एसपी र एसएसपी बढुवामा व्यापक चलखेल
काठमाडौं । नेपाल प्रहरीमा पछिल्लोपटक भएको बढुवामा तीव्र विवाद भएको छ । एसपी र एसएसपी बढुवामा राजनीतिक पहुँच र आर्थिक चलखेलका भरमा गरिएको भन्द असन्तुष्टि तीव्र बनेको हो । बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका प्रतिनिधि सहसचिव केदार शर्मालाई बिदा बस्न लगाई एसपी र एसएसपीहरूको सूची बनाएको स्रोतले जनाएको छ ।
आइजीपी सर्वेन्द्र खनालको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयबाट सहसचिव केदार शर्मा सदस्य छन् । सदस्य सचिव एआईजी ठूले राई पनि रहेका छन् । गृहसचिव प्रेमकुमार राईले सहसचिव केदार शर्माको ठाउँमा सहसचिव इदु घिमिरेलाई बढुवा सिफारिस समितिमा पठाएर आफ्ना मान्छेहरूको सूची बनाएको स्रोतले जनाएको छ । गृहसचिव राईलाई बालुवाटारबाट एसपी र एसएसपीहरूको बढुवाको लामो सूची आएको स्रोतले दाबी गरेको छ ।
यही असन्तुष्टिपछि महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि बढुवा प्रकरण विवादमा तानिएको हो । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो । सिफारिसको सूचीमा सिनियर रहेका एसपी उप्रेतीको नाम परेन । उप्रेतीभन्दा ६ महिना जुनियर र कार्यक्षमतामा कमजोर मानिएका एसपी दीपक थापा भने एसएसपीमा बढुवा हुन सफल भए । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताउन भूमिका खेलेका थापालाई पुरस्कारस्वरूप जुनियर हुँदाहुँदै पनि एसएसपीमा बढुवा गरिएको आरोप छ । आफूभन्दा एक ब्याज जुनियरले बढुवा पाएका पाएपछि उनले असन्तुष्टिस्वरूप राजीनामा दिएको बताइएको छ । राजनीतिक दबाबमा आफ्नो करियर नै समाप्त भएपछि राजीनामा दिनुपरेको उनको गुनासो छ । २०७१ साल फागुन १० गते उप्रेती डीएसपीबाट एसपीमा बढुवा भएका हुन भने थापा २०७२ साउन ८ गते बढुवा भएका थिए ।
२०७१ सालमा उप्रेतीसँगै बढुवा भएका १७ जना एसपीहरूलाई बढुवा नदिएर जुनियर एसपी थापाको बढुवा भएपछि प्रहरी संगठनमा निराशा छाएको बताइन्छ । तिनै थापा २०७१ सालमा कार्यक्षमतामा कमजोर ठहरिएर बढुवामा नपरेपछि सामाजिक सञ्जाल फेसबुकमा सतीले सरापेको देश भन्दै पोस्ट गरेर बढुवा समितिलाई गालीगलौज गरेका थिए । त्यसो त टेकप्रसाद तामाङ, भीम ढकाल र दीपक थापा एसपी उप्रेतीभन्दा जुनियर प्रहरी अधिकारी हुन् । २०४९ सालका नबराज भट्ट, उमाशंकर पन्जियार तथा २०५१ सालमा प्रवेश गरेका भरत बोहरा, रवीन्द्र केसीलगायत १७ जनालाई पछाडि पारेर २०५२ सालका थापालगायत भीम ढकाल, टेक तामाङलाई बढुवा गरेर संगठनमा अन्याय गरिएको अन्यको आरोप छ ।
उप्रेतीले बारा, रसुवा, सिन्धुली, उदयपुरलगायतका जिल्लाको कमाण्ड सफलतापूर्वक सम्हालेका थिए । स्रोतका अनुसार एसपी उप्रेतीलाई बढुवा गरी एक वर्ष जुनियर दीपक थापालाई बढुवा नगर्न प्रहरी प्रधान कार्यालयमाथि ठूलो दबाब थियो । एकाएक अन्तिममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहसचिव प्रेमकुमार राईलाई दबाब दिएपछि उप्रेतीको नाम काटेर थापाको नाम हालिएको चर्चा छ ।
प्रहरीको नियमावलीअनुसार एसपीबाट एसएसपीमा बढुवा हुन चार वर्ष पुग्नुपर्ने प्रावधान थियो । प्रचण्डलाई खुसी बनाउन नियमावली नै परिवर्तन गरी चार वर्षबाट तीन वर्षमा झारिएको बताइन्छ । पहिलो नम्बरमा सन्दीप भण्डारी र दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । तेस्रो नम्बरका उमेशराज जोशी आईजीपीले रुचाएको र चौथो नम्बरमा श्यामलाल ज्ञवालीलाई नेकपाकै नेताहरूको सिफारिस रहेको स्रोत बताउँछ । निर्मला पन्त प्रकरणपछि समस्यामा रहेको कञ्चनपुर सम्हाल्न पुगेका एसपी कुवेर कठायत पनि सोही ब्याचका हुन् । तर, बढुवामा उनलाई छुटाइयो ।
उनीसहित भरत बोहरा, सुदीप गिरी, केदार ढकाल, राजेन्द्र विष्ट, राजेश बाँस्तोला, जनक भट्टराई, दुर्गा सिंह, किरण राणा, कृष्ण महत, लालमणि आचार्य, विष्णु केसीलगायत बढुवामा छुटेको भन्दै गुनासो बढेको छ । यता डीएसपी बढुवामा पनि यसपटक चरम राजनीति भएको बताइन्छ । आफ्नो ब्याचमा पहिलो र दोस्रो नम्बरमा रहेका डीएसपीहरू नै बढुवामा छुटेका छन् । ११४ नम्बरको टोलीको भुवनेश्वर तिवारी पहिलो नम्बरमा तथा ऋषि कँडेल दोस्रो नम्बरमा थिए । ब्याचका १२ जना बढुवा हुँदा पनि उनीहरू भने छुटेका छन् । प्रकाश रानाभाट र जनार्दन जीसी कर्मचारी प्रशासन शाखामा भएकाले उनीहरूलाई बढुवामा अघि पारिएको छ ।
२६ जना डीएसपी एसपी बढुवामा सिफारिस भएका छन् । रमेश बस्नेत, हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा. मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल बढुवा भएका छन् । यसैगरी रमेश थापा, प्रकाश रानाभाट, विमल कँडेल, कमल थापा, जनार्दन जीसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपमशमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसपी बढुवाको सिफारिसमा परेका छन् । दानबहादुर मल्ल प्रचण्डका बडिगार्ड रहेका र अनुपशमशेर जबरा पूर्व आईजीपी प्रदीपशमशेर जबराका छोरा हुन् । सिनियर डीएसपीको टपटेनभित्र रहेका शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले, प्रकाश मल्ल, राजकुमार सिलवाल, अम्रेन्द्रबहादुर सिंह, होविन्द्र बोगटी, दयानिधि ज्ञवाली, दीपक पोखरेल, पदम विष्ट, पदम धितालहरू बढुवामा परेका छैनन् । आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा ४४औं नम्बरकी रञ्जु सिग्देल, ४०औं नम्बरका जनार्दन जिसी, ३७औं नम्बरका कमल थापा, ३१औं नम्बरका प्रकाश रानाभाट, ३०औं नम्बरका नवराज अधिकारीलाई बढुवा गरिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply