वीरेन्द्रको प्रशस्ती
राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर ल्याएका छन् । दरबार हत्याकाण्डपछि त्यही विषयलाई केन्द्रमा राखेर थुप्रै पुस्तक प्रकाशन भए । हत्याकाण्ड कसले, किन गरायो भन्ने निचोड अहिलेसम्म कुनै पुस्तकले दिन सकेका छैनन् । अधिकांश पुस्तक अनुमानका आधारमा र दरबारनिकट व्यक्तिको हवाला दिएर लेखिएका छन्, जुन पुस्तकको उद्देश्य बजारमा जुन चीजको भाउ बढेको हुन्छ, त्यसमा मौका छोपेर कमाउनकै लागि केन्द्रित भएको देखिन्छ । आममानिसको कौतूहलता रहेको दरबारबारे केही न केही लेख्दा त्यो बजारमा बिक्ने उद्देश्यले कतिपय किताब लेखिएका छन् । तर, दरबारमै राजपरिवारको पाश्वर्तीका रूपमा काम गरेका र घटनाको साक्षीका रूपमा आएको यो पुस्तक भने पहिलो हो । यसअघि दरबार हत्याकाण्डाको केही वर्षपछि नै अर्का पाश्वर्ती विवेककुमार शाहले दरबार हत्याकाण्डसम्बन्धी पुस्तक बाहिर ल्याएका थिए । तर त्यो र रानाद्वारा लिखित यस पुस्तकबीच आनतानको फरक छ । घटनाको साक्षी रानाद्वारा लिखित यो पुस्तकमा पनि घटनाको दोषी को हो भन्ने यकिन गरिएको छैन । तर, घटनास्थल बिलियर्ड हलको प्रलयकारी र हृदयविदारक दृश्य, मेसिनगनबाट फायर भइरहेको अवस्थामा राजा वीरेन्द्रलाई ढोका फोरेर निकालेको क्षण, अस्पताल दौडाउँदाको अवस्था आदि घटनाक्रमलाई यसरी लिपिवद्ध गरेका छन् कि यो सब पढ्दा वास्ताविक घटनामा आधारित कुनै चलचित्र हेरे झै अनुभुति हुन्छ ।
पुस्तकको केन्द्रमा हत्याकाण्ड नै छ । तर, त्यो नै सबैथोक होइन । त्योभन्दा बढी अरू विषयले पाठकलाई तान्छ । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनलगायत राजपरिवारका सदस्यहरूको खानपिन, व्यवहार, बोलीचाली, रुचि आदि हरेक पाटालाई लेखकले सचित्र ढंगले प्रस्तुत गरेका छन् । यसरी चित्रण गर्ने क्रममा लेखकले युवराज दीपेन्द्रको आचरण र स्वभावलाई आधार देखाएर घुमाउरो ढंगले हत्याकाण्डको खलनायक उनै भएको संकेत गरेका छन् । दीपेन्द्रको विवाहलाई लिएर दरबारभित्र बढेको बेमेल, खासगरी रानी ऐश्वर्यका कारण विवाहका सन्दर्भमा कोरिएको जुद्ध र चन्द्र खलकको रेखा, दाजुको विवाह नहुँदै अधिराजकुमारको विवाहको प्रसंग चलाएर मानसिक रूपमा थोपरिएको तनाव आदि कारणले परिवर्तन भएको दिपेन्द्रको आचरणकै कारण त्यो कहालीलाग्दो प्रलयकारी घटना भएको संकेत बुझ्न कठिन छैन ।
त्यो त कहालीलाग्दो एउटा पक्ष भयो, पुस्तकका अरू धेरैजसो रोचक पक्षहरू पनि छन् । राजपरिवार सदस्यहरूबारे बाहिर नआएका धेरै रोचक घटना पुस्तकमा उल्लेख गरिएको छ । उपचारका लागि लन्डन जाने क्रममा दुबई ट्रान्जिटमा राजा वीरेन्द्रले एक नेपाली महिला (श्रुतिको स्कुल पढ्दाको साथी) सँग तश्बिर खिचाउँदा रानी ऐश्वर्य रिसाएको प्रसंग होस् वा चितवनमा गैडा सिकारका क्रममा राजपरिवारका सबै सदस्यले भागेको सास्ती नै किन नहोस्, ती पढ्दा अलिकति पनि पट्यारको अनुभति हुन पाउँदैन ।
लेखकले १९ वटा अलग शीर्षकमा दरबारमा विचरण गरेका छन् । त्रासदीका ती दिन शीर्षमा दरबार हत्याकाण्डको सोलोढोलो चित्र प्रस्तुत गरेका छन् भने नयाँ यात्रा शीर्षकमा दरबारमा आफ्नो जागिरे जीवनको सुरुआतको कथा उनेका छन् । त्यस्तै, शाही सिकार, मैले चिनेका महाराज, म पाइला बनी पछ्याइरहन्छु, हार्न नजान्ने राजकुमार, जब युवराजको हात पोल्यो, दीदीभाइ र दाइ, देश दृष्टि, तीन घुम्ती, संवैधानिक राजा, कोइराला, माओवादी र मदन भण्डारी, छिमेकीतिर बढेका कदम, एउटा बिहे जो हुन पाएन, बुद्धसामु चलेको बन्दुक, के त्यो षड्यन्त्र थियो, सरी सुन्दर र नारायणहिटी १६ वर्षपछि शीर्षकमा आफ्ना देखेका र भोगेक कुराहरू यहाँ उद्घाटित गरेका छन् ।
पुस्तकमा लेखकले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको समयप्रतिको बेपर्वाहलाई पनि उल्लेख गरेका छन् । राजासँग भेट्न ४५ मिनेट समय छुट्याएको छ भने उनले दुई घण्टा बिताइदिने गरेको प्रसंग छ । त्यस्तै मदन भण्डारीसँगको वीरेन्द्रको आत्मीय सम्बन्ध रहेको, मनमोहनलाई सम्मानित रूपमा व्यवहार गर्ने गरेको तर गिरिजाप्रसादसँग कहिल्यै प्रगाढ खालको सम्बन्ध नरहेको लेखकले उल्लेख गरेका छन् । जहाँ , जुन शीर्षका र घटनामा पुगे पनि लेखकले राजा वीरेन्द्रको स्तुतिलाई भने छाडेका छैनन् । अधिकांश शीर्षकका वीरेन्द्रको प्रशस्ती पाइन्छ । कहिल्यै नरिसाउने, विरोधीहरूलाई पनि सम्मानित व्यवहार गर्ने, सरल, मितव्ययी आदि–आदि । वीरेन्द्र यति सरल र मितव्ययी थिएँ कि उनीसँग छालाको दुई जोरभन्दा जुत्ता नै नभएको लेखकले उल्लेख गरेका छन् । त्यति मात्र होइन, रानीले जन्मदिन र दसैंमा दिने उपहारबाहेक राजाले कहिल्यै कपडा खरिद गर्ने नगरेको उनको दाबी छ ।
समग्रमा हत्याकाण्डबारे भन्दा पनि राजपरिवारका सदस्यहरूको अन्य आनीबानी, रहनसहन, रुचि, स्वभाव आदिबारे मसिनोसँग जान्न चाहनेहरूका लागि पुस्तक पठनीय र रोचक पनि छ । भाषा सरल छ । शैली मिठास छ ।
कृति ः दरबारको दुखान्त
लेखक ः सुन्दरप्रताप राना
प्रकाशक ः किताब पब्लिर्सस प्रालि
मूल्य ः रु. ६००
पृष्ठ ः ३०७
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply