एकीकरण टुंग्याउन कार्यदल फेरि सक्रिय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदल एकीकरणसम्बन्धी बाँकी काम टुंग्याउन फेरि सक्रिय भएको छ । कार्यदलमा रहेका सदस्यहरू व्यस्त बनेपछि गत २४ पुसमा स्थगित बैठक बाँकी काम टुंगो नलागेसम्म लगातार बस्ने गरी फेरि सक्रिय भएको हो । स्थायी समितिको कार्यदेशअनुसार सबै काम टुंगो लगाउन गत सोमबारबाट कार्यदलमा लगातार छलफल अघि बढेको छ ।
गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्यका लागि नौ सदस्यीय कार्यदल बनाएको थियो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस मसान्तभित्रै काम सकेर सुझावसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए पनि नेताहरूबीचको मतान्तर र व्यस्तताले समयसीमामा काम सम्पन्न भएको थिएन । तर, अब भने सबै विषयमा सहमति खोजेर सुझाव दिनेगरी छलफल केन्द्रित हुने बताइएको छ ।
विधान परिमार्जनमा सहमति भए पनि कार्यदल सदस्यहरूबीच प्रदेश संगठन कमिटीको नामावली हेरफेरका विषयमा विवाद भएको थियो । विधानविपरीत पार्टी सदस्य नै नभएकाहरूलाई प्रदेश सदस्य बनाइएको तर विधान र मापदण्डअनुसार पर्नुपर्ने धेरै नेता छुटेको भन्दै कार्यदलमा उनीहरूलाई मनोनीत गर्नुपर्ने विषय उठेको थियो । तर, मनोनीतहरूमध्ये कतिपयलाई हटाउँदा गलत सन्देश जाने भएकाले १० प्रतिशत मनोनीत कोटामा भए पनि छुटेकाहरूलाई समेट्नुपर्ने विकल्पमा छलफल जारी रहेकै बीचमा बैठक स्थगित भएको थियो । उता, कार्यदलमा जिल्ला र जनसंगठनको एकीकरण तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा मापदण्ड बनाउने गरी छलफल गर्न बाँकी छ । यसअघि प्रदेश तहमा गठित कार्यदलले गरेको सिफारिसलाई आधार मान्ने तर नयाँ मापदण्डअनुसार जिल्ला अध्यक्ष र सचिव छान्ने विषयमा कार्यदलमा छलफल हुन सक्ने बताइएको छ । कार्यदलमा नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । यसबीचमा कार्यदलमा ६ पटक छलफल भइसके पनि नेताहरूको व्यस्तताले बैठक बसेको थिएन ।
सोमबार संक्षिप्त छलफल भए पनि मंगलबारबाट स्थायी समितिको कार्यदेशअनुसार एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्बन्धी सबै विषय टुंगो लगाउँदै जाने दिशामा छलफल केन्द्रीत गर्ने सहमति भएको नेताहरूले बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक सम्मेलनबाट १२ माघमा फर्किएलगत्तै प्रतिवेदन बुझाउनेगरी लगातार छलफल गर्ने कार्यदलको तयारी छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply