युद्धको फरक अनुभूति
डेढ दशकअघि नेपाली भूमि युद्धको चपेटामा रुमल्लिएको थियो । विद्रोही र राज्य पक्षबीचको भीषण युद्धले देशको कुनाकाप्चासम्मै प्रभावित तुल्याएको थियो । युद्धमा धेरै नागरिकले जीवन गुमाए, धेरैले विस्थापनको पीडा भोगे र घाइतेहरू पनि उत्तिकै भए । २०६२÷६३ को जनआन्दोलनपछि विद्रोही माओवादी पक्षले शान्ति प्रक्रियामा आयो र त्यसयता युद्धले पूर्णविराम लियो । तर, युद्धका खतहरू अझै पनि बाँकी छन् र युद्धले निम्त्याएका त्रासदी भोग्नेहरूका मानसपटलमा अझै जीवित छन् ।
माओवादी शान्तिप्रक्रियामा आएपछि युद्ध–साहित्य धेरै लेखिए । युद्धकालीन समयमा पनि नलेखिएका होइनन् । तर, २०६३ पछि भने माओवादी युद्धमा सहभागी भएका नेता–कार्यकर्ता, लडाकु सबैले आफ्ना युद्ध–अनुभूतिलाई शब्दमा उतारे र किताबको रूप दिए । गतिला–अगतिला दुवै युद्ध–साहित्यले एकपटक नेपाली किताब–बजारलाई लपेटेको थियो । तर, युद्धकालीन समयमा विद्रोही पक्षबाहेक आफ्नो पेसागत मर्यादा र कर्तव्यलाई शिरोधार्य गर्दै युद्ध–अनुभूति समेटिएका किताबहरू त्यति निस्किएका थिएनन् । क्याप्टेन रामेश्वर थापाको ‘बारुद्धमाथि उड्दा’ त्यही अभावलाई पूरा गर्ने हेतुले प्रकाशनमा आएको छ ।
सन् नब्बेको दशकपछि रुसबाट हेलिकोप्टर उडानको प्रशिक्षण लिएर नेपाल फर्किएका क्याप्टेन थापाले आफ्नो अनुभवलाई युद्धकालीन समयमा राज्यलाई सघाउने कार्यमा लगाए । जनयुद्धको सुरुवाती समयमा विकट पहाडी इलाकाहरूमा अवस्थित प्रहरी चौकीमाथि विद्रोही पक्षले आक्रमण गर्न थाले । प्रहरी चौकीमाथि आक्रमण भएका प्रारम्भिक दिनहरूदेखि नै घाइतेको उद्धार र मृतकको शव उठाउने कार्यमा हेलिकोप्टरको प्रयोग गर्न थालियो । विद्रोही पक्षले २०५३ साल पुस ३ गते डोल्पाको त्रिवेणीमा आक्रामण गरेदेखि नै क्याप्टेन थापाले हेलिकोप्टरबाट उद्धार गर्न थाले । उक्त क्रम जनयुद्धको उत्कर्षकालीन वर्षहरूसम्मै कायम रह्यो ।
युद्धका सुरुका दिनहरूमा मध्य–पश्चिमका विकट पहाडी इलाकाहरूमा रहेका प्रहरी चौकीमाथि आक्रमणको निसाना बनाएका माओवादीले बिस्तारै शक्ति सञ्चय गर्दै गयो र आक्रमणको निसानाबाट देशका अरू भूभाग पनि लपेटिन थाल्यो । २०५८ सालपछि त आक्रमणको निसानामा सेनाका ब्यारेक पनि पर्न थाल्यो । तीव्र आक्रमण हुन थालेपछि क्याप्टेन थापाको दिनचर्या नै बदलियो र एयरपोर्ट नै स्थायी मुकाम हुन थाल्यो । कतिबेला कुन ठाउँमा विद्रोहीले आक्रमण गर्ने हुन् र उडान भर्नुपर्ने हो, हरेक समय तम्तयारी अवस्थामा बस्नुपर्ने हुन्थ्यो । उनी लेख्छन्, ‘हामी बिहानदेखि बेलुकैसम्म स्ट्यान्डबाई बस्थ्यौं र आवश्यकता पर्नासाथ उडिहाल्थ्यौं । मैले उडाएको हेलिकोप्टर अपरेसनमा बढी नै प्रयोग हुन थाले पनि एउटा कुरामा म सचेत थिएँ । सुरक्षाकर्मीहरूलाई भन्थें, हेलिकोप्टरबाट कुनै हालतमा पनि गोलीचाहिँ नचलाउनुहोला ।’
युद्धकालीन समयमा आफूले हेलिकोप्टर उडाएर उद्धारमा सामेल भएका करिब तीन दर्जन थलोहरूमा बटुलेका अनुभूतिलाई क्याप्टेन थापाले पुस्तकमा समेटेका छन् । जसमा सुदूरपश्चिमको कैलालीको पान्डौनदेखि पूर्वको सिन्धुलीको भिमानसम्मका शब्दचित्रहरू लेखिएका छन् । युद्धरत क्षेत्रमा उडान भर्दा सुरक्षा निकायका माथिल्लो तहका अधिकारीसँग समन्वय गरेर हिँड्नुपर्दा को–कोसँग कस्ता सम्बन्ध र संवादहरू भए, ती कुरालाई पनि उनले शब्दमा उतारेका छन् ।
क्याप्टेन थापाले युद्धकालीन अनुभूतिहरूलाई मात्र पस्किएका छैनन्, अभाव झेल्दै बितेको आफ्नो बाल्यकालीन समयदेखि पछिल्लो समय उद्यमी बन्दासम्मका अनुभवलाई पनि मिसाएका छन् । काभ्रेपलान्चोकको कुशादेवीमा निम्न वर्गीय परिवारमा जन्मिएका थापाले अत्यन्तै दुःखकष्ट र अभाव बेहोरेर शैक्षिक यात्रा चाले । उच्च अध्ययनका निम्ति काठमाडौंमा आउँदा एउटा पसलमा चिया पकाउने र सफा गर्नेसम्मका काम पनि गरे । पछि न्याय सेवामा प्रवेश गरेपछि आठ वर्षसम्म इमानदारीपूर्वक काम गरे । तर सानो छँदा उनको सपना थियो– पाइलट बन्ने । त्यसका निम्ति दुई व्यक्ति उत्प्रेरक बने । ती थिए– पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र अभिकर्ता शेषराज पराजुली । उनीहरूले ‘अदालतको सामान्य जागिरमा नअल्झी आफ्नो भविष्यको बाटो हेर्न’ सुझाव दिएपछि उनमा पूर्ववर्ती पाइलट बन्ने सपनाले प्वाँख हाल्न थाल्यो र रुसमा गएर कठोर प्रशिक्षण लिई हेलिकोप्टर उडानमा दक्ष भई नेपाल फर्किए ।
एभरेस्ट एयरमा आबद्ध भएर पेसामा लागिरहेकै बेला सो एयर साझेदारीबीचको विवादले बन्द भएपछि उनले केही साझेदार बटुलेर कस्मिक एयरको थन्किएका दुईवटा जहाज किनेर व्यवसायमा पनि हात हाले । अहिले उनी नेपाली हवाई क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित छन् र मिडियामा समेत उनको लगानी रहेको छ ।
मूलतः क्याप्टेन थापाको जीवनगाथाबाट मानिसले संघर्ष गर्ने हो भने प्रगतिका सोपानहरू उक्लिन कुनै गाह्रो छैन भन्ने बुझ्न सकिन्छ । आफ्नो पेसा र व्यवसायप्रति लगनशीलता, साहस, इमानदारी, उच्च समर्पण भयो भने मानिसले शिखरमा उक्लिन सक्छ भन्ने गहन सन्देश प्रवाह गर्न पनि यो पुस्तक सक्षम देखिएको छ ।
कृति ः बारुद्धमाथि उड्दा
विधा ः संस्मरण
लेखक ः रामेश्वर थापा
प्रकाशक ः बुकहिल पब्लिकेसन
पृष्ठ ः २१४
मूल्य ः ४२५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply