पे्रमिल उपन्यासमा अस्ट्रेलिया पुग्नुका दुःख
‘जिन्दगीको यात्रा अनौठो हुँदोरहेछ । केटाहरू भनेपछि आगो हुने मान्छे म, प्रणवलाई भेटेपछि पानीपानी भएँ । प्रणव किनकिन आफ्नो लाग्न थालेका छन् ।’ एक प्रेमिका (सानिया) ले प्र्रेमी (प्रणव) लाई समर्पण भाव दर्साउनु स्वाभाविक हो तर सविन प्रियासनको उपन्यास ‘ब्रेकअप डायरी’मा युवायुवतीको प्रेमका विषय मात्रै छैनन् । समाजप्रेम र समाजवियोगका दुर्दान्त स्वभाविकताहरू पनि समाविष्ट छन् ।
यसरी युवावयमा प्रेमको टुसा पलाएर हुर्कन नपाउनुमा अरूको दोष छैन । उपन्यासका प्रेमिल पात्रहरू पनि निर्दाेष छन् तर उनीहरूले ‘चालीस कटेसी रमाउँला’ भन्ने प्रकारको गीत पनि गुन्जाउन पाएनन् या सकेनन् । उपन्यासको दुःखन्त बिन्दुले यही भन्छ कि प्रेमको परिभाषा नबुझ्दै प्रेममा जोडिएका जोडीका लागि पश्चात्तापको बिन्दूमा पुग्दा पनि दुःखको सागर हुँदोरहेछ । परिबन्धको कैद आफंैले निम्त्याएर आफंैलाई पीडित बनाएर बस्दा रहेछन् युवाहरू ।
‘ब्रेकअप डायरी’ दङाली युवा साहित्यकार एवं पत्रकार प्रियासनको आठौं उपन्यास मात्र होइन, सुखदुःखमा जीवन तन्काइरहेका युवायुवतीको रगत र पसिनाको प्रवाह पनि हो । उनीहरूका आँसु, हाँसो र त्यससँग मिसिएर आउने अव्यक्त बाध्यताहरू उपन्यासको मौलिक विशेषता हो ।
यसअघि प्रियासनका ‘लक्कीचार्म’, ‘सेल्फी’, ‘सहनशीला’, ‘पल्लवी’, ‘पुनरागमन’, ‘भुमरी’, ‘रोदनपछिको¬’ आदि प्रकाशित उपन्यासले उनको लेखनशैलीलाई परिचय दिइसकेका थिए । समसामयिकता, सामाजिक यथार्थ र युवाहरूको भावनालाई विचार र परिघटनाको छालमा उडाउन लेखक प्रियासन खप्पिस छन् । सामान्य कथावस्तुबाट पाठकलाई गहन सन्देश दिई सोचनीय बनाउने खुबी उपन्यासकारमा छ । पढाइ वा रोजगारका नाममा बिदेसिएर अर्काको देशका दुःख गर्न पुग्नु, ठगिनु वा स्वदेशमा भएको सम्पत्ति सक्नुभन्दा आफ्नै बारीमा कुटोकोदालो गर्दै शिक्षा र रोजगारको गाडी गुडाउनु कैयौं गुणा सकारात्मक हुने उपन्यासको सन्देश हो ।
‘ब्रेकअप डायरी’ उपन्यासले प्रेमको परिभाषालाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ । प्रेममा बिछोड र धोका हुन्छ तर बिछोडपछि पनि विश्वाससहितको नवीन सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यदि मनको कुनाबाट प्रेम गरिएको हो भने देशविदेश जहाँ पुगे पनि प्रेमको कम्पनले उनीहरूमा सम्बन्धको प्रवाह गरिरहेको हुन्छ । उनीहरूबीच एकले अर्काेलाई माया र सम्मान देखाउन गरिने झूटपूर्ण व्यवहार पनि प्रेमका लागि स्वीकृत हुने रहेछन् ।
सामान्यतः माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) उत्तीर्णपछि नेपाली युवाहरू गाउँबाट सहर र सहरबाट विदेश हाँकिन खोज्छन् । पढाइ र रोजगारीको खोजी तथा नेपालमा बसेर केही हुँदैन भन्ने एकपन्थी मनोदशाबाट ग्रस्त भएर विदेश भासिने युवाहरूमा विदेश जाँदा जुन आशा र उत्साह हुन्छ, विदेश गएपछि त्यस्तै उत्साह रहिनरहन सक्छ ।
उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने विद्यार्थीले त्यहाँ गएर कस्ता दुःख पाउँछ र स्वदेशमा उसका हितैषीहरूले त्यो पीडा कसरी गुजारिहेका हुन्छन् ? अनि उनलाई अस्ट्रेलिया पढाउन खर्च र अन्य सामग्रीको जोहो गर्ने परिवार र नजिकको साथीहरूलाई कति भार परिरहेका हुन्छ ? यस्ता प्रश्नबारे उपन्यासले पाठकलाई घोत्लन दबाब सिर्जना गर्छ । ‘प्रेम वियोगमा पर्दा जिन्दगी जिउन साह्रै गाह्रो हुँदो रहेछ । खाना नखाए पनि पेट भरिने, नसुते पनि निद्रा पुग्ने, कुनै ठाउँमा मन स्थिर नहुने, जिन्दगी नै सस्तो लाग्ने, मृत्युको भयबाट मुक्त भइने । ‘मनलाई जति कठोर बनाए पनि निष्ठुरीको याद बारम्बार मुटुलाई छिया–छिया बनाउन आइपुग्छ । काँडा बनेर घोचिरहन्छ । उसको याद वास्तवमै भन्ने हो भने छायाजस्तै बनेर म जहाँ गए पनि पछ्याउन छाडेको छैन । आखिर के छ उसको यादमा त्यस्तो अलौकिक शक्ति ?’ उपन्यासमा अभिव्यक्त यस्ता भावहरूले प्रेमको पवित्रतालाई उजगार गर्छ भने साथसाथै प्रेम वियोगले मानिसलाई चिन्तामा जलाउन कत्ति पनि बेर लगाउँदै भन्ने देखाउँछ ।
उपन्यासको मुख्य पात्र प्रणवले प्रेमिका सानियालाई अस्ट्रेलिया पठाउन के मात्र गरेन ? उसले सानियालाई अस्ट्रेलिया पठाउन २० लाख रुपैयाँ खर्चको थियो । आफ्नो व्यापार व्यवसाय नै बेचेको थियो । त्यो केवल सानियाका लागि थियो । उसलाई भने सुइँको दिइएको थिएन । प्रणवले त्यो कुरा सानिया स्वदेश फर्कँदासम्म पनि लुकाएर राखेको थियो । प्रणवले त्यो सूचना मात्रै लुकाएको थिएन, सानियाका लागि पीडा लुकाएको थियो । आफू जलेर अरूलाई बाल्ने मैनबत्ती बनिरहेको थियो । तर, एक दिन त्यो कुरा खुल्न पुगिहाल्छ । खुल्यो पनि । त्यसबेला सानियामा उत्तपन्न भएको पश्चात्तापको ठन्डीले प्रणवको मन ओसिलो बनेको थियो ।
उपन्यासको अर्काे फरक पक्ष, प्रणव र सानियाबीच त्यत्ति घनिष्ठ सम्बन्ध भए पनि उनीहरूबीच क्षणिक यौनानन्द नभई जीवनका उकाली–ओरालीबारे बढी गफगाफ हुन्थ्यो । अविवाहित उनीहरूको सम्बन्धलाई गाढा बनाउने कडी पनि यही थियो, जसले समाज, परिवार र व्यक्ति–व्यक्तिबीचको सम्बन्ध, प्रेम र सहअस्तित्वलाई कसरी आपसमा आत्मसात् गर्ने भन्ने स्पष्ट रूपमा सिकाएको छ ।
उपन्यासले केवल दुईजनाको प्रेम र संवादका विषयलाई मात्रै बढी प्रश्रय नदिई सामाजिक पक्षका अन्य सन्दर्भमा पनि उत्तिकै महŒव दिन सकेको भए यसको महत्ता अझ बढ्ने थियो भन्नेमा सुझाव दिन सकिन्छ । साथै, उपन्यासको कभरलाई कुनै फिल्मी पत्रिकाको कलेवर (बिकाउ) बनाइनुभन्दा गम्भीर र कलात्मक अर्थमा प्रस्तुत गर्न सकिएको भए सविनको शालीनतासँग मेल खान सक्ने थियो । उपन्यास लेखन र पत्रकारिता जगत्मा सविनको आगामी सुदूर यात्रालाई यस उपन्यासले थप प्रेरित गर्नेमा भने ढुक्क हुन सकिन्छ ।
पुस्तक ः ब्रेकअप डायरी
लेखक ः सविन प्रियासन
विधा ः उपन्यास
प्रकाशक ः बिएन पुस्तक संसार, काठमाडौं
मूल्य ः रु. २७५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply