रचनात्मक धरालतको खोजी
युवा–स्रष्टा दिल पौडेलको लेखन यात्रा उपन्यास विधाबाट प्रारम्भ भयो । अढाई दशकअघि नेपाली साहित्यिक बजारमा फिक्सनको दबदबा नरहेको बेला उनले उपन्यासबाट आफ्नो लेखन थालनी गरे । तर, त्यसयता भने उनले अनेक विधाहरूमा कलम चलाउन रुचिकर ठाने । कहिले गजल लेखे, कहिले कविता लेखे र लेखे हाइकु र समालोचना पनि । अढाइ दशकको साहित्यिक यात्रामा यिनै विविध विधाका करिब आधा दर्जन कृति ल्याउन सफल पनि भए ।
तिनै स्रष्टा पौडेलका सम्पूर्ण कृतिहरूमाथि समालोचकीय दृष्टि राख्ने काम गरेका छन्, डा. हरिप्रसाद सिलवालले । ‘दिल पौडेलका साहित्यिक कृतिहरूको विश्लेषण’मा डा. सिलवालले पौडेलका पाँच थान कृतिमाथि दृष्टिकोण पेस गरेका छन् । यसरी एउटा स्रष्टाका सम्पूर्ण कृतिमाथि विश्लेषित र व्यवस्थित रूपले समालोचकीय दृष्टिकोण आएको हुँदा स्रष्टाको रचनात्मक धरालत पत्ता लगाउन सहज हुने देखिएको छ ।
युवावस्था मनभित्र अनेक अनुभूति र तरंगहरू उब्जिने समय हो । स्वच्छन्द तरिकाले विचरण गर्ने उमेर पनि हो, युवावस्था । प्रेम, रोमान्स, कल्पनाजस्ता यावत् पक्षहरू युवावस्थामा स्वभावतः तरंगिन्छन् । पौडेलले २०५० सालमा ‘अधुरो जिन्दगी’ लेख्दा उनीभित्र युवाकालीन स्वप्न, कल्पना र चेतना हाबी थिए । उक्त उपन्यासमा उनका युवाकालीन अनुभवहरू समेटिएका छन् । डा. सिलवालले भने उक्त उपन्यासलाई समाजशास्त्रीय आँखीझ्यालबाट नियाल्ने प्रयत्न गरेका छन्, सफलतापूर्वक एवं सावधानीपूर्ण तरिकाले शल्यक्रिया गरेका छन् । उनी लेख्छन्, ‘अधुरो जिन्दगी उपन्यास दिल पौडेलको सामाजिक अनुभव र अनुभूतिमा आधारित कृति हो । यस उपन्यासमा प्रेम र बिहेसम्बन्धी नेपाली समाजका विषमतामूलक परिवेशलाई अभिव्यक्त गरिएको छ । जीवन र जगत् मानव विचारले अगाडि बढाउने हो तर विचारहरूको टकराव भए समाजमा के–कस्ता विसंगतिहरू आइपर्न सक्छन् भन्ने पक्षलाई यस उपन्यासमा चित्रण गरिएको छ ।’
उपन्यासपछि पौडेलको लेखन–मोह कवितातिर सरेको पाइन्छ । ‘अधुरो जिन्दगी’ प्रकाशनको करिब १३ वर्षपछि उनले कविता–कृति ल्याए– ‘कात्रोमा मेरो देश’ । राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा व्याप्त विसंगत पक्षहरूलाई उधिन्ने क्रमबीच उनले कविताको माध्यम अपनाएको देखिन्छ । समालोचक डा. सिलवालले उक्त कविताकृतिमा प्रयुक्त ध्वनिको विश्लेषण गरेका छन् । विश्लेषणका क्रममा उनी लेख्छन्, ‘काक्रो शब्द असामान्यभित्रको सामान्य अर्थबोधक रहेको छ । मृत्युपछि लासलाई बेर्ने कपडालाई कात्रो भनिन्छ । कविले देश कात्रोमा भन्नुको ध्वन्यार्थले अर्थ बहुलता र देशको शान्ति हराएको सन्दर्भमाथि प्रहार गरेका छन् । आफ्नो देशको प्रशासन संयन्त्र, राजनीतिक संयन्त्र, सामाजिक संयन्त्र, सांस्कृतिक संयन्त्रजस्ता पक्षहरू भ्रष्टाचारविहीन हुनुपर्छ, नत्र देश कात्रोमा बेरिनेछ भन्ने वक्रोक्ति अभिव्यक्त गरेका छन् ।’
पौडेलले तेस्रो कृतिका रूपमा ल्याए, गजल–सँगालो । ‘दिल पौडेलका गजलहरू’ नेपाली साहित्य क्षेत्रमा गजल लेखनले उचाइ लिइरहेको बेला निस्किएको कृति हो । गजलको दिन फिरेका समय गजल नलेख्ने कोही थिएनन् । पौडेलले पनि त्यही समयावधिमा गजल लेखे र त्यसलाई सँगालोका रूपमा ल्याए पनि । समालोचक डा. सिलवालले पौडेलको गजलमा प्रयुक्त व्यंग्यभावलाई राम्ररी पहिल्याउने कार्य गरेका छन् । खासगरी राजनीतिक क्षेत्रमा व्याप्त विसंगत चरित्र, भ्रष्टाचारले थिल्थिलो तुल्याएको शासन सत्ता, समाजका जातीय र वर्गीय विभेद र राष्ट्रियताप्रति समर्पण भावजस्ता पक्षलाई केलाउने कार्य समालोचकले गरेका छन् ।
पौडेलको अर्को कृति हो– ‘प्रजातन्त्र’ । जुन उनको हाइकु लेखनलाई परिचित तुल्याउने कृतिका रूपमा उभिन पुगेको छ । हाइकु कृतिपछि पौडेलले ल्याए– ‘केही नेपाली साहित्यिक कृतिहरूको अध्ययन’ । योचाहिँ उनको समालोचना कृति हो, जसमा १० जना स्रष्टाका कृतिहरूमाथि उनको समालोचकीय दृष्टिकोण पेस भएको छ । समालोचक डा. सिलवालले पौडेलको समालोचकीय क्षमतालाई मापन गर्दै उनका समालोचकीय शिल्प सौन्दर्यको विश्लेषण गर्न समय खर्चिएका छन् । मूलतः यो कृतिले स्रष्टा पौडेलले तीन दशक लामो साहित्यिक यात्रामा छिचोलेका आरोह–अवरोहबारे नजिकबाट बुझ्न सघाउने छ ।
कृति ः दिल पौडेलका साहित्यिक कृतिहरूको विश्लेषण
विधा ः समालोचना
समालोचक ः डा. हरिप्रसाद सिलवाल
प्रकाशक ः सुमित्रा पौडेल
पृष्ठ ः १३०
मूल्य ः १५१।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply