संघर्षको गाथा
तीसको दशकदेखि प्रगतिशील सांस्कृतिककर्मीहरूले एउटा गीत गाउन थालेका थिए, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो…।’ यो गीत जीवन–यात्रामा संघर्षका अनेक तह पार गरेका वरिष्ठ लोकगायक खड्ग गर्बुजाका निम्ति लेखिएको त होइन भन्ने अनुभूति उनका आत्मकथा पढ्दा जोकोहीको मस्तिष्कमा छाउन पुग्छ । म्याग्दी–बागलुङ भेकका लोकभाकालाई सर्लक्क टिपेर रेडियो नेपालबाट गुञ्जायमान तुल्याउने श्रेय पाएका लोकगायक गर्बुजाले आफूले जीवनमा भोगेका तीता–मीठा अनुभवहरूलाई ‘मोडिएको बाटो’ मा शब्दबद्ध गरेका छन् ।
म्याग्दीको विकट थलोमा जन्मिएका गर्बुजाले आज नेपाली संगीत क्षेत्रमा जुन चिनारी बनाएका छन्, त्यो उनको आँट, हिम्मत, साहस र प्रतिबद्ध कर्मको चिनारी हो भन्दा फरक पर्दैन । दुःख र अभावले जेलिएको परिवारमा जन्मिएका उनले जीवनमा नगरेका दुःखहरू कमै होलान् । मगर समुदायमा जन्मिएका उनले तत्कालीन समाजमा मानिसहरूले पछ्याउने गरेको बाटो अर्थात् ‘लाहुरे’ हुन गोरखपुरसम्मको यात्रा पनि तय गरे । तर, उमेर नपुगेका कारण भारतीय सैनिक सेवामा भर्ती हुन नपाएपछि उनी गाउँमै फर्किए । तर, गाउँ फर्किएपछि उनको दुर्दिन सुरु भयो । नजिकैको अर्लीभीरमा घाँस काट्न जाँदा चिप्लिएर लडेपछि उनी स्पाइनल इन्जुरीको समस्या झेल्न बाध्य भए, जुन स्वास्थ्य–अवस्था झेल्न उनी आजसम्म बाध्य छन् ।
कम्मरभन्दा मुनिको शरीरको भाग नचलेपछि घरमै कुँजिएर बस्न बाध्य उनले साथी बनाए–रेडियो र माहुरी बाजालाई । रेडियोबाट प्रशारित गीतका भाका टिपेर गाउन थाले भने माहुरी बाजा बजाउन पोख्त हुन थाले । तर, घरको दयनीय आर्थिक अवस्था, आफूलाई अत्यन्तै माया गर्ने आमा पक्षाघातको सिकार हुनुजस्ता कारणलगायत अरू थुप्रै कारणहरूले उनलाई घरमा अडिएर बस्न मन लागेन । रेडियो नेपालसम्मको यात्रा तय गर्ने हेतुले उनी म्याग्दीको सदरमुकाम बेनी आए र प्रमुख जिल्ला अधिकारीलाई रेडियो नेपालमा पुग्ने प्रबन्ध मिलाइदिन आग्रह गर्न थाले । तर, आश्वासनको खेतीपाति गर्न माहिर प्रजिअबाट उनले कुनै सहयोग पाउन सकेनन् । बेनीपछि बाग्लुङमा आएका उनले पेन्सन क्याम्पका पेन्सन बुझ्न आएका लाहुरेहरूका बीच गीत गाउँदा राम्रै आर्थिक सहायता बटुले । त्यही रकम बोकेर उनी काठमाडौं आए र संघर्षलाई जारी राखे ।
अपांगता भएका मानिसलाई सहयोग गर्ने संघसंस्थाहरू काठमाडौंमा थुप्रै रहेको कुरा उनले रेडियोबाट सुने पनि त्यस्तो वातावरण भने पाएनन् । केही संस्थाको ढोका त ढक्ढक्याए पनि पूरै असफल रहे । तर, रेडियो नेपालका केही कार्यक्रममा भने आफ्नै गाउँघरको भाका सुनाउने अवसर भने पाए । रेडियो नेपालबाट स्वर परीक्षण पनि उत्तीर्ण गरे । रेडियो नेपालबाट आफ्नो स्वरमा पहिलो पटक गीत प्रसारण भएपछिको खुसी र उत्साहलाई उनले यसरी बयान गरेका छन्, ‘रेडियोबाट पहिलोपटक आफ्नो स्वर आफ्नै कानले सुन्न पाएपछि एकाएक मलाई थप ऊर्जा प्राप्त भयो । गीत–संगीतप्रति अझ बढी आकर्षण बढ्यो । जतिसुकै संकट, दुःख र व्यस्तताका बाबजुद गाउने–बजाउने काम जारी राखेँ ।’
तर, रेडियो नेपालका माथिल्लो तहका कर्मचारीहरूले आफूप्रति गरेको अपमान र दुव्र्यवहारबारे पनि उनले खुलस्त लेखेका छन् । आफू अपांग भएकै कारण नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा कार्यक्रमका लागि गीत गाउन नदिइएको प्रसंग होस् वा रेडियो नेपालमा नआउनू भन्ने त्यहीँका वरिष्ठ कर्मचारीले दिएको उर्दी होस्, त्यसलाई उनले स्मरण गरेका छन् ।
भगवान्को अस्तित्वप्रति शंका गर्ने उनको जीवनमा ‘भगवान्’ बनेर आए–फादर ग्याफ्ने । काठमाडौंमा कुनै आश्रय नपाएर भौंतारिइरहेका उनलाई तिनै फादरले आश्रय मात्र दिएनन्, उनको टुटेको अध्ययनको शृंखलालाई जोड्न पनि सघाए । ६ कक्षामा अध्ययनरत रहँदारहँदै लाहुरे बन्न भारततिर हान्निएका उनले टुटेको पढाइलाई पुनः जोडे र पढाइमा सफलतासमेत हात पारे । अध्ययनसँगसँगै उनले आफ्नो गायन कलालाई पनि निखार्दै लगे र गीति–एलबमहरू निकाल्न थाले । एल्बम बिक्ने समयसम्म उनले करिब तीन दर्जन एलबम निकाले र आफ्नो ख्यातिलाई चम्काउँदै गए ।
लोकगायक गर्बुजाले पाँच दशकको आफूले भोगेका कष्ट, दुःख, सुख, विवाह, वैदेशिक भ्रमणलगायत जीवन–यात्राका अनेक खुड्किलाहरूलाई मिहिन रूपले शब्दबद्ध तुल्याउन चाहेका छन् । संघर्षले नै मानिसलाई सफलताका सिँढीहरू उक्लिन मद्दत पु¥याउँछ भन्ने गहन अर्थबोध उनले आफ्नो आत्मकथामार्फत गराउन खोजेका छन् । कठिनभन्दा कठिन परिस्थितिमा पनि धैर्य, साहस, हिम्मत र लक्ष्यप्रति दृढभाव देखाउन सक्ने मानिस नै सफल हुन्छन् भन्ने सन्देश उनको आत्मकथाको मूल मर्म हो ।
कृति ः मोडिएको बाटो
विधा ः आत्मकथा
लेखक ः खड्ग गर्बुजा
प्रकाशक ः घोस्ट राइटिङ
पृष्ठ ः ३०४
मूल्य ः ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply