दरबारको इतिवृत्तान्त
विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास र विस्तारको कारण अचेल फोटोग्राफी हरेकजसो मानिसको पहुँचभित्र आबद्ध छ । मोबाइलको बढ्दो प्रयोगसँगै मोबाइलबाटै तस्बिर खिच्ने कार्यमा पछिल्लो समय तीव्रता आएको छ र स्टुडियोमा गएर फोटो खिच्ने कार्य पातलिँदै गएको छ ।
फोटो–प्रविधिमा आएको दु्रततर परिवर्तनका साथै नेपाली फोटोग्राफीको विकासक्रमलाई नजिकैबाट नियाल्ने व्यक्तित्वहरू हामीकहाँ सीमित छन् । तिनै व्यक्तित्वमध्ये एक हुन्– मंगलमोहन श्रेष्ठ । जीवनको ६ दशक फोटोग्राफीमै समर्पण गरिसकेका श्रेष्ठको आत्मकथा ‘मेरो जीवनचित्र’ले नेपाली फोटोग्राफी क्षेत्रले भोगेको आरोह–अवरोहलाई सटीक ढंगले उतारेको छ । आजपर्यन्त फोटोग्राफी पेसामा नै आबद्ध श्रेष्ठका जीवनानुभवहरू वर्तमान पुस्ताका निम्ति पठनीय लाग्छन् र भावी पुस्ताहरूका निम्ति त झनै रोचक ।
वरिष्ठ छविकार श्रेष्ठको चार पुस्ता फोटोग्राफी पेसामा नै रमाए । असनमा उनका हजुरबुवा भरत बिजुक्छेले फोटोग्राफीको सुरुवात गर्दा प्लेट सिस्टमको चलन थियो । एउटा फोटो तयार पार्न नै २–३ दिनको समय छुट्याउनुपथ्र्यो । प्लेट सिस्टमको ठाउँ रोल सिस्टमले लियो र त्यसपछि आयो– डिजिटल प्रविधि । विश्व र नेपाली फोटोग्राफी क्षेत्रमा आएका एक–एक प्रविधिगत परिवर्तनलाई उनले अहिलेसम्म पछ्याउँदै आएका छन् । प्लेट सिस्टमदेखि अहिलेको चिपको जमानासम्मका साक्षी बनेका छन्, उनी । उनले आत्मकथामा आफूले फोटोग्राफी क्षेत्रमा गरेका संघर्षका पाटाहरूलाई खोतल्नुका साथै नेपाली फोटोग्राफी क्षेत्रले छिचोल्दै आएका चरणहरूबारे मिहिन रूपले उल्लेख गरेका छन् ।
चौध वर्षको उमेरदेखि नै फोटोग्राफीमा व्यावसायिक कदम चालेका श्रेष्ठले तत्कालीन प्रचार विभागमा कार्यरत रहन थालेपछि राजदरबारमा हुने सभा, समारोहका फोटो खिच्ने जिम्मेवारी पाए । त्यही क्रममा उनी राजा महेन्द्रको ‘प्रिय फोटोग्राफर’का रूपमा चिनिन थाले । राजा महेन्द्रको जहाँ–जहाँ भ्रमण हुन्थ्यो, उनी फोटो खिच्न पुग्नैपथ्र्यो । राजा महेन्द्र रारा ताल जाँदा उनी पनि गए र रारा तालको समीपमा कविता लेख्न व्यस्त राजाको तस्बिर खिचे । बेलायतकी महारानी, भारतका प्रधानमन्त्रीहरूलगायत अरू देशका राष्ट्र–प्रमुखहरू आउँदा पनि उनीहरूलाई उनले आफ्नो क्यामरामा कैद गरे । पछि राजा वीरेन्द्रसँग त चौध अञ्चल नै घुमे र फोटो खिचे उनले । जिम्मेवारी निर्वाह गर्ने क्रममा उनले पञ्चायतकालका प्रायः सबैजसो प्रधानमन्त्रीसँग विदेश भ्रमण पनि गरे र बहुदल स्थापनापछिका दुई प्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग पनि विदेश भ्रमणमा गए । तर, उनले २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाले सर्वसाधारणसँग मतदान गर्न लहरमा उभिएको फोटो खिच्ने अवसर पनि पाएका थिए ।
पुस्तकमा उनले राजा महेन्द्र, राजा वीरेन्द्रलगायत राजपरिवारका सदस्यहरूसँग निकट रहँदाका रमाइला प्रसंगहरूलाई सतहमा ल्याएका छन् । रारा भ्रमणमा जाँदा राजा महेन्द्रसँग हिउँ खेलेका, घोडा दिएकाजस्ता प्रसंगले मीठास उत्पन्न गराउँछ भने राजा वीरेन्द्रको धनकुटामा भ्रमण हुँदा फागु पूर्णिमाको दिन बँदेलको मासुमा भाङ राख्दा सबैजना नशाले चूर भएका प्रसंग पनि पठनीय छन् । यस बाहेक उनले आफ्नो निजी जीवनका प्रसंगहरूलाई पनि उल्लेख गरेका छन् ।
मूलतः उनको आत्मकथाले तत्कालीन समयमा राजाहरू र राजपरिवारका सदस्यहरूको आनीबानी बुझ्न सघाउ पु¥याउने त छँदै छ, राजा र जनताबीचको सामीप्य र दूरी कस्तो थियो भन्ने पनि थाहा पाउन सकिनेछ । साथै, उनको आत्मकथाले नेपाली फोटोग्राफी क्षेत्रमा आएको परिवर्तनबारे बुझ्न नसघाउने कुरै भएन ।
कृति ः मेरो जीवनचित्र
विधा ः आत्मकथा
लेखक ः मंगलमोहन श्रेष्ठ
प्रकाशक ः मैयाँ श्रेष्ठ
पृष्ठ ः २१८
मूल्य ः ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply