आशावादलाई प्रश्रय
पद्यमा आफ्नो भावना अभिव्यक्त गर्ने सर्जकहरूको संख्या पातलिँदै गएको छ । अघिल्लो पुस्ताका केही सर्जकहरू अझै पनि पद्य लेखनमा रमाइरहे पनि नयाँ पुस्ताको रुचिमा भने पर्न छाडिसकेको छ । तर, कवि बलराम दाहालले भने धारभन्दा विपरीत बग्ने चाहना राखेका छन् । आफ्ना समकालीन कवि–मित्रहरू गद्य लेखनमा तल्लिन रहे पनि उनले भने पद्यमा कलम चलाएर परम्परालाई निरन्तरता दिएका छन् । उनको काव्यकृति ‘भाडा नलाग्ने कोठा’मा छन्दका अनेक स्वाद भेट्टाउन सकिन्छ ।
हरेक मानिसले जीवनमा एउटा स्पष्ट लक्ष्य र उद्देश्य सँगाल्नुपर्छ । जुन मानिस लक्ष्य बोकेर हिँड्छ, निश्चय नै उसले गन्तव्यलाई सहज रूपमा भेट्टाउन सक्छ । उनको ‘जीवनगीत’ जीवनप्रति आशा जगाउने कविता हो, जीवनलाई लक्ष्यमुखी र गतिशील तुल्याउन उत्प्रेरित गर्ने सिर्जना हो । जीवन बाँच्नुको सार्थकता यो कवितामा झल्किन्छ ।
२०७२ सालको मध्यतिर नेपाली जनताले नयाँ संविधान पाएपछि देशले गति समात्न थाल्यो । अझ, स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन भएपछि देश प्रादेशिक संरचनामा गयो । विकास, निर्माण र समृद्धिका नाराहरू त्यसयता घन्किन थालेका छन् । देश संघीयताको मार्गमा अघि बढिसकेको हुँदा त्यसलाई सफल तुल्याउनुको विकल्प नरहेको अर्थभाव उनको ‘विकास’ कविताले व्यक्त गरेको छ । संघीयता असफल हुने हो कि भन्ने निराशा व्यक्त भइरहेको बेला उनको यो कविता भने आशा जगाउने हेतुले निर्दिष्ट रहेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति समर्पित एवं राष्ट्रकविको काव्य–संसारलाई उजिल्याउने कविता हो– ‘लोकनायक’ । नेपाली साहित्य लेखनमा अनवरत क्रियाशील राष्ट्रकवि घिमिरेले शतायु टेकिसक्दा पनि आफ्नो सिर्जनशीलतालाई कायम नै राखेका छन् । करिब आठ दशकयता नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित राष्ट्रकविप्रति उनको काव्यिक–मूल्यांकन यसरी प्रकट भएको छ, ‘वैशाखका गायक हे, उज्याला
एक छन्दका नायक, काव्यमाला
टिप्यौ टपक्कै मृदु लोकभाका
घन्किन्छ सारा वन गाउँ पाखा ।’
राष्ट्रकविको यशगान मात्र लेखेका छैनन्, कविले । युगकवि सिद्धिचरण श्रेष्ठलाई पनि काव्यिक–सम्झना गरेका छन् । जहानियाँ राणा शासनको अन्त्य गर्ने क्रान्तिकालीन दिनहरूमा सो व्यवस्थाप्रति काव्यिक हुंकार गर्ने युगकविको योगदानलाई स्मरण गरेका छन् कविले ।
‘कान्छा खुँडा झिक’ भने राष्ट्रवादी भावनाले ओतप्रोत कविता हो । उनले यो कवितामा पुर्खाको पालामा गुमेका नेपाली भूभाग फिर्ता ल्याउनुपर्ने जिकिर मात्र व्यक्त गरेका छैनन्, राष्ट्रको गौरव र सानलाई जीवित राख्न सबै नेपालीले त्याग, बलिदान गर्नुपर्ने आव्हान पनि गरेका छन् । ‘आमा’चाहिँ आमाको महिमा गाउने कविता हो । आमा आफ्नो सन्तानका निम्ति सदैव अनेक त्याग, तपस्या गर्न तत्पर हुन्छिन् । आफ्नो सन्तानको सुखद भविष्य निर्माणका निम्ति कुनै पनि चिजको पर्वाह गर्दिनन्, आमा । हिन्दू धर्मावलम्बीहरू धर्म गर्ने हेतुले चार धाम घुम्न जान्छन् तर आमा भनेको यस्तो धार्मिक थलो हो, चार धाम नै आमाभित्र पाइन्छ भन्ने भाव उक्त कवितामा पोखिएको छ ।
‘भाडा नलाग्ने कोठा’ भने जीवनप्रति आशा र विश्वास जगाउन सफल देखिएको छ । जीवनवादी स्वर सहजै सुन्न सकिन्छ यो कवितामा । कवि लेख्छन्, ‘बाटामा बर्सियोस् भोलि, झर्ना अमृतको झरी
फूल या वनमालाले, घेरियोस् जिन्दगीभरि
मेरो हृदयको कोठा, खाली गरेँ सफा गरी
जीवन्त जिन्दगी बाँचौं, आउ बस्न सधैंभरि ।’
मूलतः कवि दाहालका कवितामा राष्ट्रवादी भावना र स्वर अंकित छन् भने जीवनवादी आवाजहरू पनि उत्तिकै घन्किएका छन् । उनका हरेकजसो कवितामा आशावादले स्थान जमाएका छन् । उनी आशावादलाई यसरी प्रश्रय दिन्छन्, ‘यो जिन्दगीमा जति हार खाऊँ
गोडा नथाकून् अझ बढ्न पाऊँ
भए नि धेरै मुटुभित्र टाँका
आकाश मात्रै किन ताक्छ आँखा ।’
कृति ः भाडा नलाग्ने कोठा
विधा ः कविता
कवि ः बलराम दाहाल
प्रकाशक ः शिखा बुक्स
पृष्ठ ः १०४
मूल्य ः २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply