रातारात यिनको नाम काटकुट
काठमाडौं । केन्द्रमा पार्टी एकता भएको ११ महिनापछि नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिन पारेर यही वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला कमिटीको एकता टुंग्यायो । पूर्वएमालेलाई ४४ र पूर्व माओवादी केन्द्रलाई ३३ जिल्लाको अध्यक्ष रहेन र एउटाको अध्यक्ष भएको जिल्लामा अर्कोको सचिव रहनेगरी एकता टुंगो लगाएको हो । लामो छलफल र कसरतपछि जिल्ला एकता टुंगो लागे पनि तत्कालीन माओवादी केन्द्रका जिल्ला तहका धेरै नेता यो एकताबाट जिल्लिएका छन् ।
पार्टी एकताको घोषणा हुनु अघिल्लो रात अर्थात् वैशाख ८ गते बेलुकीसम्म जिल्ला अध्यक्ष भएर बधाई खाएका १० जिल्ला अध्यक्ष र १८ जिल्ला सचिव भोलिपल्ट ब्युझँदा खोसिइसकेका थिए । अघिल्लो साँझ अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन माओवादी केन्द्रबाट जिल्ला नेतृत्वमा रहनेहरूको नाम अर्का अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बुझाएका थिए । नाम बुझाइसकेपछि कतिपयलाई त उनी आफैंले फोनमा बधाई पनि दिएका थिए । तर अचम्म, यसरी बुझाएका नाममा तत्कालीन माओवादी केन्द्रको भागमा परेका ३३ मध्ये १० जिल्ला अध्यक्षको नाम भोलिपल्ट फेरिएको थियो भने ४४ मध्ये १८ सचिव फेरिएका थिए । रातभरिको चलखेलका कारण १० र १८ गरी २८ जना एक रातका लागि जिल्ला अध्यक्ष र सचिव भएका थिए ।
एक रात अध्यक्ष हुनेहरूमा माओवादी केन्द्र्रको भागमा परेका सुनसरी, सिरहा, धनुषा, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, स्याङ्जा, बाँके र जुम्लाका नेताहरू छन् । सुनसरीमा शिव डाँगी वा मुक्साङ मेयाङ्बोको नाम अघिल्लो दिन बुझाएकोमा त्यहाँ योगेन्द्र मण्डललाई अध्यक्ष बनाइएको छ । त्यस्तै, अघिल्लो दिनसम्म सिरहामा देवशरण यादव वा जीवछ यादवमध्ये एक जनाको नाम रहेकोमा त्यहाँ रामकुमार यादव, धनुषामा दीपक यादव वा झल्कु यादवमध्ये एकजनाको नाम बुझाइएकोमा राजकिशोर यादव, सिन्धुलीमा रामकुमार पौडेलको नाम भएकोमा भोलिपल्ट लेखनाथ दाहाल, रामेछापमा अघिल्लो रात डिल्लीमान तामाङको नाम रहेकोमा भोलिपल्ट मदनकुमार तामाङको नाम अध्यक्षमा घोषणा भएको थियो ।
त्यस्तै, अध्यक्ष दाहालले अघिल्लो साँझ अर्का अध्यक्ष ओलीलाई बुझाएको सूचीमा काभ्रेमा सूर्यमान दोङको नाम भएकोमा भोलिपल्ट रुकु चौलागार्इंको नाम घोषणा भयो । नुवाकोटमा पुष्प लामिछानेको नाम रातारात काटेर हीरानाथ खतिवडालाई अध्यक्ष बनाइएको थियो । स्याङ्जामा अघिल्लो दिनको सूचीमा शैलेन्द्र घिमिरेको नाम थियो । उनलाई अध्यक्ष दाहाल आफंैले फोन गरेर बधाई पनि दिए । तर भोलिपल्ट सूर्यप्रसाद गैरको नाम घोषणा भयो । त्यस्तै बाँकेका अघिल्लो दिन प्रकाश पुरीको नाम बुझाएकोमा भोलिपल्ट आईपी खरेल र जुम्लामा अघिल्लो दिन गोमा कुँवरको नाम बुझाएकोमा भोलिपल्ट सुरेश पहाडीको नाम घोषणा भयो । कुँवर र पहाडी भने पति–पत्नी हुन् ।
सचिवमा पनि यस्तै लफडा भएको थियो । १९ जिल्ला सचिव रातारात हेरफेर गरिएको थियो । इलाममा अघिल्लो दिन कान्छा लावतीको नाम रहेकोमा भोलिपल्ट सोममाया राईको नाम घोषणा भएको थियो भने मोरङमा गणेश उप्रेतीको नाम काटेर गोपी आछामी, संखुवासभामा देवान राई वा कृष्ण गिरीमध्ये एक भनिएकोमा उनीहरूको नाम काटेर कृष्ण याक्खा, भोजपुरमा राजेश खतिवडाको सट्टा विमल खड्का, सप्तरीमा उमेश यादवको नाम हटाएर गोविन्द न्यौपाने, सर्लाहीमा राजकुमार यादव वा रामप्रीत यादवमध्ये एक भनिएकोमा डाचाराम वाग्लेको नाम सचिवमा घोषणा गरिएको थियो । त्यस्तै, रौतहटमा त्रिभुवन साहको नाम काटेर युवराज भट्टराई, पर्सामा रहवर अन्सारीको नाम काटेर विजय महतो, मकवानपुरमा विष्णु विष्टको नाम फालेर प्रेम पुलामी, धादिङ धनबहादुर बुर्लाकोटीको नाम हटाएर प्रदेश ३ सरकारको मन्त्रीसमेत रहेका सालिकराम जमरकट्टेललाई सचिव घोषणा गरिएको थियो । त्यस्तै अघिल्लो दिन बुझाएको नाममा काठमाडांैमा महेश्वर फुयाँल रहेकोमा भोलिपल्ट हिमाल शर्माको नाम घोषणा भएको थियो । ललितपुरमा राजकाजी महर्जनको नाम हटाएर शिव कँडेल, भक्तपुरमा देवेन्द्र श्रेष्ठको नाम कटाएर डीपी ढकालको, तनहुँमा मदन आलेको ठाउँमा राजेन्द्रकेशरी न्यौपाने, नवलपरासीमा धनप्रसाद सापकोटाको ठाउँमा मित्रशरण शर्मा, मुस्ताङमा गणेश थकालीको ठाउँमा सत्यनारायण शेरचन, प्युठानमा कृष्ण अधिकारीको नाम कटाएर नारायण अधिकारी र सल्यानमा नेत्रबहादुर कुँवरको नाम कटाएर कर्णबहादुर बुढाको नाम भोलिपल्ट घोषणा गरिएको हो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply