एउटा समाजसेवीको गाथा
एउटा प्रसिद्ध भनाइ छ, ‘इतिहासका निर्माता भनेका जनता हुन् तर जसको इतिहासमा कुनै नाम हुँदैन ।’ यसै कुरालाई अलि संशोधन गरेर बुझ्दा इतिहास त सबैको हुन्छ तर लेखिदिने र संयोजन गरिदिने मानिसहरू हुँदैनन् । सबैको इतिहास समान किसिमको हुँदैन, किनभने कसैको इतिहासको वृत्त ज्यादै फराकिलो देशव्यापी र विश्वव्यापी हुन्छ भने कसैको इतिहासको वृत्त अलि साँघुरो खालको र त्यसको प्रभावित पार्ने क्षेत्र पनि त्यस्तै खालको हुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत मेरा परम सहयोगी श्री रञ्जन घिमिरेका पिताश्री होमनाथ घिमिरेको व्यत्तिःत्व र कृतित्वमाथि प्रकाश पार्ने गरी तयार पारिएको यो स्मृतिग्रन्थ आफैंमा एउटा इतिहास पुस्तकका रूपमा संग्रहणीय र अनुकरणीय बन्न पुगेको छ । जसमा साधारण जनस्तरबाट माथि उठेर समाजको विकासका लागि आफ्नो जीवन समर्पण गरेका घिमिरे ‘बा’को समग्र जीवनचर्या, कुलकुटुम्ब उहाँ अग्रसर भएर निर्माण गरेका विद्यालय पार्टीपौवा पुलपुलेसा, स्वास्थ्य चौकीदेखि लिएर बाटोघाटो आदिको विषयमा संक्षिप्त रूपमा प्रकाश परेको छ । उहाँको कृतित्व यसैमा झल्किएको छ । नीतिशास्त्रमा एउटा भनाइ छ, ‘कीर्तिर्यस्य स जीवति’ अर्थात् जसले आफ्नो जीवनमा केही पछिसम्मका लागि स्मरणीय काम गरेको हुन्छ त्यो सधैंभरिका लागि जीवित रहेको हुन्छ । पिताको यही संस्कारका उत्तराधिकारी रञ्जन घिमिरे र उनका अन्य परिवारजन, कुलकुटुम्बका विद्वान् व्यक्तित्वहरूले होमनाथ बाका स्मृतिमा जुन प्रकारले आफ्ना भावधाराहरू अभिव्यक्त गरेका छन् ती सबै सहज दृष्टि र सत्यतामा आधारित छन् । यो स्मृति ग्रन्थलाई एकपटक स्पर्श गरिसकेपछि होमनाथ बालाई कहिले नदेखेको र नभोगेका मानिसले पनि उहाँसँग भेटघाट गरेजस्तो, केही संवाद स्थापित गरेजस्तो, उदारचित्तवृत्तिको र समाजका लागि केही न केही गर्नुपर्छ भनेर सधैंभरि क्रियाशील व्यक्तित्व हुनुहुँदो रहेछ भनेर बुझ्दछु र उहाँसँग मेरो सम्पर्क स्थापित भयो भनेर खुसी हुने परिस्थितिको निर्माण हुन्छ । आखिरमा कृतिहरूले गर्ने काम पनि यस्तै हुन्छन् ।
पत्रिका या संस्मरणात्मक ग्रन्थ प्रकाशित गर्नु मात्र पर्याप्त हुँदैन । त्यसको समग्र परिकल्पना अर्थात् ‘डिजाइन’देखि लिएर त्यसभित्रका विषयवस्तुको समायोजन र सम्पादन, त्यसमा आफ्ना अमूल्य संस्मरण दिनुहुने व्यक्तित्वहरूका भावहरूको सम्मान र यथोचित स्थानमा त्यसको विन्यास आदिमा रहेको कुशलताले मात्र प्रस्तुत संस्मरणात्मक ग्रन्थलाई गहकिलो, ओजस्वी तथा संग्रहणीय र अनुकरणीय बनाउन सक्छ । यसमा रञ्जन घिमिरेले ठुलो कुशलतापूर्वक यो संस्मरणात्मक ग्रन्थ निर्माणको कार्य सम्पादन गर्नुभएको छ । यसमा धेरै विद्वान् व्यक्तित्वहरूले आफ्नो कार्यकुशलता र बौद्धिक क्षमता प्रस्तुत गर्नुभएको देखिन्छ । घिमिरे परिवार स्वयं पनि सुशिक्षित र सुसंस्कार सम्पन्न भएका हुनाले नै यस्तो ऐतिहासिक ग्रन्थको निर्माण हुन सक्यो र त्यो पनि निकै परिशुद्ध र परिष्कारपूर्ण रूपमा ।
यस स्मृति ग्रन्थलाई अद्योपान्त हेर्दा त्यमसा एउटा सानोसानो संसार नै अटाएजस्तो लाग्छ । यस प्रकारको संस्मरणात्मक ग्रन्थ निर्माण गर्दा आफैंलाई पनि एउटा गौरवबोध हुँदो रहेछ । आजभन्दा १० वर्ष अघि २०६६ सालमा मैले पनि मेरा पिताश्री र माताश्री दुवैको जन्मशताब्दी वर्षका अवसरमा एउटा स्मृति ग्रन्थै त नभनौं स्मारिकासम्म भए पनि प्रकाशित गरेको थिएँ, त्यस अवसरदेखि लिएर अहिलेसम्म पनि आफ्ना मातापितालाई एउटा पुस्तकमा समेटेर सुरक्षित पारेपछि एउटा अपार आनन्दको अनुभूति गरेको छु । कहिलेकाहीँ त्यो स्मारिका पल्टाएर हेर्दा पिताश्री र माताश्रीसँगै भेट भएजस्तो संवाद स्थापित गरेजस्तै लाग्दो रहेछ । ठीक त्यस्तै ‘घिमिरे बा’का सन्ततिहरू रञ्जन घिमिरेलगायतका बन्धुबान्धवहरूले आफ्ना बितेर गएका पिताश्री एवं उनका पुर्खाहरूसँग काल्पनिक रूपमै भए पनि संवाद स्थापित गर्ने र भेटघाट गर्ने अवसर जुटाउँछन् । यस्ता संस्मरणात्मक ग्रन्थहरू र स्मारिकाहरूले गर्ने कामहरू पनि यस्तै खालका हुन्छन् र सम्भवतः त्यस परिवारलाई पनि सोही प्रकारको अनुभूति अवश्य पनि हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको दिल र दिमागमा पनि ‘घिमिरेबा’ले आफ्ना जीवनकर्महरूद्वारा अतुलनीय छाप छाड्नुभएको रहेछ भन्ने कुरा पनि प्रस्तुत ग्रन्थको अध्ययनबाट प्रस्ट हुन्छ । जसमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य तथा उपकुलपति डा. जगमान गुरुङ, डा. नवराज कट्टेल र भरतबाबु कट्टेलका जानकारीमूलक लेखहरूद्वारा ‘घिमिरेबा’को समग्र जीवन र कृतित्वको झलक प्राप्त हुन्छ । त्यसपछि जसले लेखनमा अलि असुविधाको अनुभव गर्नुहुन्छ उहाँहरूले केही कविता, केही अन्तर्वार्ताका माध्यमबाट ‘घिमिरेबा’प्रति संस्मरणका भावहरू व्यक्त गर्नुभएको छ भने ५६ जना विविध क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तित्वहरूले ‘घिमिरेबा’प्रति आफ्ना श्रद्धासुमनदेखि अनेकौं संस्मरणात्मक विषयवस्तुहरू प्रस्तुत गर्नुभएको छ । यसैक्रममा २५ जनाले उहाँले गरेका सुकर्महरूको स्मरण प्रस्तुत गर्नुभएको छ । घिमिरे परिवारका ११ जना सदस्यहरूले आफ्ना पारिवारिक संस्मरण र भावनाहरू प्रस्तुत गरेको देखिन्छ । समग्रमा १ सय २ जना महानुभावका संस्मरणात्मक लेख, विचार, अन्तर्वार्ताहरूबाट होमनाथ घिमिरे साँच्चै समाजसेवीका रूपमा सुप्रसिद्ध हुनुहुन्थ्यो भन्ने प्रमाणित हुन्छ । यति मात्र होइन, उहाँले गोरखाको दक्षिणी क्षेत्रमा गर्नुभएको योगदान अविस्मरणीय र अभिलिखित भएको छ । समाजको अन्धाकारलाई हटाउन विद्यालय स्थापना, यातायातको प्रबन्धका लागि बाटोघाटो निर्माण, खानेपानी, सिँचाइ आदिका क्षेत्रमा उहाँले गर्नुभएको तमाम सामाजिक कार्यलाई प्रस्तुत ग्रन्थले प्रमाणिक ढंगले लिपिबद्ध गर्न सहयोग पु¥याएको छ । यी विषयवस्तु समेट्न सक्नु नै प्रस्तुत ग्रन्थको उपलब्ध हो । सामाजिक रूपमा प्रगतिशील व्यक्तित्वका धनी ‘घिमिरेबा’को वार्षिकीका अवसरमा साँच्चै अजर र अमर हुनुुहुनेछ भन्दा अत्युक्ति हुनेछैन ।
त्यसभन्दाबाहेक यसमा प्रस्तुत गरिएका प्रमाणपत्रहरू श्रद्धाभावहरू र ‘घिमिरेबा’सँग सम्बन्धित चित्रावर्थीहरूले यस संस्मरणात्मक ग्रन्थलाई अझै आकर्षक र रोचक बनाएका छन् । यस संस्मरणात्मक ग्रन्थको अध्ययनपछि ‘घिमिरेबा’को जीवन अत्यन्त सफल जीवन रहेको प्रतीत हुन्छ । उहाँले आफ्नो जीवनमा असल प्रकारका कामहरू गरेर सानै वृत्तमा भए पनि एउटा इतिहास निर्माण गर्न सफल हुुनुभएको प्रतीत हुन्छ । तर जेहोस्, ‘घिमिरेबा’सँगै मेरो कहिल्यै साक्षात्कार हुन नपाए पनि यस संस्मरणात्मक ग्रन्थको अध्ययनपछि एउटा कुरा भन्नेपर्ने भयो, ‘घिमिरेबा ! तपाईंको जीवन सुकर्मको जीवन रहेछ, सदाचारको जीवन रहेछ र परोपकारको जीवन रहेछ ।’ मैले मात्र होइन यस ग्रन्थमा उल्लिखित समग्र साहित्यले बारम्बार यही कुरा भनिरहेका छन् । यसप्रकारको ग्रन्थ सम्पदा निर्माण गरेर ‘हामीभन्दा पहिले बितेर गएका पितापुर्खाहरूले गरेका सुकाम र सुकीर्तिहरूलाई बँचाइराख्नु हामी बाँचेकाहरूको परम् कर्तव्य हुन आउँछ ।’ यसमा रञ्जनलाई अपार सफलता प्राप्त भएको छ ।
कृति ः समाजसेवी होमनाथ घिमिरे
प्रकाशक ः रञ्जन घिमिरे
प्रधान सम्पादक ः डा. नवराज कट्टेल
कार्यकारी सम्पादक ः तेजविलास अधिकारी
मूल्य ः रु. ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply