उत्साहजनक आर्थिक सर्वेक्षण
डा. युवराज खतिवडा
१. चालू आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरू उत्साहजनक रहेका छन् । राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारणसमेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ ।
२. आर्थिक वर्ष २०७५÷७६ मा ७.० प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ ।
३. आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको छ । कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको छ । विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ । यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।
४. शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवं ऊर्जा तथा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी तथ्यांकहरूले सामाजिक एवं भौतिक पूर्वाधार विकासको सुदृढ आधारशिला तयार हुँदै गरेको संकेत गरेका छन् । आन्तरिक एवं बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवं कानुनी सुधारको परिणाम दिगो एवं उच्च आर्थिक वृद्धिको मार्गप्रशस्त हुँदै गएको छ । उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ । यसबाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको छ ।
५. उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्या १८.७ प्रतिशत झरेको अनुमान छ ।
६. आर्थिक वर्ष २०७५÷७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान छ । प्रतिव्यक्ति खर्चयोग्य आय १ लाख ५५ हजार रुपैयाँ पुगेको अनुमान छ ।
७. आर्थिक वर्ष २०७५÷७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब रुपैयाँ हुने अनुमान छ । कुल गार्हस्थ्य बचतको वृद्धिभन्दा कुल पुँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ ।
८. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
९. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रुपैयाँ रहेको छ । यो रकम आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी हो ।
१०. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी थप १ खर्ब ७ अर्ब रुपैयाँ वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।
११. २०७५ फागुनसम्ममा कुल सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । यसमध्ये ३ खर्ब ८३ अर्व ५९ करोड रुपैयाँ आन्तरिक ऋण र ५ खर्ब ९५ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ ।
१२. आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरू सबल रहेका छन ्। २०७५ फागुनसम्म ७ सय १३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ४ हजार ७ सय १ पुगेको छ । बिमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोबारमा विस्तार भएबाट आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म करिब १८.० प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको छ । धितोपत्र बजार सुधारोन्मुख छ ।
१३. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ८ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ ।
१४. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म शोधनान्तर स्थिति ५९ अर्ब रुपैयाँ घाटामा रहेको छ । यस अवधिमा चालू खाता १ खर्ब ९१ अर्ब रुपैयाँले घाटामा रहेको छ । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ ।
१५. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म २ सय १८ उद्योगहरूमा ११ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता भई थप ७ हजार ९ सय ५३ रोजगारी सिर्जना हुने अनुमान छ । स्वदेशी एवं विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताका साथ लगानी सम्मेलन सम्पन्न भएको छ ।
१६. आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कुल जनसंख्याको ७७.८ प्रतिशत जनसख्यामा विद्युत सुविधा पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कुल विद्युत् उत्पादन १ हजार १ सय ४२ मेगावाट रहेको छ भने कुल जनसंख्याको करिब १८.० प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा पुगेको छ ।
१७. आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म १४ हजार १ सय २ किलोमिटर कालोपत्रे, ७ हजार ८ सय ८१ किलोमिटर खण्डास्मित र ९ हजार ४ सय १० किलोमिटर कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमिटर रहेको छ । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन् ।
१८. राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये चालू आर्थिक वर्षभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ ।
१९. सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटक बाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको अंश ८२.८ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७.२ प्रतिशत रहेको छ ।
२०. भूकम्पपछि पुनर्निर्माणको काममा तीव्रता आएको छ । २०७५ फागुनसम्म करिब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ । २ सय ६२ सरकारी भवन, ४ हजार २ सय १ विद्यालय भवन, ६ सय ४३ स्वास्थ्य संस्था भवन, २ सय २१ पुराताŒिवक सम्पदा र १ सय २४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।
२१. संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संघअन्तर्गतका कर्मचारीलाई तीन तहमा समायोजन गरिएको छ । यसले संघीयता कार्यान्वयन र सार्वजनिक सेवाप्रवाहमा थप योगदान पुगेको छ ।
२२. समग्रमा यो आर्थिक सर्वेक्षणले अर्थतन्त्रका सबल र सुदृढ हुँदै गएका तथा दिगो विकास र स्थायित्वका लागि थप प्रयास गर्नुपर्ने क्षेत्रहरूलाई समेटेको छ । यो सर्वेक्षण सार्वजनिक, निजी, सहकारी एवं सामुदायिक क्षेत्रको नीति निर्माण, अनुसन्धान र विश्लेषणका लागि उपयोगी हुने विश्वास लिएको छु ।
(अर्थमन्त्री खतिवडाद्वारा संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षणको अंश)
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply