अभिभावकका लागि मार्गनिर्देशन
हरेक अभिभावक आफ्ना सन्तानप्रति सदैव गम्भीर, सचेत र चिन्तित रहन्छन् । बाल्यावस्थादेखि नै आफ्ना सन्तानलाई कसरी असल मार्गमा हिँडाउने, अनुशासित तुल्याउने र परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउने भन्ने चिन्ता र चासो हरेक अभिभावकमा रहन्छ । हुन पनि, घरमा अभिभावक र विद्यालयमा शिक्षक–शिक्षिकाहरूले देखाएको मार्गमा नै अधिकांश बालबालिकाहरू हिँड्न तयार हुन्छन् ।
नेपाली भाषामा बालसाहित्यहरू त थुप्रै लेखिएका छन्, लेखिँदै छन् । बालसाहित्य लेखनको इतिहास समृद्ध छ । तर, बालविकास र उनीहरूको सामाजिकीकरणबारे नेपाली भाषामा सीमित पुस्तकहरू मात्र लेखिएका छन् । हेमराज भुसालको नवीन कृति ‘कसरी बालबालिकालाई असल बनाउने’ त्यस्तै प्रयोजनका लागि लेखिएको पुस्तक हो, जुन पुस्तकले बालबालिकाका हरेक विकासका निम्ति मार्गनिर्देशनको काम गर्न सक्छ ।
बालबालिकाहरूको उदाहरण दिँदा अधिकांशको भनाइ हुन्छ, ‘बालबालिका भनेका मुछिएको काँचो माटो हुन्, जसलाई आफ्ना अभिभावकहरूले जे बनाउन चाहन्छन्, त्यही बन्दछ ।’ अर्थात् काँचो माटोलाई गाग्री बनाउने कि गमला बनाउने भन्ने कुरा अभिभावकको हातको कुरा हो । यसले बालबालिकाहरूलाई असल मार्गमा हिँडाउने वा बिगार्ने भन्ने कुरा अभिभावकको हातमा निहीत छ । भुसाल लेख्छन्, ‘कोही भन्छन् गरिबीको कारणले त कोही भन्छन् उचित स्याहारसुसार, लालनपालन र शिक्षादीक्षा नपाएर बालबालिका बिग्रन्छन् । कोही भन्छन्, धनी मान्छेका छोराछोरीहरू धनसम्पत्तिले मात्तिएर, बुवाआमाले जे भन्यो, उही पु¥याइदिनाले पुल्पुलिएर बिग्रन्छन् । गरिबका छोराछोरीहरू आवश्यकता पूरा नगरिदिएर अभावको कारणले बिग्रन्छन् । तर, गरिबका छोराछोरीहरू पनि धनीका छोराछोरी जसरी चोरी, डकैती, पाकेटमारी, वेश्यावृत्ति, लागूपदार्थ दुव्र्यसनजस्ता कुलतमा लागेको पाइन्छ ।’
बालबालिकाहरू सप्रिनु र बिग्रनुमा परिवार र समाजले उत्तिकै भूमिका खेलेको हुन्छ । कस्तो पारिवारिक–सामाजिक वातावरणमा बालबालिका हुर्केका छन्, भिजेका छन्, यस्ता पक्षहरूले उनीहरूको मानसिक, व्यावहारिक क्रियामा तिखो प्रभाव पार्दछ र त्यही आधारमा नै उनीहरू असल वा खराब बाटोमा हिँड्न अभिप्रेरित हुन्छन् । अझ सामाजिक वातावरणले त झन् धेरै ठूलो भूमिका खेलेको हुन्छ । किनभने, कुनै असल परिवारमा जन्मिएका बालबालिका सामाजिक दुष्प्रभावका कारण अनेक कुलतमा लागेका पाइन्छन् । भुसाल लेख्छन्, ‘बालबालिका समाजका मानवरूपी बिरुवा हुन् । तिनीहरूलाई उपयुक्त वातावरण दिएर हुर्काइएन भने अर्थात् समुचित माया, ममता, शिक्षा, दीक्षा, सिकाइ, स्वतन्त्रता दिन र समुचित नियन्त्रण गर्न सकिनएन भने बालबालिका राम्रै बावु–आमाका सन्तान नै भए पनि बिग्रन सक्छन् । आमाबुवाबाट पनि खराब विशेषता प्राप्त गरेका बालबालिकालाई असल बनाउन अपेक्षाकृत रूपले अझ गाह्रो हुन्छ ।’
उक्त पुस्तक बालविकास र उनीहरूका सामाजिकीकरणमा केन्द्रित रहे पनि किशोरावस्थामा टेकेका सन्तानहरूलाई कसरी सही मार्गमा हिँडाउने र उनीहरूको विकासमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने पक्ष पनि उल्लेख गरिएको छ । १३ देखि १९ वर्षसम्मका बालबालिका अरू उमेर समूहका भन्दा धेरै संवेदनशील हुन्छन् । उनीहरूमा यौनांगहरूको विकास त्यही उमेरमा हुन्छ र अनेक जिज्ञासाहरूले घेरिएका हुन्छन् । त्यो उमेरमा किशोर–किशोरीहरूमा मानसिक परिवर्तन आउने कुरा उल्लेख गर्दै भुसाल लेख्छन्, ‘यस्तो परिवर्तनले विशेष गरेर किशोरावस्थाको सुरु अवधिका किशोरकिशोरीहरूमा कौतूहलता र चिन्ता उत्पन्न गराउनुका साथै भ्रम, असुरक्षा र असहजता महसुस गराउँछ । विशेषगरी केटीहरूमा बढ्दै गरेका भर्खरका स्तनहरू आफैंबाट र अरू कसैबाट छोइँदा दुख्ने, पीडा हुने हुँदा उनीहरूलाई यो अवस्था बढी असहज महसुस भएको हुन्छ ।’
बालविकास र उनीहरूको सामाजिकीकरणमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई माथिल्लो श्रेणीमा आबद्ध तुल्याउँदै लेखक भुसालले उक्त विषयमा विश्वका ख्यातिप्राप्त जीवशास्त्री र मनोवैज्ञानिकहरूले दिएका परिभाषालाई समेत समेटेका छन् । मनोवैज्ञानिक जेम्स डे«मरले भनेका थिए, ‘वंशानुक्रम आमाबुवाको शारीरिक एवं मानसिक विशेषताहरू सन्तानहरूमा हस्तान्तरण हुनु हो ।’
शिक्षाविद् डा. विद्यानाथ कोइरालाका शब्दमा भन्नुपर्दा ‘उक्त पुस्तकले जन्मविज्ञान दिएको छ । समाजविज्ञान जोडेको छ र मनोविज्ञान समातेको छ ।’ यो पुस्तकको सार र विशेषता के हो भन्ने कुरा डा. कोइरालाका यी शब्दहरूले प्रस्ट पारेको छ ।
कृति ः बालबालिकालाई असल कसरी बनाउने ?
विधा ः बालसाहित्य
लेखक ः हेमराज भुसाल
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः २३१
मूल्य ः ३९०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply