जीवन संघर्षको कथा
जिन्दगीको यात्रा कहिल्यै एकनासले बग्दैन । कहिले भयंकर आँधी–हुरीको सामना गर्नुपर्छ, कहिले दुःख र सन्तापका अग्ला–अग्ला पहाडहरु छिचोल्नुपर्छ । तर, आँधी–हुरी छिचोलेर आफ्नो यात्रामा अडिग रहने आँट भने सीमित मानिसहरुमा मात्र पाइन्छन् । सबैमा समस्या, संकटलाई पार लगाउने धैर्यता र आँट नहुन पनि सक्छ । शिक्षाकर्मी जमुना खत्री एउटी त्यस्ता पात्र हुन्, उनको जीवन–कथा निकै मार्मिक त छ नै, जीवनका गोरेटामा तेर्सिएका अनगिन्ति संकटहरुलाई छिचोल्ने साहस उनमा प्रचुर रह्यो । उनलाई संघर्षको मैदानमा सदैव डटिरहने त्यो साहस, हिम्मत र आँट भने अरु केहीले दिएको होइन, मात्र आफूले अँगालेको राजनीतिक विचार र आस्थाले दिएको हो । आफ्नो जीवनकथा ‘बदलिएको मोड’ मा उनले जीवन भोगाइका पत्रपत्रहरु उप्काउन चाहेका छन् ।
काठमाडौंको नेवार परिवारमा जन्मिएकी उनी सानैदेखि वामपन्थी विचारप्रति आकर्षित भइन् । विद्यालय र कलेज तहमा अध्ययन गर्न थालेपछि सहपाठीहरु अष्टलक्ष्मी शाक्य, सुलोचना मानन्धरहरुसँग सहकार्य गर्दै अघि बढिन् । कलेज जीवन सिध्याएपछि शिक्षण पेशामा आबद्ध हुन पुगेकी उनले काठमाडौंको उत्तरी भेग टोखामा रहेर शिक्षण र राजनीति दुवैलाई एकैसाथ बढाइन् । टोखामा रहँदा उनले स्थानीयबासीहरुबीच शैक्षिक र राजनीतिक दुवै चेतना विस्तार गर्न सक्रियता देखाइन् । परम्परागत रुपमा जकडिएको नेवार बस्तीमा सामाजिक, सांस्कृतिक रुपले परिवर्तन ल्याउन पनि उनले भूमिका खेलिन् र तत्कालीन नेकपा (माले) मा आबद्ध भएर भूमिगत रुपमा राजनीति पनि गरिन् ।
शिक्षण पेशा र वामपन्थी राजनीतिलाई गति दिइरहेकै बेला शिक्षण पेशामा आबद्ध नरबहादुर खत्रीसँग उनको अन्तरजातीय विवाह भयो । विवाहपछि काठमाडौंको १ नम्बर क्षेत्रअन्तर्गत शान्तिनगरमा स्थायी रुपमा बसोवास गर्न थालेकी उनले शिक्षण पेशालाई निरन्तरता दिँदै वामपन्थी राजनीतिलाई पनि अघि बढाइन् । २०४८ सालको आमनिर्वाचनमा सो क्षेत्रबाट चुनाव उठेका जननेता मदन भण्डारी, भण्डारीको दासढुंगामा रहस्यमय तरिकाले हत्या भएपछि सोही क्षेत्रबाट उठेकी भण्डारी–पत्नी विद्या भण्डारी र २०५६ को निर्वाचनमा सो क्षेत्रबाट उठेका मनमोहन अधिकारीलाई विजयी तुल्याउन उनी र उनका पति खत्रीको उल्लेख्य योगदान रह्यो । उनले आफ्नो जीवनकथामा काठमाडौं– १ मा आफूले निर्वाचनताका निर्वाह गरेको भूमिकाबारे एकएक गरी कोट्याएकी छन् ।
तर, २०५८ सालमा भने उनको जीवनमा ठूलो बज्रपात प¥यो । एसएलसी दिँदै गरेका एक मात्र छोरा सान्त्वनाको करेन्ट लागेर मृत्यु भयो । छोराको दुःखद् निधनपछि विक्षिप्त बनेका खत्री–दम्पत्ति केही समय विक्षिप्तावस्थामा नै गुजारे । छोराको स्मृतिलाई चीरस्थायी राख्न उनीहरुले विद्यालय खोले, पुस्तकालय स्थापना गरे । तर, सन्तानको अभाव खट्किँदै गएपछि एकदिन उनले पतिसामु दोस्रो विवाहको लागि प्रस्ताव राखिन् र पतिलाई दोस्रो विवाहका लागि तत्पर तुल्याइन् । आफूमाथि ‘सौता’ हाल्न उनीस्वयं राजी भइन् । यसरी विवाह भएपछि तीन वटी छोरी जन्मिइन् पनि । तर, उनीमाथि बज्रपात पर्न छाडेन । २०७२ सालमा पतिलाई पनि सदाका निम्ति गुमाउन पुगिन् ।
एक मात्र छोरा र पतिको निधन भए पनि उनले शैक्षिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा आफूलाई क्रियाशील तुल्याउन भने छाडिनन् । शैक्षिक संस्थाहरुमा आबद्ध रहेर आफूलाई आजपर्यन्त क्रियाशील तुल्याइरहेकी छन् । मूलतः खत्रीको जीवनकथाले जीवनमा दुःख, कष्ट, संकटहरु आइपर्छन् तर त्यसलाई छिचोलेर अघि बढ्नुपर्छ, शोक र संकटलाई धैर्यता र शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । जीवनमा संकटहरु आइपरे पनि कहिल्यै थाक्नु हुँदैन, निरन्तर यात्रालाई अघि बढाइरहनुपर्छ भन्ने उत्प्रेरणा अरु मानिसहरुलाई समेत बाँड्न यो पुस्तक सक्षम देखिएको छ ।
कृति ः बदलिएको मोड
विधा ः आत्मकथा
लेखिका ः जमुना खत्री
प्रकाशक ः घोस्ट राइटिङ नेपाल
पृष्ठ ः १९२
मूल्य ः ३५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply