देउवाविरुद्ध घेराबन्दी, गच्छदार पनि आक्रामक
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा एकपछि अर्को घेराबन्दीमा पर्दै गएका छन् । महासमिति बैठकको निर्णय केन्द्रीय समितिबाट उल्ट्याएको विरोधमा २१ र २२ चैतमा जिल्ला सभापतिहरूले राष्ट्रिय भेला डाकेकै सेरोफेरोमा नेता विजय गच्छदार पनि देउवाविरुद्ध आक्रामक हुने ‘मुड’मा देखिएका छन् ।
बहुमतको आडमा महासमितिको निर्णय फेरिएको आक्रोशमा ५६ जिल्लाका सभापतिहरूले काठमाडौंमा भेलाको अन्तिम तयारी गरिरहेका छन् । जिल्ला सभापतिहरूले देउवाविरुद्ध विषवमन गर्ने निश्चित देखिएपछि उनले २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । तर, त्यही बैठकमा फोरम लोकतान्त्रिकलाई विलय गरेर कांग्रेस प्रवेश गरेका नेता विजयकुमार गच्छदार पनि आक्रामक प्रस्तुतिको मुडमा रहेको बताइन्छ । लामो समयसम्म आफ्नो समूहका १५ जनालाई सहमतिअनुसार केन्द्रीय कार्यसमितिमा मनोनयन नगरिएको भन्दै गच्छदार असन्तुष्ट छन् । महासमिति बैठकबाट विधान परिमार्जन भइसकेकाले छिटोभन्दा छिटो आफ्ना समूहका नेतालाई मनोनयन गरी जिम्मेवारी दिनुपर्ने गच्छदारको माग छ । पार्टीको आन्तरिक विषयमा चुप रहँदै आएका गच्छदार अबको बैठकमा माग पूरा नभए देउवाविरुद्ध सार्वजनिक रूपमा लाग्न सक्ने उनी निकट एक नेताले बताए । जिल्ला सभापतिहरूको भेलादेखि नेविसंघको नेतृत्व विवादसम्मका विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ । गत २८ माघमा नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ । स्ववियु निर्वाचन र केन्द्रीय नेतृत्वमा ३० वर्षे उमेर हदलाग्ने स्थितिका कारण धेरै नेविसंघका कार्यकर्ता शीर्ष तहका नेताहरूको स्वार्थमा सडकमा रुमलिरहेका छन् । प्रतिपक्षी भूमिकामा भए पनि नेविसंघले शैक्षिक मुद्दादेखि जनजिविकाको कुनै पनि मुद्दा उठाउन सकेको छैन ।
कांग्रेसको केन्द्रीय महाधिवेशन नियमित रूपमा चार वर्षमा हुने गर्छ । यसअनुसार आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । तर, तीन वर्ष नेतृत्वमा रहँदा देउवाले अहिलेसम्म केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् । त्यस्तै, केन्द्रीय अनुशासन समिति गठनमा पौडेल पक्षको असहमति कायम छ भने भ्रातृ संगठनहरू दिनप्रतिदिन लथालिंग बन्दै गएका छन् । संसद् हुँदै राष्ट्रिय राजनीतिमा कांग्रेस एजेन्डाविहीन मात्र होइन, उपस्थिति नै फितलो बन्दै गएको असन्तुष्ट पक्षको आरोप छ । ठूलो राजनीतिक कोर्स परिवर्तनपछि मुलुक संघीय ढाँचामा प्रवेश गरेको तीन वर्ष भइसके पनि त्यसअनुसार कांग्रेसले अहिलेसम्म स्थानीय तहसम्म संरचना तयार गर्न सकेको छैन । यति मात्र होइन, बदलिएको परिस्थितिमा सामाजिक न्यायसहितको आर्थिक समृद्धिको लोकतान्त्रिक समाजवादको कार्यक्रम कस्तो हुनेबारे कुनै ठोस प्रस्ताव अघि सार्न नसकेको आरोप लाग्दै आएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply