्र स्थापनायता दुई तिहाइ बहुमतको शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार बनेको छ । यस्तो अभूतपूर्व सुखद क्षणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराही र कोटेश्वरस्थित पेरिसडाँडामा नेता–कार्यकर्ता पंक्तिको सधैं भीडभाड हुनुपर्ने हो । तर, बलियो स्थिर सरकार गठन भएको आठ महिना बितिसक्दा पनि पार्टी कार्यालयहरूको दृश्य भने फरक अर्थात् टीठलाग्दो छ ।
पार्टी कार्यालयहरूमा तत्कालीन केन्द्रीय कार्यालय सचिव र कर्मचारीहरू जान्छन्, हाजिर गर्छन्, आवश्यकताअनुसार कोही दिनभरि काम गर्छन्, कोही हाई काढ्दै सामाजिक सञ्जाल चलाउँछन् अनि ४ बजेपछि घर फर्किन्छन् । पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री, मन्त्री, सांसदहरू कसैको सवारीसाधन देखिँदैनन् । धुम्बाराहीस्थित कार्यालयमा जुन दिन महासचिव विष्णु पौडेल पुग्छन्, त्यस दिन मात्र केही नेताकार्यकर्ता उनलाई भेट्ने प्रतीक्षामा लाइनमा देखिन्छन् ।
उता, पेरिसडाँडास्थित कार्यालयमा भने छिटफुट जनवर्गीय संगठनका केही नेता–कार्यकर्ता संयोगले अपरिहार्य बैठकमा पुग्छन्, केहीकेही जाडोको घाम ताप्दै क्यान्टिनमा चिया खाएर फर्किन्छन् । यस्तो दृश्य देखेर पार्टीमा चार÷पाँच दशक बढी भोटो फटाइसकेका नेताहरू भने पार्टीमा निम्न पुँजीवादी, दलाल र अवसरवादी चिन्तन हावी हुँदै गएको, विधि–प्रक्रिया र पद्धति समाप्त हुँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्छन् ।
आजभन्दा २४ वर्षपहिले ०५१ सालमा पहिलोपटक एमालेको नेतृत्वमा कम्युनिस्ट सरकारबन्दा बल्खुस्थित पार्टी कार्यालय परिसरमा मन्त्री, नेता–कार्यकर्ताहरूसँगै सवारी–साधनहरूको भीडभाड लाग्थ्यो । त्यति मात्र होइन, हरेकपटक पार्टी सरकारमा हुँदा बल्खु परिसरमा लागेको भीडले दिनहुँजसो ट्राफिक जाम नै हुने गथ्र्यो । तर, यत्रो पार्टी एकीकरण जस्तो ऐतिहासिक काम सम्पन्न भएपछि भने हर्ष न बिस्मात्जस्तो पार्टी कार्यालयहरू ‘भूत बंगला’जस्तो सुनसान बन्दै गएकोमा धेरै इमानदार नेता–कार्यकर्ताहरू चिन्तित बन्दै गएका छन् ।
त्यसो त तत्कालीन एमाले कमिटी प्रणालीअन्तर्गत व्यवस्थित ढंगले संचालित थियो । देशभरका कमिटीहरूबाट राजनीतिक नियुक्ति, सरकारी कामकाजका लागि सिफारिस लिएर नेता–कार्यकर्ताहरू केन्द्रीय कार्यालय सचिव, महासचिव, राज्य व्यवस्था विभागका प्रमुख र विभागका नेताहरूलाई भेट्न लर्को लाग्थे । तर, सरकार बनेसँगै पार्टी एकीकरण भएकाले त्यस्तो प्रचलनमा अहिले पूर्णविराम अर्थात् ‘ब्रेक’ लागेको छ । राजनीतिक नियुक्ति र सरुवाबढुवाका कामहरूमा पार्टीको स्वामित्व जोडिने क्रम रोकिएपछि सबै काम नेताहरूको आदेश र कोटको खल्तीबाट झिकिने नामबाट भइरहेका छन् । त्यसैले नेता–कार्यकर्ताहरू पार्टी कार्यालयभन्दा प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटार, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास र अन्य शीर्ष नेताहरूको निवास धाउन थालेका छन् ।
पार्टी एकीकरणमा ढिलाइ भइरहेकाले गत भदौको केन्द्रीय सचिवालय बैठकमा पार्टी कार्यालयमा हरेक दिन कुनै न कुनै मन्त्रीलाई अनिवार्य उपस्थित गराउनेबारे सामान्य छलफल भए पनि निर्णायक छलफल हुन सकेन । पछिल्लो यस्तो परिदृश्यपछि देशभरका नेता–कार्यकर्ताहरूमा नैरश्यता छाउँदै गएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply